तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मेलम्चीको पानी अब वर्षाले आयोजनामा पुर्याएको क्षति आकलनपछि मात्र उपभोक्ताले पाउन सक्ने
वर्षा लगत्तै मेलम्चीको पानी फेरि काठमाण्डू उपत्यकाबासीका घर-घरमा पुर्याउने योजनामा धक्का पुगेको अधिकारीहरूले बताएका छन्।
साउन अन्तिम साता आएको बाढीले अस्थायी संरचनाहरू पुरिएको देखिएकाले अब तिनको निरीक्षणपश्चात् मात्र कहिले पानी काठमाण्डू आउँछ भनेर भन्न सकिने मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूले बताएका छन्।
तीस अर्बभन्दा धेरै रुपैयाँ खर्च गरेर बनेको मेलम्ची खानेपानी आयोजनाले बनेको दुई वर्ष बितिसक्दा पनि स्थायित्व पाउन सकेको छैन।
२०७८ सालको बर्खाको सुरुमै विनाशकारी भेलबाढीबाट गम्भीर क्षति पुगेको मेलम्ची त्यसयताका दुई वर्ष बर्खाको चार पाँच महिना अवरुद्ध नै रहने गरेको छ।
एक पछि अर्को क्षति
दुई वर्ष अगाडिको उक्त बाढीका कारण मेलम्ची नदीको पानी सुरुङभित्र पसाउने बाँधसहितको सम्पूर्ण हेडवर्क्स भनिने संरचना पुरिएको थियो।
त्यसको मर्मत गर्न समेत नसकिने अवस्थाका कारण छुट्टै अस्थाइ संरचना बनाएर मुख्य सुरुङमा पानी पठाउने अनि बर्खाका बेला बन्द गर्ने गरिएको थियो।
तर यसपालि पनि साउन २८ र २९ गते आएको बाढीले उक्त अस्थाइ संरचनाको क्षेत्र क्षतिग्रस्त भएको बताइएको छ।
“पहिलेको हेडवर्क्स बनाउन हामीले २१० मिटरको सानो सुरुङ बनाएका थियौँ। दुई वर्ष अगाडिको घटनापछि त्यही सानो सुरुङ प्रयोग गरेर अस्थाइ संरचना मार्फत पानी मुख्य सुरुङमा पठाउने गरिएको थियो। यो सुरुङको सुरुको विन्दुमा गेट १ र अन्त्य विन्दुमा गेट ९ छ र ती दुवै नदीको तिरमा छन्। अहिले पछिल्लो बाढीले ती दुवै गेट क्षेत्र पुरिएको देखिन्छ,” मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।
अब बर्खा सकिनासाथ उक्त क्षेत्रको प्राविधिक निरीक्षण गरिने उनले बताए।
“केवल ती गेट क्षेत्रमात्र पुरिएको हो भने सफाइ गरेर पानी पठाउने कार्य चाँडै सुरु हुनसक्छ। तर यदि गेटबाट सानो सुरुङभित्र पनि बाढीले असर गरेको रहेछ भने थप समय लाग्छ,” उनले भने।
दिगो समाधान कहिले?
