भारतका बहालवाला प्रधानन्यायाधीश 'पहिलो पटक' नेपालको औपचारिक भ्रमणमा

Published

नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड नेपालको तीन दिने औपचारिक भ्रमणमा शुक्रवार काठमाण्डू आइपुगेका छन्।

पदमा रहँदै भारतका प्रधानन्यायाधीश नेपाल आएको यो पहिलो पटक भएको अधिकारीहरूले बताएका छन्।

भारतको न्याय प्रणालीमा कतिपय साहसी खालका निर्णयहरू गरेका भनेर चिनिएका चन्द्रचूडको भारतमा आमनिर्वाचन जारी रहँदा भएको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेपालमा रहँदा उनले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने तथा दुई देशका न्यायपालिकाबीच सहकार्यबारे चर्चा गर्ने बताइएको छ।

चन्द्रचूड किन आए नेपाल?

शुक्रवार काठमाण्डू ओर्लिएका प्रधानन्यायाधीश चन्द्रचूडलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले स्वागत गरे।

चन्द्रचूडले शनिवार राजधानी काठमाण्डूमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्ने नेपालको सर्वोच्च अदालतले जनाएको छ।

भारतीय प्रधानन्यायाधीशको नेपाल भ्रमणबारे सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, " सम्माननीय प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठज्यूको मैत्रीपूर्ण निमन्त्रणामा भारतका माननीय प्रधानन्यायाधीश डीवाई चन्द्रचूडज्यूसहितको भ्रमण दल आज नेपाल आइपुगेको छ।"

"नेपालको सर्वोच्च अदालतको रेकर्डअनुसार भारतका माननीय बहालवाला प्रधान्यायाधीश चाहिँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको यो चाहिँ पहिलो अवसर हो भन्ने देखिन्छ।"

उनी शनिवार काठमाण्डूमा केन्द्रीय बाल न्याय समितिले आयोजना गर्ने 'न्याशनल सिम्पोजिअम अन जुभिनायल जस्टिस'का मुख्य वक्ता रहेका छन्। उक्त कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन्।

शनिवारै साँझ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उनीबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको उप्रेतीले बताए।

त्यसै दिन नेपालका प्रधानन्यायाधीशले भारतका प्रधानन्यायाधीशको सम्मानमा रात्रिभोज आयोजना गर्ने छन्।

कुनै सहमति हुँदै छ?

चन्द्रचूडको भ्रमणका बेलामा नेपाल र भारतको न्यायिक क्षेत्रबीच एउटा समझदारीपत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम रहेको छ।

त्यस्तो समझदारी गर्नका लागि सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार वा रजिष्ट्रारलाई स्वीकृति दिने निर्णय बिहीवारको मन्त्रिपरिषद्‌को बैठकले निर्णय गरेको थियो।

दुई देशका सर्वोच्च अदालतबीच हुने समझदारीले न्यायिक क्षेत्रमा पनि सहकार्यको ढोका खोल्ने नेपाली अधिकारीहरूले बताएका छन्।

उक्त भ्रमण दलमा भारतका चन्द्रचूडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि आएका छन्।

चन्द्रचूड नेतृत्वको भारतीय टोली आगामी आइतवार स्वदेश फर्कनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।