चीनमा १३ वर्षपछि सबैभन्दा विनाशकारी भूकम्प, १२० जनाभन्दा बढीको मृत्यु

Published

पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा १२६ जनाको मृत्यु हुनुका साथै ७०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

गान्सु प्रान्तमा मध्यराति गएको ६.२ म्याग्निट्यूडको भूकम्प १३ वर्षमा चीनमा गएको सबैभन्दा विनाशकारी भूकम्प हो।

गान्सु र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ। कठ्याङ्ग्रिँदो जाडोमा ७०० जनाभन्दा बढी मानिस घाइते भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले उक्त भूकम्प रिक्टर स्केलमा ५.९ भएको र त्यो जमिनको सतहभन्दा १० किलोमिटरमुनि उत्पन्न भएको जनाएको छ।

त्यहाँ कम्तीमा १० वटा परकम्प मापन गरिएको अधिकारीहरूले बताएका छन्।

गान्सुमा ठूलो भूकम्प गएको केही घण्टापछि शिन्जियाङ प्रान्तमा पनि दोस्रो झट्का महसुस गरिएको थियो। तर ५.५ म्याग्निट्यूडको उक्त भूकम्पले पुर्‍याएको क्षतिबारे स्पष्ट जानकारी प्राप्त भएको छैन।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन्।

मौसमको चुनौती

आपत्कालीन उद्धारकर्ताहरूले चिसो मौसमको सामना गर्दै चीनमा गरिबी धेरै भएका इलाकाहरूमध्येमा पर्ने उक्त ग्रामीण क्षेत्रका मानिसलाई सहयोग गर्ने प्रयास गरिरहेका छन्।

त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सिअसभन्दा कम रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन्।

भिडिओ फुटेजहरूमा घाइतेहरूलाई अस्पताल पुर्‍याउँदै गरिएको र उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूमा मानिसहरूको खोजी गरिरहेको देख्न सकिन्छ।

सरकारले स्थानीय उद्धारकर्ताहरूलाई सहयोग गर्न थप जनशक्ति पठाएको छ।

राष्ट्रपति सीले वक्तव्यमा उद्धार र खोजी, समयमै घाइतेको उपचार र हताहत हुनेको सङ्ख्या न्यून गर्न आवश्यक सबै प्रयास गर्न निर्देशन दिएका छन्।

अधिकारीहरूका अनुसार गान्सुमा १०५ जना र चिन्खाई प्रान्तमा १३ जनाको मृत्यु हुनुका साथै दुवै प्रान्तमा २६६ जना घाइते भएका छन्।

कम्तीमा २० जना सम्पर्कविहीन भएका छन्।

ती क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको विवरणहरूमा जनाइएको छ।

गान्सुमा मात्र झन्डै ५,००० वटा भवन भत्किएको अधिकारीहरूले बताएका छन्।

भूकम्पपीडितहरूलाई आश्रय दिन विभिन्न स्थानमा अस्थायी शिविर बनाइएको छ।

भूकम्पबाट प्रभावित दुई प्रान्तमा राहत वितरणका लागि २.८ करोड डलर छुट्ट्याइएको अधिकारीहरुले बताएका छन्।

गान्सुमा पहिला पनि गएको थियो भूकम्प

दक्षिणपश्चिम प्रान्त सिचुवानमा गत सेप्टेम्बरमा ६.६ म्याग्निट्यूडको भूकम्प जाँदा ६० जनाभन्दा धेरै मानिसको ज्यान गएको थियो।

सन् १९२० मा गान्सुमा गएको भूकम्पमा दुई लाखभन्दा धेरै मानिसको मृत्यु भएको थियो। त्यसलाई २० औँ शताब्दीको विश्वकै घातक भूकम्पमध्ये एक मानिन्छ।

तिब्बत र लोएस पठारका बीचमा अवस्थित गान्सु प्रान्त मङ्गोलियानजिकै पर्छ।

गान्सुमा उद्धारमा संलग्न एक अधिकारीले ग्रामीण भेगमा माटोबाट बनेका पुराना घरहरू भत्किएकाले ठूलो क्षति पुगेको बताएका छन्।

उनका अनुसार प्रभावित क्षेत्रमा झन्डै ८० प्रतिशत घरहरू बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन्।

'एकै सासमा १६ तला ओर्लियौँ'

एक व्यक्तिले भूकम्प जाँदा आफूहरूलाई "छालले उफारे जस्तो" भएको बताएका छन्।

"म सोह्रौँ तलामा बस्छु, त्यहाँ भुइँचालोले निकै हल्लायो। मैले परिवारका अरू सबैलाई उठाएँ र हामी एकै सासमा १६ तला ओर्लियौँ," चिन थरका ती व्यक्तिले सरकारी सञ्चारमाध्यमलाई बताए।

बाहिर माइनस १२ डिग्री सेल्सिअस तापक्रम भएको ठाउँमा पुग्दा चिनले अरू भवनबाट भागेर आएका मानिसहरू देखे।

कसैले डाउन ज्याकेट लगाएका थिए भने कसैले कम्बल ओढेका थिए। कसैकसैको चाहिँ छाती पनि छोपिएको थिएन।

चिनियाँ सामाजिक सञ्जाल 'डोयिन'मा आफूलाई गान्सु अन्ट वाङ भनेर चिनाउने एक प्रयोगकर्ताले आफ्नो घरको आँगनमा बसेर एउटा बच्चा बोकेकी महिलाको भिडिओ पोस्ट गरेकी छन्।

"मेरा खुट्टा अझै कामिरहेका छन्," भिडिओमा ती महिलाले भनेको सुनिन्छ, "आज राति म सुत्ने आँट गर्दिनँ।"

"त्यति बेलासम्म म निदाएकी थिइनँ अनि म तत्काल भाग्न थालेँ...," स्थानीय पत्रिका 'द पेपर' ले शिओ शङलाई उद्धृत गरेको छ।

उनी भन्छिन्, "[कोही फसेका छन् कि] त्यो हामीलाई अझै थाहा छैन। राति निकै अबेर [भूकम्प] गयो," उनी भन्छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।