तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उपराष्ट्रपति चयनका लागि मतदान सकियो, यस्ता छन् उक्त पदबारे जान्नुपर्ने कुरा
नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि काठमाण्डूस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेबाट सुरु भएको निर्वाचन सम्पन्न भएको छ।
उक्त निर्वाचनमा सङ्घीय र प्रदेश सांसदहरूले मतदान गरेका थिए।
आजै मतगणना हुने र मत परिणाम घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ।
उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ कुल ३११ र प्रदेशसभातर्फ ५१८ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
आजको निर्वाचनमा राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय गठबन्धनबाट जनता समाजवादी पार्टी-नेपालबाट रामसहाय यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्। नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन्।
जसपा-नेपालबाटै प्रमिलाकुमारी यादवले समेत उम्मेदवारी दर्ता गराए तापनि पछि उनले त्यो निष्क्रिय पारेको बताएकी छन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भन्छन्, ‘‘उम्मेदवारी फिर्ता लिन पाउने समयभित्र वहाँले उम्मेदवारी कायमै राखेकाले कानुनत: वहाँ उम्मेदवार नै रहनुहुन्छ।’’
बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आजै अर्थात् चैत ३ मा सकिँदैछ। पहिलो उपराष्ट्रपति परमानन्द झा भएका थिए।
नेपालको संविधानअनुसार नेपालको राष्ट्रप्रमुखका रूपमा रहने राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्छन्।
सहायक प्रवक्ता अर्यालले उपराष्ट्रपति निर्वाचित भएपछि सपथग्रहणको मिति र समय तोकिने बताउँछन्। उपराष्ट्रपतिले राष्ट्रपतिबाट सपथ लिने संवैधानिक व्यवस्था छ।
राष्ट्रपतिमा २५ फागुनमा सम्पन्न निर्वाचनमार्फत् यसअघि नै नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।
निर्वाचित हुन कति मत चाहिन्छ?
उपराष्ट्रपतिमा निर्वाचित हुन कुल योग्य मतदाताको मतभारको बहुमत आवश्यक हुने कानुनी व्यवस्था छ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि ८८२ जना मतदाताको नाम सार्वजनिक गरेको छ।
सङ्घीय संसद्का ३३२ जना र प्रदेशसभाका ५५० जना मतदाताहरूको सबै मत भार जोड्दा ५२ हजार ६२८ हुन्छ।
त्यसको बहुमतका लागि २६ हजार ३१५ मत आवश्यक पर्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने जनाएको छ। राष्ट्रपति निर्वाचनमा समेत मतदान नगरेको उसका सङ्घमा १४ र प्रदेशमा २८ जना सांसद् छन्।
कुनै पनि उम्मेदवारले बहुमत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गर्नुपर्ने व्यवस्था छ।
उपराष्ट्रपति हुने योग्यता के हो?
नेपालको संविधानले धारा ६९ मा उपराष्ट्रपतिका हकमा समेत राष्ट्रपति हुन आवश्यक योग्यता नै लागु हुने व्यवस्था गरेको छ।
जसअनुसार सङ्घीय संसद्को सदस्य हुन योग्य भएको ४५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ।
कुनै कानुनले अयोग्य ठहर नगरेको व्यक्ति मात्र नेपालको उपराष्ट्रपति हुनसक्छ जो यसअघि दुईपटक सोही पदमा रहेको भए दोहोर्याउन पाउनेछैन।
संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुने व्यवस्था गरेको छ।
त्यसको अर्थ महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति वा पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ।
समुदायका हकमा नेपालको जातीय समुदाय अनुसार फरकफरक समूहको हुनुपर्छ।
त्यस्ता समुदायलाई राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनले समुदायका रूपमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू वा मुस्लिम समुदाय रहेको व्याख्या गरेको।
उक्त प्रावधान लागु भएको प्रत्याभूति गर्नका लागि नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक समय गर्ने परिपाटी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन्।
राष्ट्रपति रामचन्द्र पौडेल खस आर्य समूदायबाट प्रतिनिधित्व गर्छन्।
उपराष्ट्रपतिको सुविधा
बहालवाला उपराष्ट्रपतिको हकमा पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ले त्यसबारे व्यवस्था गरेको छ।
उक्त ऐनले उपराष्ट्रपतिलाई मासिक पारिश्रमिकदेखि आवास, सवारी तथा इन्धन अनि सञ्चार सुविधाको व्यवस्था गरेको छ।
जसअनुसार उपराष्ट्रपतिको मासिक तलब रु १,०८,०३० छ। उनले वर्षमा २०,००० पोसाक खर्च प्राप्त गर्ने व्यवस्था ऐनले गरेको छ।
उपराष्ट्रपतिलाई अतिथि सत्कार अनि भइपरि खर्चको सुविधा पनि दिइएको छ।
उक्त कानुन अनुसार उपराष्ट्रपतिलाई प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको अतिरिक्त रकम पाउँछन्।
यस्तो रकम अतिथि सत्कार तथा भइपरि खर्चबापत दिइने उल्लेख छ।
त्यस्तो खर्चको बिल भरपाई पेस गर्नु पर्दैन।
त्यस्तै पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ले दैनिक भत्ता अनि बीमाको पनि व्यवस्था पनि गरेको छ।
देशभित्रै भ्रमण गर्दा उपराष्ट्रपतिले राष्ट्रपति सरह नै ३,३०० रुपैयाँका दरले दैनिक भत्ता पाउँछन् भने विदेश भ्रमणका क्रममा दिनको २५० अमेरिकी डलर (बुधवारको विनिमय दर अनुसार ३२ हजार ८०० भन्दा बढी) भत्ता प्राप्त गर्छन्।
युरोपेली राष्ट्रहरू, अस्ट्रेलिया, न्यूजिल्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङकङ, रुस, कतार, जाम्बिया, यूएई, सिङ्गापुर, लेवनान र बहराइनको भ्रमण गर्दा उक्त दरमा ३३ प्रतिशत थप रकम उपलब्ध गराइने कानुनी व्यवस्था छ।
चाडपर्व खर्चबापत उनीहरूले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष प्राप्त गर्ने प्रावधान राखिएको छ।
उक्त ऐनले उपराष्ट्रपतिका लागि १५ जना कर्मचारीको व्यवस्था गरेको छ।
उपराष्ट्रपतिलाई तीन जना सवारी चालक र कार्यालय सहयोगीको सुविधा उपलब्ध गराइएको छ र उपराष्ट्रपतिले बढीमा पाँच जना विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था ऐनले गरेको छ।