गाजा युद्धविराम सम्झौता अनुमोदन गर्न ढिलाइ गर्दै इजरेल

    • Author, माइया डेभिस
    • Role, बीबीसी न्यूज
  • Published
  • पढ्ने समय: ५ मिनेट

हमासले अन्तिम समयमा सम्झौतामा परिवर्तनहरू गर्न खोजेको आरोप लगाउँदै इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो मन्त्रिपरिषद्‌बाट गाजा युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने प्रक्रियामा ढिलाइ गरेका छन्।

बिहीवार इजरेलले उक्त युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने ठानिएको थियो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चाहिँ योजनाअनुसार नै आइतवारदेखि युद्धविराम सुरु हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

महिनौँको वार्तापछि इजरेली वार्ताकारहरूले सम्झौतामा सहमति जनाए पनि सुरक्षा क्याबिनेट र सरकारले त्यसलाई अनुमोदन नगरेसम्म सम्झौता कार्यान्वयन हुन सक्दैन।

हमासले भने आफू यो सम्झौतामा प्रतिबद्ध रहेको बताएको छ।

बीबीसीको बुझाइमा भने उक्त सम्झौता अन्तर्गत रिहा हुने प्यालेस्टिनी बन्दीहरूको सूचीमा उसले आफ्ना केही सदस्यको नाम थप गर्न खोजिरहेको थियो।

गाजामा हमला जारी

हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार सम्झौता घोषणा भएयता गाजामा इजरेलले गरेको आक्रमणमा परेर ८० जना भन्दा बढीको ज्यान गएको छ।

उक्त खबरसँगै इजरेलले सम्झौताको अनुमोदन गर्न ढिलाइ गरेको विवरण आएको हो।

बिहीवार तय भएको मन्त्रिपरिषद्‌को बैठकभन्दा केही घण्टा अघि नेतान्याहूले हमासले "अन्तिम समयमा फाइदा उठाउने" प्रयास गरेको आरोप लगाए।

नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा हमासले "सम्झौताका सबै विषयहरू" स्वीकार नगरेसम्म मन्त्रिपरिषद्को बैठक नबस्ने उल्लेख गरिएको छ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले चाहिँ यस्तो "चुनौतीपूर्ण" अवस्थामा यसरी ढिलाइ हुने कुरालाई स्वाभाविक मान्नु पर्ने बताएका छन्।

वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उनले "चुनौतिपूर्ण र कमजोरीहरू टन्नै भएको अवस्थामा अघि बढाइएको वार्ता र सम्झौता प्रकृयामा मिल्न बाँकी कहेी कुराहरू हुनु अनौठो नभएको" स्पष्ट पार्ने कोसिस गरे र आइतवारसम्म युद्धविराम सम्झौता लागु हुने र त्यो निरन्तर कायम रहने आशा व्यक्त गरे।

इजरेली सरकारभित्रै फरक मत

इजरेली सञ्चारमाध्यमले उक्त सम्झौतालाई अनुमोदन गर्न शुक्रवार मन्त्रिपरिषद्को बैठक बस्ने अपेक्षा गरिएको र नेतन्याहूले आरोप लगाएका मामिलाहरूको समाधान भइसकेको जनाएका छन् तर त्यसको आधिकारिक रूपमा पुष्टि भएको छैन।

अधिकांश इजरेली मन्त्रीहरूले सम्झौतालाई समर्थन गर्ने अपेक्षा गरिएको छ।

तर बिहीवार ढिलोगरी सुरक्षा मामिलासम्बन्धी इजरेली मन्त्री इटमार बेन-भिअरले यदि सम्झौता अनुमोदन गरिए उनको दक्षिणपन्थी पार्टीले नेतन्याहूको सरकार छाड्ने बताएका थिए।

"अहिले आकार लिइरहेको सम्झौता भनेको एउटा लापरवाहीपूर्ण सम्झौता हो," उनले पत्रकार सम्मेलनमा भने, "यसले युद्धका उपलब्धिलाई मेटाउनेछ।"

यद्यपि उनले उक्त सम्झौता अनुमोदन भए पनि आफ्नो दलले वर्तमान सरकार ढाल्न नचाहेको बताए।

उनले अन्य अति दक्षिणपन्थी दलबाट सरकारमा सामेल भएका मन्त्रीहरूलाई पनि राजीनामा दिन आग्रह गरे।

यद्यपि उक्त दलका प्रमुखले चाहिँ बीबीसी रेडियो फोरसँग नेतन्याहूको सरकार छाड्ने वा नछाड्ने भन्नेबारे 'बहस' जारी रहेको बताएका छन्।

हमास के भन्छ?

