हारपश्चात् बाङ्ग्लादेशी खेलाडीले विराट कोहलीमाथि लगाए गम्भीर आरोप

Published

अस्ट्रलियामा जारी टि ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताको एउटा अति नै रोमाञ्चक खेलमा बुधवार भारतले बाङ्ग्लादेशलाई हराएको थियो।

तर खेल लगत्तै बाङ्ग्लादेशी खेलाडीले भारतीय कप्तान विराट कोहलीले ‘फेक फिल्डिङ्’ वा नक्कली फिल्डिङ् गरेको आरोप लगाएका छन्।

के भएको थियो?

यसअघि पाकिस्तानसँगको खेल भारतले अन्तिम ओभरको अन्तिम बलमा जितेको थियो।

बुधवार बाङ्ग्लादेशसँगको खेल वर्षाका कारण केही बेर अवरुद्ध भएकाले छोट्ट्याइयो।

सुरुमा ब्याटिङ् गरेको भारतले कुल १८४ रन बनायो।

जबाफमा बाङ्ग्लादेशले आक्रामक ब्याटिङ् गर्‍यो। लिटन दासले भारतीय बलरहरूको बलमा एकपछि अर्को चौकाछक्का हाने।

तर वर्षा भयो अनि भारत खेलमा फर्कियो।

वर्षाले गर्दा खेल १६ ओभरमा समेटियो र बाङ्ग्लादेशलाई नयाँ लक्ष्य १५१ रनको दिइयो।

तर निर्धारित ओभरभित्र उसले केवल १४५ रन बनायो र ५ रनले खेल हार्‍यो।

निकै राम्रो खेल प्रदर्शन गर्दै आएका विराट कोहलीले ४४ बलमा ६४ रन बनाएका थिए।

तर खेलपश्चात् बाङ्ग्लादेशले उनीमाथि गम्भीर आरोप लगाएको छ।

के छ आरोप?

हुन त लिटन दासको गतिमान ब्याटिङ्ले बाङ्ग्लादेशलाई जिततर्फ डोर्‍याइसकेको थियो।

तर उनी आउट भएपछि उक्त जिम्मा विकेटकिपर नुरुल हसन ‘सोहान’को काँधमा आइपर्‍यो।

नुरुलले बनाएको २५ रन थोरै लाग्ला तर उनले हानेको दुई चौका र एक छक्काले भारतीय दर्शकहरूको मुटुको धड्कन निकै तेज बनाइदिएको थियो।

तर खेलपश्चात् पत्रकारहरूसँग कुरा गर्दै नुरुल हसनले भने, “हामी सबैले देखेका छौँ कि पानी परेपछि मैदान गीलो भएको थियो। साथै म्याचमा एउटा नक्कली थ्रो पनि हानिएको थियो। जसको सजायस्वरूप हामीलाई ५ रन दिनुपर्थ्यो। त्यसो भएको भए हामीलाई फाइदा हुन थियो।”

क्रिकेटमा अनफेअर प्ले को नियम ४१.५ ले ब्याट्सम्यानको ध्यान जानाजान भड्काउन, उनलाई धोका दिन वा वाधा पार्न रोक्छ।

यदि अम्पायरलाई त्यस्तो गरेको लागेमा ब्याटिङ् पक्षलाई ५ रन दिलाउन सक्छन्।

तर बुधवारको खेलमा अम्पायरले त्यसो गरेनन्।

त्यतिबेला बाङ्ग्लादेशी ओपनर दासले २४ बलमा ५६ रन बनाएर खेल्दै थिए।

सातौँ ओभरमा जब अक्षर पटेलले दोस्रो बल फ्याँके दासले त्यसलाई स्वीपर बाउन्ड्रीतर्फ हिर्काए।

पहिलो रन सजिलै लिएपछि बाङ्ग्लादेशी खेलाडी दोस्रो रन लिन दौडिए।

त्यहीबेला करिब ३० गजको घेरामा उभिइरहेका विराट कोहलीले  नन स्ट्राइकर रहेको तर्फ बल फ्याँकेको अभिनय गरे।

जबकी खासमा फिल्डिङमा रहेका अर्शदीप सिंहले विकेटकिपर तर्फ बल फ्याँकेका थिए जुन कोहलीको दायाँ पट्टिबाट विकेटकिपर दिनेश कार्तिकको पञ्जामा पुगेको थियो।

बाङ्ग्लादेशले दुई रन पूरा गरेको थियो।

नियमअनुसार ब्याटिङमा रहेकाको ध्यान अन्यत्र मोड्न खोज्नु गलत हो। तर के कोहलीले साँच्चिकै ब्याट्सम्यानको ध्यान भङ्ग गर्ने कोशिश गरेका थिए त?

दोस्रो रन लिने बेला बाङ्ग्लादेशका ब्याट्सम्यान भ्रमित भएको देखिएको थिएन।