हीथ्रो विमानस्थल बन्दबाट 'दुई लाख यात्रु' प्रभावित, उडान तालिका कैयौँ दिन प्रभावित हुने चेतावनी

Published
पढ्ने समय: २ मिनेट

लण्डनको हीथ्रो विमानस्थल नजिकैको एक विद्युत् सबस्टेसनमा आगो लागेर ऊर्जा आपूर्ति रोकिएसँगै उक्त विमानस्थल शुक्रवार पूरा दिनका लागि बन्द गरिएको छ।

युरोपको सबैभन्दा व्यस्त हुने यस विमानस्थल शुक्रवार बन्द भएसँगै अबका कैयौँ दिनका यात्रा तालिका प्रभावित हुने चेतावनी दिइएको छ।

संवाददाताहरूका अनुसार यसबाट झण्डै दुई लाख यात्रुहरू र १३ सय भन्दा धेरै उडान प्रभावित भएका छन्।

लण्डन अग्नि नियन्त्रक सेवाका अनुसार (शुक्रवार अपरान्हसम्म) आगलागी अझै रोकिएको छैन। टर्मीनल २ र ४ सहित आसपासका ५,००० घरमा बिजुली कटौती भएको छ।

चिन्ता

आगलागीका कारण हीथ्रो विमानस्थल बन्द हुन पुग्नुबाट लण्डनको उक्त विमानस्थलको सञ्चालनबारे गम्भीर प्रश्नहरू उठेको अन्तर्राष्ट्रिय विमान सेवाहरूको सङ्गठनले जनाएको छ।

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटिए)ले विश्वव्यापी महत्त्वको यस्तो पूर्वाधार एउटा मात्र ऊर्जा स्रोतमा निर्भर हुनुहुँदैनथ्यो भन्दै यो हीथ्रोले यात्रु र विमान सेवालाई निराश पारेको अर्को घटना भएको जनाएको छ।

विश्वकै सबैभन्दा व्यस्त हुनेमध्येको यस विमानस्थलमा त्यहाँको विद्युत् सबस्टेसनमा आगलागी भएसँग विद्युत् प्रवाह रोकिएको थियो।

बीबीसीकी सालट ग्यालहरले शुक्रवारको घटनाका कारण विमानस्थल खुलेपछि पनि त्यो छिट्टै सामान्य भईनहाल्ने देखिएको बताइन्।

"किनकी धेरै विमान, चालक दल र यात्रुहरू यतिखेर जहाँ हुनुपर्ने हो त्यहाँ छैनन्," उनी भन्छिन्।

छानबीन

यसबारे प्रतिआतङ्कवाद प्रहरीले छानबिन गर्ने भनिएको छ। तर अहिलेसम्म कुनै गलत नियतको सङ्केत नपाइएको अधिकारीहरूले बताएका छन्।

न्याश्नल ग्रीड स्रोतले बीबीसीलाई केही घण्टामा विद्युत् प्रवाह सुचारु हुने बताए पनि त्यो ठ्याक्कै कति बेला भन्ने प्रस्ट छैन।

हीथ्रो स्रोतहरूले योजना अनुसार नै ऊर्जाका जगेडा व्यवस्था सक्रिय पारे पनि त्यो विमानस्थल नै चल्न पुग्ने खालको नरहेको बताएका छन्।

सो विमानस्थल नजिकैका होटल तथा पबहरू अलपत्र परेका यात्रुहरूले भरिएका छन्। जहाँ उनीहरू व्यग्रताका साथ विमानस्थल खुल्ने खबर कुरिरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।