यसैबीच हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँग आफूहरू मध्यस्थकर्ताले घोषणा गरेको सम्झौताप्रति प्रतिबद्ध रहेको बताए।

हमास प्रतिनिधिमण्डलका प्रमुख खलील अल-हयाले कतार र इजिप्टलाई सम्झौताका सबै सर्तहरू अनुमोदन गरेको आधिकारिक रूपमा जानकारी गराएको ती अधिकारीले बीबीसीलाई बताए।

बीबीसी गाजा संवाददाता रुश्दी अबुअलोफले हमासले सम्झौताअन्तर्गत मुक्त हुने बन्दीहरूको सूचीमा एक वा दुई आफ्ना सदस्यहरूको नाम थप्ने प्रयास गरिरहेको बुझिएको बताएका छन्।

छ साता लामो युद्धविरामको पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिने छ। त्यसमा ३३ जना महिला, बालबालिका जेष्ठ नागरिक पर्छन्।

त्यसको सट्टामा इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुने छ।

यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुने छन्। यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिने छ।

विस्थापित भएका प्यालेस्टिनीहरू आफ्नो घर फर्कन पाउनेछन्।

युद्धविरामबारे दोस्रो चरणको लागि वार्ता १६औँ दिनमा सुरु हुनेछ। त्यसमा बाँकी बन्धकहरूलाई रिहा गर्ने र गाजाबाट इजरेली सेना पूर्णरूपमा फिर्ता हुनेछ। त्यस क्षेत्रमा दिगो शान्तिका लागि कामहरू हुनेछन्।

तेस्रो तथा अन्तिम चरणमा बाँकी रहेका सबै बन्धकहरू र शवहरू फिर्ता गर्ने तथा गाजाको पुनर्निर्माण सुरु गर्ने विषय हुनेछन्। त्यस्तो पुनर्निर्माणका लागि वर्षौँ लाग्न सक्छ।

दुवै पक्षलाई शान्त रहन आग्रह

बुधवार सम्झौता घोषणा भएपछि पनि इजरेलले हवाई आक्रमण जारी राखेको छ। त्यसबाट गाजा सहरमा कम्तिमा १२ जनाको मृत्यु भएको भयो।

त्यहाँस्थित एक चिकित्सकले "हिंसात्मक रात" भरी नै आफ्ना कर्मचारीहरूले "एक मिनेट पनि आराम गर्न नपाएको" बीबीसीलाई बताए।

सम्झौताको घोषणा भएपछि पनि गाजामा ५० वटा स्थानमा हमला गरिएको इजरेली सुरक्षा निकायहरूले विज्ञप्तिमा जनाएका छन्।

मध्यस्थकर्ताको भूमिका खेलेको कतारका प्रधानमन्त्रीले दुवै पक्षलाई युद्धविरामको पहिलो साता सुरु हुनुअघि शान्ति कायम राख्न आग्रह गरेका छन्।

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा १,२०० जना मारिएपछि इजरेलले गाजामा आक्रमण सुरु गरेको थियो। त्यस क्रममा हमासले २५१ जनालाई बन्धक बनाएको थियो।

त्यही समूहमा एकजना नेपाली नागरिक विपिन जोशी पनि रहेको ठानिएको छ भने उनको अवस्था अहिलेसम्म अज्ञात छ।

उक्त हमलामा 'लर्न एन्ड अर्न' कार्यक्रम अन्तर्गत इजरेल गएका १० जना नेपालीहरू पनि मारिएका थिए।

त्यसपछि इजरेलले गाजामा गरेको लगातारको आक्रमणमा परेर ४६,७८८ जनाको ज्यान गइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसमा आधाजति महिला र बालबालिका रहेका बताइएको छ। त्यहाँका २३ लाख भन्दा बढी मानिसहरू विस्थापति भएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।