तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुई कोरियाले बलूनमा हालेर एकअर्काको भूमिमा के पठाउँछन्
- Author, ह्योजङ किम
- Role, बीबीसी न्यूज कोरियन
- Published
उत्तर कोरियाले फोहोर भरेर सयौँ बलून दक्षिण कोरियातिर पठाएको छ। यो घटनाले दुई देशबीच ६० वर्षभन्दा लामो समयदेखि चलेको 'प्रोपगन्डा युद्ध' सम्झाएको छ।
फोहोर भएका प्लास्टिकका झोला बाँधिएका कम्तीमा २६० वटा बलून दक्षिण कोरियामा मङ्गलवार राति फेला परेका थिए। त्यसपछि दक्षिण कोरियाली अधिकारीहरूले त्यस्ता बलून भेटिएका क्षेत्रमा मानिसहरूलाई सकेसम्म घरबाहिर ननिस्किन निर्देशन दिएका थिए।
दक्षिण कोरियाली सङ्घसंस्थाहरूले उत्तर कोरियाविरुद्ध पर्चा वितरण गरेको भन्दै केही दिनअघि प्योङ्याङले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको थियो।
कोरियाली युद्धका २.८ अर्ब पर्चा
कोरियाली भाषामा “पिरा” भनिने पर्चा सन् १९५० को दशकमा चलेको कोरियाली युद्धताका उत्तर र दक्षिण कोरियाबीच बलूनबाट छरिएको थियो।
कोरियाली प्रायःद्वीपमा द्वन्द्व सुरु हुनासाथ संयुक्त राष्ट्रसङ्घको सुरक्षाफौजले मनोवैज्ञानिक युद्धको साधनका रूपमा त्यसरी पर्चा वितरण गर्ने अभ्यास सुरु गरेको थियो।
त्यसपछि राष्ट्रसङ्घीय सैनिकलाई लक्ष्य गर्दै उत्तर कोरियाले पनि पर्चा छरेको थियो।
सन् १९५३ जुलाई २७ मा लडाइँ रोक्ने गर्ने सहमति नहुँदासम्म दुई पक्षले कुल दुई अर्ब ८० करोडवटा पर्चा छरेका थिए।
तीमध्ये दुई अर्ब ५० करोड पर्चा दक्षिण कोरियाले छरेको थियो भने उत्तर कोरिया र सोभियत सङ्घले ३० करोड पर्चा छरेका थिए।
त्यो परिमाणको पर्चा एकैचोटि बिछ्याउने हो भने कोरियाली प्रायःद्वीपलाई २० पटक ढाक्न पुग्छ।
अधिकांश पर्चाहरू रातो रङ्गका र चम्किला थिए। तिनलाई टाढैबाट स्पष्ट देखिन्थ्यो।
अधिकांश त्यस्ता पर्चामा आत्मसमर्पण गर्न प्रेरित गर्ने सन्देशहरू हुन्थे।
कतिपय पर्चामा “सुरक्षाको प्रत्याभूति” दिइने वाचा गरिएको हुन्थ्यो।
‘आत्मप्रचारका’ सन्देशहरू
सन् १९५३ मा सहमतिपछि दुई पक्षबीच लडाइँ रोकियो तर पर्चा छर्ने क्रम रोकिएन।
त्यस्ता पर्चाहरूमा अर्को देशका नेता र सरकारको आलोचना गरिएका सन्देशहरू हुन्थे।
सन् १९६० र ७०को दशकमा उत्तर कोरियाली पर्चाहरूमा प्योङ्याङले गरेको विकास र देशका सर्वोच्च नेता किम इल-सङले हासिल गरेका उपलब्धिको चर्चा गरिएको थियो।
सन् १९७०को दशकमा उत्तर कोरियाले वितरण गरेका पर्चाहरूमा “उत्तर कोरिया आउने सैनिकहरूलाई” कैयौँ सुविधा दिइने वाचा गरिएको थियो।
तिनमा “अधिकार र स्वतन्त्रताको सुनिश्चितता, जागिरको व्यवस्था, सित्तैमा सुविधायुक्त घर, जीवनयापनका लागि भत्ता र नगद पुरस्कार” दिइने प्रलोभन पनि लेखिएको हुन्थ्यो।
त्यस बेलासम्म उत्तर कोरियाको आर्थिक अवस्था दक्षिण कोरियाको भन्दा केही राम्रो रहेको ठानिन्थ्यो। त्यस्तो पर्चा पढेर कतिपय दक्षिण कोरियालीहरू देश छोडेर उत्तर कोरिया गएका पनि थिए।
सन् १९८०सम्म दक्षिण कोरियाली विद्यार्थीहरूले उत्तरबाट छरिएका पर्चा टिप्ने कुरा सामान्यजस्तै थियो। त्यस्ता पर्चाहरू टिपेर विद्यालय वा प्रहरी कार्यालयमा बुझाउँदा उनीहरूलाई पढाइमा आवश्यक पर्ने कलम, कापी वा अन्य शैक्षिक सामग्री पुरस्कार दिइन्थ्यो।
सरकारी अधिकारीहरूले पनि यस्तो कुराबारे सूचना दिने वा दक्षिण कोरियाविरोधी पर्चा सङ्कलन गरेर बुझाउने मानिसहरूलाई पुरस्कार दिइने सूचना प्रकाशित गर्ने गरेका थिए।
दुई देशबीचको आर्थिक अवस्थामा परिवर्तन आएर दक्षिण कोरियाको अवस्थामा सुधार भएपछि उसले उत्तर कोरियाविरुद्ध पर्चा छर्न थाल्यो।
सन् १९८८ को सोल ओलिम्पिक्समा एउटा नारामा भनिएको थियो, “के तपाईँ पेटभरि खान चाहनुहुन्न?”
