तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हमासद्वारा थप तीनजना इजरेली बन्धक मुक्त, बदलामा ३६९ प्यालेस्टिनी बन्दी रिहा
हमासले शनिवार थप तीनजना इजरेली बन्धक मुक्त गरेको छ। त्यसको बदलामा इजरेली जेलहरूमा रहेका ३६० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू रिहा भएका छन्।
मुक्त भएका बन्धकहरू अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल-खेन छन्। ती पुरुषहरू गत सात रिहा गरिएका बन्धकहरूजस्तो कमजोर देखिएका थिएनन्।
गाजाको दक्षिणमा पर्ने खान युनिस सहरमा रेडक्रसलाई बन्धक हस्तान्तरण गर्न तयार पारिएको मञ्च वरपर बिहानैदेखि हमास र अन्य प्यालेस्टिनी समूहका लडाकुहरू भेला भएका थिए।
ज्यानुअरी १९ मा हमास र इजरेलबीच युद्धविराम सम्झौता भएयताको यो छैटौँ पटकको बन्धक रिहा हो।
गाजामा बन्धकहरू मुक्त गरिँदैगर्दा इजरेलको तेल अभिभस्थित होस्टेज स्क्वायरमा मानिसहरू जम्मा भएर उक्त प्रक्रिया हेरेका थिए। बन्धकहरू रेडक्रसलाई हस्तान्तरण गरिएपछि उनीहरू खुसीले चिच्याएका थिए।
यसअघि गत सोमवार हमासले इजरेललाई युद्धविरामका सर्त उल्लङ्घन गरेको भन्दै बन्धक रिहा नगर्ने जनाएपछि युद्धविराम भङ्ग हुने चिन्ता उत्पन्न भएको थियो।
जसको जवाफ दिने क्रममा इजरेलले समयमै बन्धक मुक्त नभए गाजामा बमबारि सुरु गर्ने बताएको थियो।
शनिवार बन्धक मुक्त गरेसँगै हमासले जारी गरेको एक विज्ञप्तिमा गाजामा रहेका बन्धकहरू मुक्त गर्न "वार्ता र युद्धविराम सम्झौताका पालना बाहेक"का अन्य उपाय नरहेको जनाएको छ।
इजरेली प्रधानमन्त्रीको कार्यालयले समेत हिब्रु भाषामा विज्ञप्ति जारी गर्दै आज भएको बन्धक रिहाको स्वागत गरेको छ।
हमासले यस साता "सम्झौता उल्लङ्घन गर्ने प्रयास गरेको" भन्दै सो विज्ञप्तिमा इजरेल सरकार अझै गाजामा रहेका बन्धक मुक्त गर्न अमेरिकासँग सहकार्य जारी राख्ने जनाएको छ।
छाडिएका बन्धक को हुन्?
शनिवार मुक्त भएका तीनैजना सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्याइएका थिए।
मुक्त भएर इजरेल फर्किसकेका उनीहरू सबै अन्य देशको नागरिकता समेत भएका इजरेली हुन्।
हाल २९ वर्षका अलेक्जेन्डर ट्रुफनोभ रुसी-इजरेली हुन्। प्यालेस्टिनी इस्लामिक जिहादको सैन्य दस्ताले शनिवार बिहान उनी आफू मुक्त हुने थाहा पाएको भिडिओ सार्वजनिक गरेको थियो। तर उक्त भिडिओ कहिले खिचिएको हो भन्ने प्रस्ट छैन।
त्यसैगरी याएर होर्न आर्जेन्टिनाको समेत नागरिकता भएका इजरेली हुन् भने सागी डेकल-खेन अमेरिकी नागरिक समेत हुन्।
झण्डै एक महिनाअघि पछिल्लो युद्धविराम सुरु भएयता हालसम्म हमासले १९ जना इजरेली र पाँचजना थाई बन्धकहरू मुक्त गरेको छ।
रेडक्रसका अनुसार यसबीचमा इजरेलले ७६६ जना प्यालेस्टिनी बन्धक रिहा गरेको छ।
३६९ जना प्यालेस्टिनी बन्दीहरू रिहा
शनिवार नै ३६९ जना प्यालेस्टिनी बन्दीहरू रिहा गरिएको इजरेली अधिकारीहरूले बताएका छन्।
उनीहरूलाई बसमा राखेर गाजा र वेस्ट ब्याङ्क पुर्याइएको थियो।
जसमध्ये ३६ जना आजीवन काराबासको सजाय तोकिएका थिए। बाँकी ३३३ जनालाई कुनै पनि अभियोगबिनै नियन्त्रणमा लिइएको प्यालेस्टिनी बन्दीहरूको सञ्चार कार्यालयले जनाएको छ।
उनीहरूमध्ये केही इजरेलविरुद्धका घातक हमलामा संलग्न भएकोमा दोषी पाइएकाहरू थिए।
तर धेरैजसो भने युद्धका बेला पक्राउ परेका थिए।
उक्त सूचीमा ३३३ जना सन् २०२३ को अक्टोबर ७ यता गाजाबाट बन्धक बनाइएकाहरू रहेको बताइएको छ।
त्यसबाहेक २९ जना वेस्ट ब्याङ्कबाट र सातजना जेरुसलेम र आसपासका ठाउँबाट छन्। तीमध्ये २४ जनालाई अन्य देश पठाइँदैछ।
गाजामा तीन चरणको युद्धविराम
युद्धविराम तथा बन्धक रिहाई सम्झौता अनुसार पहिलो चरणको युद्धविराम झण्डै छ साता लामो हुनेछ।
दोस्रो चरणको लागि वार्ताको सुरुवात पहिलो चरण सुरु भएको १६ दिनपछि हुने भनिएको थियो। जसअनुसार वार्ताहरू सुरु भई सक्नुपर्नेमा त्यसबारे कुनै जानकारी दिइएको छैन।
यसक्रममा बाँकी बन्धकहरू रिहा हुनुका साथै त्यहाँबाट पूर्ण रूपमा इजरेली फौज फिर्ता हुनेछन्।
इजरेल अध्ययनका लागि पुगेका कञ्चनपुरका विपिन जोशी पनि हमासको नियन्त्रणमा छन्। हमासले पहिलो चरणको युद्धविरामका क्रममा रिहाइ गर्नेहरूको सूचीमा विपिन जोशीको नाम समावेश नभएको यसअघि अधिकारीले बताएका थिए।
तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि वर्षौँ लाग्न सक्ने जनाइएको छ। यो चरणमा बाँकी बन्धकका शवहरू फिर्ता गरिने बताइन्छ।
हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरेल भित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरेलले उनीहरूलाई नष्ट पार्ने भन्दै गाजामा सैन्य कारबाही थालेको थियो।
हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ४७ हजार ५०० जनाको ज्यान गइसकेको छ।
त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा युद्धका बेला दुई तिहाइभन्दा धेरै घर तथा भवनहरू ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घको विवरण छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।