तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ओलीले गरे चीन भ्रमणको मिति घोषणा, रवि लामिछाने र दुर्गा प्रसाईँबारे के भने
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकारी टोली आउँदो मङ्सिर १७ गते चीन जाने बताएका छन्।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले उक्त पार्टीको जागरणसभा नाम दिइएको कार्यक्रम सम्बोधन गर्ने क्रममा उक्त कुरा सार्वजनिक गरेका हुन्।
"सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुनेछ। कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु," उनले भने।
यही भ्रमणलाई जोडेर कतिपयले पहिला कुन छिमेकी देश जानुपर्ने वा सरकार अपरिपक्व भएको भन्ने टिप्पणी गरिरहेको उल्लेख गर्दै त्यस्तो कुरा "वाहियात" र "कायर" भएको उनले बताए।
उनले राष्ट्रिय हितलाई हेरेर छिमेक सम्बन्ध राखिने बताए।
“हामी सबै छिमेकीसँग पारस्परिक सम्मानका आधारमा सम्बन्ध राख्छौँ। हाम्रा कोही शत्रु छैनन्। सबै मित्र छन्,” उनले भने।
“हामी युद्ध होइन शान्तिको पक्षमा छौँ। मारामार होइन, मेलमिलापको पक्षमा छौँ। देशभित्र पनि मर्यादामा रहेर प्रतिस्पर्धा गर्ने एमालेको नीति छ।”
२०८३ असारसम्म आफू नै प्रधानमन्त्री रहने दाबी
प्रधानमन्त्री ओलीले अहिले "विरोधीहरूले षड्यन्त्र गरिरहेको" तर अहिलेकै समीकरण २०८४ सालको मङ्सिरसम्म कायम रहने दाबी गरे।
तर उनले "विरोधी" भनेर कसलाई भनेका हुन् र के षड्यन्त्र भइरहेको छ भन्ने खुलाएनन्।
"म २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु। अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउनुहुन्छ। यसमा कुनै भ्रम नराखे हुन्छ।’
उनले अहिले सरकार काङ्ग्रेस र एमालेले चलाएको र दुई पार्टी प्रतिस्पर्धी भए पनि देशलाई अप्ठ्यारोमा पार्न खोजेपछि एक ठाउँमा आउनुपरेको दाबी गरे।
रास्वपामाथि ओलीको प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा छानबिनका लागि पक्राउ परेदेखि नै उक्त दलले सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको आरोप लगाउँदै आएको छ।
त्यसलाई सङ्केत गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगी गरेर अरूलाई औँला ठड्याएको आरोप लगाउँदै सरकारले दोषीलाई उम्किन नदिने बताए।
"आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई गाली गर्ने? कुनै पनि भ्रष्टाचार, ठगी, मानव तस्करी सह्य हुनेछैन। कुनै पनि पक्षलाई सरकारले अपराधमा अनुहार नहेरी कारबाही गर्छ, "उनले भने।
“कोही पनि निर्दोष फस्दैन। कोही पनि दोषीलाई उम्किन दिइने छैन, मैले बारम्बार भन्ने गरेको छु।”
पार्टी सभापति लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि भन्दै पक्राउ परेदेखि नै रास्वपाले काठमान्डू र पोखरालगायतका ठाउँमा विरोध गर्दै आएको छ।
उक्त पार्टीले एमालेले सहकारीमा नाम जोडिएका आफ्ना नेतालाई भने पक्राउ नगरेको तर विपक्षीलाई राजनीतिक प्रतिशोध राखेको आरोप लगाउँदै आएको छ।
दुर्गा प्रसाईँबारे चर्चा
प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुअघि उक्त कार्यक्रमलाई एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गरेका थिए।
उनले एमाले सरकारमाथि अहिले विभिन्न आरोप लागिरहेको र भ्रम फैलाउने काम भएको भन्दै त्यसको खण्डन गरे।
पहिला नेकपा एमालेमै रहेका दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध यसै साताको सुरुमा क्याम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलरको लगानी भएको भनेर लगाएको आरोपबारे पनि महासचिव पोखरेलले खण्डन गरे।
“एउटा देशको टेलिकम कम्पनीमा कसको लगानी छ भन्ने कुरा अपारदर्शी हु नसक्छ? तर अझ नेपाली समाजभित्र केही यस्ता व्यक्ति छन् जसले जे कुरा पनि षड्यन्त्रको ढाँचाबाट प्रस्तुत गर्ने गर्दछन्,” महासचिव पोखरेलले भने।
उनले दुर्गा प्रसाईँले पत्रकार सम्मेलन गरेर र सामाजिक सञ्जालहरूमा राखेका पोस्टहरूलाई सङ्केत गर्दै त्यस्तो अभिव्यक्ति दिएका हुन्।
प्रसाईँले उक्त विषय सार्वजनिक गरेलगत्तै प्रहरीले यसै साता उनलाई पक्राउ गरेर साइबर अपराधलगायतका कसुरमा अनुसन्धानका लागि हिरासतमा राखेको छ।
उनकै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो असन्तुष्टि व्यक्त गरे।
"तपाईँहरू एमालेप्रति औँला उठाउँदै हुनुहुन्छ, साँच्चै तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ?," उक्त विषयमा बोल्दै प्रधानमन्त्री ओलीले भने।
"तपाईँहरूले भन्दिए त भयो नि, क्याम्बोडियामा ३२ हजार करोड, स्वीस बैङ्कमा २१ हजार करोड। तपाईँहरू हेर्न जान सक्नुहुन्न। भन्दिए भयो," उनले भने।
"अमेरिकाका बैङ्कको आधा सम्पत्ति मेरै हो भन्दिनुस् न। फाल्तु कुरा गर्नुको अर्थ छैन।"
'सरकारको होइन, एमालेको कार्यक्रम हो'
सरकारमै भएको पार्टीले शक्ति प्रदर्शन गरेको भनेर कतिपयले आलोचना गरिरहेका बेला महासचिव पोखरेलले यो कार्यक्रम सरकारले नभई एमाले पार्टीले गरेको बताए।
उनले देशको विकास र सम्वृद्धिमा एमालेको भूमिका धेरै भए पनि जस भने नपाउने गरेको दाबी गरे।
ओलीको नेतृत्वको सरकारमा नेपालको नयाँ नक्सा जारी हुनेदेखि, भारतले गरेको नाकाबन्दीको विरोध गर्ने, नेपाल-भारतका बीचमा नसुल्झिएका थुप्रै विषय सुल्झिएको र जलविद्युतमा ठूलो उपलब्धि भएकोलगायत थुप्रै सकारात्मक काम भएको उनले दाबी गरे।
पुराना पार्टीको विकल्पका रूपमा आएका भनेकाहरूले निराशा छर्ने काम गरेको पनि उनले दाबी गरे।
उनको सङ्केत राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ रहेको देखिन्थ्यो।
"आफूमाथि अभियोग लागेपछि एमालेविरुद्ध नकारात्मक विचारहरू प्रवाह भइरहेका छन्। त्यसका लागि एमालेले आशा जगाउने चीज सम्प्रेषण गर्नुपर्नेछ," महासचिव पोखरेलले भने।
उनले भारतसँग सहमति गरेर नेपालको बिजुली बाङ्ग्लादेशमा बिक्री सुरु पनि ओली नेतृत्वकै सरकारमा भएको उल्लेख गरे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।