तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री र बालबालिकासहित कैयौँको मृत्यु
युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्।
मृत्यु हुनेमा एकजना बालबालिका पनि छन्। ११ जना बालबालिकासहित २५ जना उक्त घटनामा परेर घाइते भएको बताइएको छ।
हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार थिए।
उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ। उनका उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन्।
मृत्युका बिषयमा फरकफरक विवरणहरू आइरहँदा त्यस्तो वास्तविक सङ्ख्या अझै यकिन हुन सकेको छैन।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई 'कालो बिहान' बताउँदै मृत्यु भएका मन्त्रीहरूलाई 'साँच्चिकै देशभक्त' भनेका छन्।
युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्।
त्यो दुर्घटनाबाहेक अरु केही भएको सङ्केत देखिएको छैन तर प्रत्यक्षदर्शीहरूले उक्त विपद्का लागि रुसको युद्धलाई दोष दिएका छन्।
एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्।
घाइतेहरूलाई अस्पताल लगिएको छ।
जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ।
शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँका कर्मचारीलाई अन्यत्र लगिएको थियो।
दुर्घटना हुँदा त्यहाँ निकै अँध्यारो थियो र हुस्सु लागेको थियो।
प्रारम्भिक विवरणहरूका अनुसार दुर्घटनाअघि हेलिकप्टर उक्त विद्यालयको भवनमा ठोक्किएको थियो।
पछि हेलिकप्टर एउटा आवासीय भवननजिकै पुगेर खसेको थियो।
डेनिस मोनास्तिर्स्की को हुन्?
बयालीस वर्षे मन्त्री राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका निकट सहयोगीमध्ये एक थिए।
रुसले गत वर्ष युक्रेनमा आक्रमण थालेपछि रुसी क्षेप्यास्त्र आक्रमणमा परेर भएको मानवीय क्षतिबारे सर्वसाधारणलाई जानकारी दिन मुख्य भूमिका निर्वाह गर्दै आएका थिए।
युक्रेनमा युद्ध सुरु भएपछि ज्यान गुमाउनेमध्ये उनी सबैभन्दा वरिष्ठ अधिकारी हुन्।
तर यो दुर्घटनामा रुसी हात रहेको देखिएको छैन।
युक्रेनी राष्ट्रपति कार्यालयका एक अधिकारीहरूले आन्तरिक मामिलामन्त्रीको टोली युद्ध भइरहेको एउटा स्थानतिर जाँदै थियो।
उनी युक्रेनमा रुसले हमला सुरु गर्नुभन्दा ६ महिनाअघि मात्र सन् २०२१ को जुलाईमा मन्त्री बनेका थिए।
आन्तरिक मामिला मन्त्रीको जिम्मा देशभित्रको सुरक्षा व्यवस्था मिलाउनु र युद्धका बेला प्रहरीको परिचालन गर्नु रहेको थियो।
लामो समय निजी वकिलका रूपमा काम गरेका उनी सन् २०१४ मा मात्र राजनीतिमा प्रवेश गरेका हुन्।
कानुनी विज्ञका रूपमा उनले जेलेन्स्कीलाई सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित हुन निकट रहेर सघाएका थिए।
पछि आन्तरिक मामिला मन्त्रीमा उनी नियुक्त हुँदा धेरैले त्यसलाई जेलेन्स्कीको शक्ति संचयको रूपमा हेरेका थिए।
किनभने उनीअघिका आन्तरिक मामिला मन्त्री चारवटा नेतृत्व अन्तर्गत रहेर काम गरिसकेका वरिष्ठ राजनीतिज्ञ थिए।