तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेली हमलामा गाजास्थित शरणार्थी शिविरमा दर्जनौँको मृत्यु
इजरेलले गरेको एउटा हवाई हमलामा परेर उत्तरी गाजास्थित एउटा शरणार्थी शिविरमा रहेका कम्तीमा ३३ जना मारिएका छन्।
गाजा स्ट्रिपस्थित हमास प्रशासनले जनाएअनुसार मारिनेमा २१ जना महिला छन्।
जबिलामा गरिएको हमलाबारे इजरेलको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
बाक्लो जनघनत्व रहेको सो क्षेत्रलाई केही सातादेखि इजरेली फौजहरूले घेराबन्दी गरिरहेका छन्।
ठूलो हताहती
यसै साता इजरेली हमलामा हमासका प्रमुख याह्या सिन्वार मारिएपछि एकथरीले युद्ध रोकिन सक्ने आशा गरेका थिए। तर सो समूहका उपनेताले हमास अझ सशक्त भएर निस्कने बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेलले हिज्बुल्लाहसँग लडाइँ गरिरहेको लेबननमा “युद्धविरामको दिशामा काम गर्ने” सम्भावना रहे पनि “गाजामा गाह्रो रहेको” बताएका छन्।
जर्मनीको राजधानी बर्लिनमा जर्मन, फ्रेन्च र ब्रिटिश नेताहरूसँग भेटवार्ता गरेर फर्कने क्रममा बाइडनले यो अभिव्यक्ति दिएका हुन्।
गाजामा हमास सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमका अनुसार इजरेलले शुक्रवार गरेको हवाई हमलामा ८५ जनाभन्दा बढी घाइते भएकामा केही गम्भीर छन्।
मानिसहरू भग्नावशेषमा पुरिएकाले मृतकको सङ्ख्या ५० पुग्न सक्ने उसले जनाएको छ। यद्यपि यसको स्वतन्त्र पुष्टि गर्न अहिले गाह्रो छ।
स्थानीय स्रोतहरूका अनुसार उत्तरी गाजाको अवस्था अहिले अलग्गिएको जस्तो भएको छ जहाँ दूरसञ्चार र इन्टरनेट सेवा विच्छेद भएको अवस्था छ।
सामाजिक सञ्जालमा प्रकाशित एउटा भिडिओमा अल-अवदा अस्पताल परिसरभित्र शवहरू सेतो कात्रोमा बेरिएको देखिन्छ। बीबीसीले त्यसको आधिकारिता पुष्टि गरिसकेको छैन।
उक्त अस्पतालका निर्देशकले ठूलो हताहती भएको पत्रकारहरूलाई बताएका छन्।
“एम्बुलेन्स सेवा दिनेहरूले जबिलामा शहीद भएका व्यक्तिहरूको शवलाई र घाइते भएका व्यक्तिहरूलाई निकाल्न अझै प्रयास गरिरहेका छन्,” अस्पातलका निर्देशकले भने।
“हाम्रो अस्पतालका सबै वार्डहरू भरिभराउ भएका छन् र धेरै घाइतेहरूको भुइँमा राखेर उपचार भइरहेको छ।”
'भयावह स्थिति'
पछिल्लो हमलाअघि शुक्रवार इजरेली हमलामा कम्तीमा ३९ जना प्यालेस्टिनी मारिएका हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचारसंस्था रोयटर्सले जनाएको छ। तीमध्ये अधिकांश जबिलामा मारिएका हुन्।
दुई साताभन्दा केही बढी समयका लागि पुग्ने खाना अथवा पानीसहित करिब चार लाख मानिस शिविरभित्र थुनिएका छन्।
मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रमुखले बीबीसीको न्यूजआवर कार्यक्रमलाई बताएअनुसार जबिलामा मानिसहरू “भयावह अवस्था”बाट गुज्रिरहेका छन्।
इजरेलले खानेकुरा, पानी, औषधि र अस्थायी आवासका साधनसहित करिब ३० वटा लरी उत्तरी गाजा पठाएको बताएको छ।
तर स्थानीय स्वास्थ्य अधिकारीहरूले रोयटर्सलाई बताएअनुसार जबिलाको जस्तो नराम्ररी प्रभावित स्थानमा ती सामानहरू पुग्न सकेका छैनन्।
हमासका अनुसार एक वर्षको अवधिमा इजरेली हमलामा गाजमा कम्तीमा ४२,५०० व्यक्ति मारिएका छन् भने दशौँ हजार घाइते भएका छन्।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरेलमा आक्रमण गरी करिब १,२०० जनालाई मार्नुका साथै २५१ जनालाई बन्धक बनाएको थियो। त्यसयता इजरेले गाजामाथि निरन्तर हमला गर्दै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।