तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा हेलिकप्टरको प्रयोग उद्धार कार्यदेखि प्रेम प्रस्तावसम्ममा
- Author, गनी अन्सारी
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
- Published
स्याङ्जाको वालिङमा बिहीवार खेल भइरहेकै बेला फुटबल मैदानमा एउटा चार्टर्ड हेलिकप्टर अवतरण गराइएको घटनाबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ।
घटनापछि एकथरीले हेलिकप्टरका चार्टर्ड उडानहरूको प्रभावकारी नियमन हुनुपर्ने तर्क पनि गरिरहेका छन्।
पूर्वसूचनाविना फुटबल मैदानमा हेलिकप्टर अवतरण गराइएको भन्नेबारे अनुसन्धान भइरहेको स्याङ्जाका नायब प्रहरी उपरीक्षक रवीन्द्र खनालले बीबीसीलाई बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।
“अनुमतिविना नै प्रभु एअरको हेलिकप्टर उडाइएको कुरा त होइन। तर वालिङमा जे भयो त्यसबारे अनुसन्धान चाहिँ भइरहेको छ,” बीबीसीसँग उनले भने।
केमा हेलिकप्टर प्रयोग हुन्छ?
सेवाग्राहीको आवश्यकताअनुसार विभिन्न प्रयोजनका लागि हेलिकप्टरबाट सेवा दिँदै आएको वायुसेवा सञ्चालकहरू बताउँछन्।
“विशेषगरी सरसामानको ढुवानी, विपद् उद्धार, विकास परियोजनाहरूको सर्वेक्षण, हिमालको दृश्यावलोकन लगायतका काममा हेलिकप्टरको प्रयोग हुँदै आएको छ,” वायुसेवा सञ्चालक सङ्घ, नेपालका प्रवक्ता योगराज कँडेलले बीबीसीसँग भने।
तर पछिल्लो समय प्रेमीप्रेमिकाले प्रेम प्रस्ताव गर्नदेखि विवाहमा दुलही लिन जानसम्म हेलिकप्टरको प्रयोग हुन थालेको वायुसेवा सञ्चालकहरूले बताएका छन्।
“खासगरी तराई क्षेत्रमा बिहेमा हेलिकप्टर बढी चार्टर हुन थालेको छ। हाम्रो माग अलि बढेको छ,” कँडेलले थपे।
सन् २०२१ मा गायिका इन्दिरा जोशीलाई उनका प्रेमी शरद केडियाले हेलिकप्टर चार्टर गरी सगरमाथा क्षेत्रमा गएर बिहेका लागि प्रस्ताव गरेको भन्ने घटना निकै चर्चामा आएको थियो।
“सम्पन्न मानिसहरूले काठमाण्डूबाट घर जानकै लागि पनि हेलिकप्टर चार्टर गरेको पाइन्छ। अरूले सिकिस्त बिरामी हुँदा चार्टर गर्ने गरेका छन्,” प्राधिकरणका प्रवक्ता निरौलाले भने।
“यो यो प्रयोजनका लागि मात्रै चार्टर गर्न पाइन्छ भन्ने छैन। सम्पन्न मानिसहरूले आवश्यकताअनुसार चार्टर गर्दा रहेछन्,” उनले थपे।
नेपाल हेलिकप्टर सर्भिसका प्रबन्ध निर्देशक राजन न्यौपानेका अनुसार धार्मिक पर्यटनका लागि पनि हेलिकप्टर चार्टर गर्ने चलन बढ्दो क्रममा रहेको छ।
“नेपाली र भारतीय दुवैले धार्मिक पर्यटनका लागि गोसाइकुण्ड, पाथीभरा, मुक्तिनाथ जान हेलिकप्टर चार्टर धेरै गर्ने गरेका छन्,” बीबीसीसँग उनले भने।
त्यसैगरी विवाहअघि र विवाहपछि मानिसहरूले फोटो खिचाउन कुनै ठाउँमा जानका निम्ति पनि हेलिकप्टर चार्टर गर्ने गरेको न्यौपाने बताए।
उनका अनुसार सगरमाथा आधारशिविरसम्म आउजाउ गर्न र काठमाण्डू-लुक्ला आउजाउका लागि पनि धेरैले हेलिकप्टर चार्टर गर्ने गरेका छन्।
उनले पनि तुलनात्मक रूपमा वैवाहिक प्रयोजनका निम्ति तराईमा हेलिकप्टर चार्टर गर्ने क्रम बढी देखिएको बताए।
चलचित्रहरूको छायाङ्कनका लागि पनि निर्माताहरूले हेलिकप्टर चार्टर गर्ने गरेको सञ्चालकहरू बताउँछन्।
कतिवटा हेलिकप्टर सञ्चालनमा छन्?
नेपाली सेनाले पनि हेलिकप्टर चार्टर सेवा दिँदै आएको छ।
सञ्चालक सङ्घका प्रवक्ता कँडेलका अनुसार नेपाली सेनाबाहेक हाल १२ वटा निजी कम्पनीसँग ३७ वटा हेलिकप्टर छन्।
“तीमध्ये आजको मितिमा २८ वटा अहिले सञ्चालनमा छन्। कुनै कहिले मर्मतसम्भारमा हुन्छ, कुनैको इन्जिन परिवर्तन भइरहेको हुन्छ,” उनले भने।
सबै उडानका लागि हेलिकप्टर सञ्चालकहरूले अनुमति लिनुपर्ने हुन्छ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार अनुमति नलिई हेलिकप्टर उडाएको खण्डमा केही समयसम्म उडान निलम्बन गर्नेदेखि जरिवानासम्मको व्यवस्था छ।
नेपालमा हाल सञ्चालनमा रहेकामध्ये अधिकांश पाँच सिट क्षमताका हेलिकप्टर रहेका छन्।
हाल पाइलटसहित करिब १,१०० जनशक्ति सेवामा आबद्ध रहेको सञ्चालक सङ्घले जनाएको छ।
“एउटा हेलिकप्टर सेवाप्रदायक कम्पनीले वर्षमा सरदर १,५०० उडान गर्ने गरेका छन् भने एउटा हेलिकप्टरले वर्षमा सरदर ५०० घण्टा उडान गर्ने गरेको छ,” कँडेलले भने।
भाडा कति पर्छ?
हेलिकप्टरको प्रकृतिअनुसार भाडा फरक हुने गरेको सञ्चालकहरू बताउँछन्।
“कतिपय मानिस घण्टाका आधारमा चार्टर गर्न चाहन्छन् भने कतिपयले प्याकेजमै डिल गर्छन्,” सञ्चालक सङ्घका प्रवक्ता कँडेलले थपे।
उनका अनुसार हेलिकप्टरको प्रकृतिअनुसार प्रतिघण्टा १,२०० अमेरिकी डलरदेखि ६,००० डलरसम्म हुन्छ।
सङ्घले गत अक्टोबर १ तारिखदेखि कायम गरेको दरअनुसार काठमाण्डू-धनगढी-काठमाण्डूको भाडा ८ लाख २५ हजार रुपैयाँ रहेको छ।
पाँच सीट क्षमताको काठमाण्डू-सगरमाथा आधारशिविर-काठमाण्डूको भाडादर ४,५०० अमेरिकी डलर रहेको छ।
सूचीमा उल्लेख गरिएअनुसार सबैभन्दा कम लुक्ला-लाम्चे-लुक्लाको ६०० अमेरिकी डलर भाडा रहेको छ।