अनि रोकियो पर्चाबाजी
सन् १९९१ र सन् २००० मा भएका द्विपक्षीय सहमतिपछि दुवै देशले आधिकारिक रूपमै पर्चा छर्ने क्रम रोके।
सन् २००७ मा दक्षिण कोरियाली प्रहरीले उत्तर कोरियाली प्रचारबाजीका सामग्री सङ्कलनसम्बन्धी नियम अन्त्य गर्दै पर्चा सङ्कलन गरेर ल्याउनेलाई शैक्षिक सामग्री वा पुरस्कार दिन छोड्यो।
सरकारबाटै प्रायोजित पर्चाहरू फैलाउने क्रम रोकिए पनि पर्चा वितरण पूर्ण मात्रामा भने रोकिएन।
दक्षिण कोरियाली राष्ट्रपति ली म्यङ-बाकको समयमा दुई देशबीचको सम्बन्ध फेरि चिसिएपछि पुनः एकअर्काको आलोचना र मनोवैज्ञानिक युद्ध चर्कियो।
त्यसपछि फेरि दुई कोरियाको आकाशमा पर्चाहरू उड्न थाले।
पर्चाबाहेक अरू के पठाइयो
सन् २००० को दशकमा भने उत्तर कोरियाविरोधी पर्चा छर्ने कामको नेतृत्व दक्षिण कोरियाली नागरिक सङ्घसंस्थाले लिए।
उनीहरूले पर्चाहरू मात्रै पठाएनन् कपमा राखिएको चाउचाउ र १ अमेरिकी डलरको नोट पनि पठाए।
सन् २०१० मा दक्षिण कोरियाली जलसेनाको एउटा पानीजहाज डुबेपछि उत्तर कोरियाविरोधी पर्चा छर्ने क्रमले पुनः तीव्रता पायो।
उत्तर कोरियाले सन् २०१६ मा आणविक परीक्षण गरेपछि सन् २०१६ मा दक्षिण कोरियाको पाक गन-हेले नेतृत्व गरेको सरकारले प्रतिक्रियास्वरूप उत्तर कोरियासम्म सुनिने गरी दक्षिणबाट चर्को आवाजमा लाउडस्पीकरबाट सन्देश बजाउन थाल्यो।
उक्त कदमको उद्देश्य सीमापारि उत्तर कोरियामा भएका मानवाधिकार हननका समाचार र चर्चित कोरियाली सङ्गीत सुनाएर उत्तर कोरियालीहरूलाई प्रभावित पार्नु थियो।
त्यसको बदलामा उत्तर कोरियाले दक्षिण कोरियाविरोधी पर्चा छर्न थाल्यो। अधिकांश त्यस्ता पर्चाहरूमा वाशिङ्टनले लिएको उत्तर कोरियासम्बन्धी नीति र दक्षिण कोरियाको आन्तरिक राजनीतिको आलोचना गरिएको हुन्थ्यो।
दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इन र उत्तर कोरियाली नेता किम जङ-अनबीच सन् २०१८ एप्रिल २७ मा पाम्मुन्जम घोषणापत्रमा सहमति भयो।
त्यस क्रममा दुवै नेताले मे १ बाट सैन्य सीमा क्षेत्रमा लाउडस्पीकर बजाउनेदेखि पर्चा छर्ने सहितका “सबै प्रकारका शत्रुतापूर्ण गतिविधि रोक्ने” सहमति जनाए।
यद्यपि “फाइटर्स फोर अ फ्री नोर्थ कोरिया’ सहित विभिन्न दक्षिण कोरियाली नागरिक समूहहरूले उत्तर कोरियातर्फ पर्चा पठाउने क्रम रोकेका छैनन्।
यसैबीच उत्तर कोरियाली सर्वोच्च नेता किम जङ-अनकी बहिनी किम यो-जङले दक्षिण कोरियाले “फोहोरको महाजात्रा” "रोक्न नसके दुई देशबीचको सम्बन्ध अझ बिग्रिने चेतावनी दिएकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।