हेडवर्क्सको क्षतिग्रस्त संरचना पुन:निर्माण नभइकन अहिले मेलम्चीमा देखिरहेको समस्याको दिगो समाधान हुने छाँटकाँट देखिँदैन।
“पछिल्लो अध्ययनले अब हेडवर्क्सको संरचना निर्माणस्थल नै सारेर अलि माथि सुरक्षित स्थानमा लैजानु पर्ने देखाएको छ। त्यसको कार्ययोजना बनाएर काम गरिसक्न त अझै एक-दुई वर्ष लाग्ने देखिन्छ,” पन्तले बताए।
विस्तृत डिजाइन, खरिद प्रक्रिया र ठेक्कापट्टा गर्न त्यति समय लाग्ने र त्यतिञ्जेल अस्थाइ किसिमले नै नदीमा सङ्लो पानी बगेको बेलामा प्रयोगमा ल्याउने योजना रहेको उनले सुनाए।
गत वर्ष नै एसियाली विकास ब्याङ्कको सहयोगमा एक क्यानडेली कम्पनीले गरेको अध्ययनले अहिलेको हेडवर्क्सलाई नै फेरि बनाउने हो भने १२ देखि १३ अर्ब रुपैयाँ खर्च लाग्न सक्ने र त्यति गर्दा पनि भविष्यमा ढुक्क हुनसक्ने अवस्था नरहेको ठहर गरेको मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूले केही महिना अगाडि जानकारी दिएका थिए।
“त्यसको विकल्प भनेको ‘इनटेक’ सार्नुपर्छ भन्ने छ। ४०० देखि ५०० मिटर थप सुरुङ बनाएर सर्कसथलि भन्ने ठाउँमा दुवैपट्टि ढुङ्गा भएको स्थान फेला परेको छ। त्यसलाई प्रयोग गर्न सकिन्छ भन्ने हो। ‘इन्टेक’ चाहिँ सार्नै पर्छ भन्ने उनीहरूको (विज्ञहरूको) निष्कर्ष हो,” समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले त्यतिखेर बीबीसीलाई बताएका थिए।
लगभग ४०० देखि ५०० मिटर सुरुङ निर्माण गर्न र सानो बाँध निर्माण गर्न ३ देखि ४ अर्ब रुपैयाँ लाग्न सक्ने समितिको अनुमान रहेको र उक्त संरचनामा लगानी गर्न एसियाली विकास ब्याङ्क इच्छुक रहेको श्रेष्ठले बताएका थिए।
खर्च माथि खर्च
दुई वर्ष अगाडि हेडवर्क्स संरचना पूर्ण क्षतिग्रस्त भएपछि अस्थाइ संरचनाहरू बनाउन अघिल्लो वर्ष १८ करोड रुपैयाँ र त्यसपछि गेटहरू मर्मत गर्न ५-६ करोड रुपैयाँ खर्च गरिएको पन्तले बताए।
हेडवर्क्स, करिब २७ किलोमिटर लामो मुख्य सुरुङ, सुन्दरीजलमा पानी प्रशोधन, पहुँच मार्ग अनि स्थानीयबासीलाई मुआब्जा, क्षतिपूर्ति लगायतका काममा ३० अर्ब रुपैयाँ खर्च भइसकेको अनुमान छ।
त्योभन्दा बाहेक पनि पाइपलाइन बिछ्याउने देखि वितरणका काममा अर्को १५-२० अर्ब खर्च भइसक्ने अनुमान छ।
अहिले प्रथम चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याइने र केही वर्षपछि अर्को चरणमा याङ्ग्री र लार्के नदीको पानी पनि मिसाएर दैनिक ५४ करोड लिटर पानि ल्याउने योजना सरकारको छ।
स्मार्ट मिटर जडान
मेलम्चीको पानी घरघरमा वितरण गर्नका निम्ति करिब १०१० किलोमिटर पाइपलाइन बिछ्याइएको काठमाण्डू उपत्यका खानेपानी सुधार आयोजनाको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।
“त्यसमध्ये करिब ४०० किलोमिटर पाइपलाइनमा परीक्षण सिध्याएर मिटर जडानको काम भइरहेको छ,” निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले भने।
पहिलोपल्ट जडान गर्दा मिटर नि:शुल्क नै ग्राहकहरूलाई दिइने उनले बताए। क्षेत्र-क्षेत्र छुट्ट्याएर परीक्षण अनि मिटर वितरण भइरहेको उनले बताए।
मेलम्चीबाट पानी नआएकाले बाँकी ६०० किलोमिटर पाइपलाइनको परीक्षणमा ढिलाइ भइरहेको उनले बताए।
सुन्दरीजल पानी प्रशोधन केन्द्रदेखि ठाउँठाउँमा पानी सङ्कलन केन्द्रसम्म थोक वितरण प्रणाली निर्माणका लागि ९ अर्ब रुपैयाँ अनि त्यसपछिका वितरण प्रणालीका लागि थप ८-९ अर्ब रुपैयाँको लागत रहेको उनले जानकारी दिए।
दोस्रो चरणमा भने वितरण प्रणालीलाई चक्रपथभन्दा बाह्य क्षेत्रमा विस्तार गर्ने योजना छ।
वितरण प्रणालीको निर्माण र व्यवस्थापन भएपछि पुरानो पाइपलाइन विस्थापन गरिने काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को योजना छ।
“पुरानो पाइपलाइन हामी पूर्ण रूपमा विस्थापन गर्छौँ। प्रणाली एकीकृत भइसकेको हुनाले भविष्यमा कुनै समय मेलम्चीको पानी नआएको बेलामा पनि नयाँ पाइपलाइनबाटै अन्यत्रबाट व्यवस्था गरिएका पानी पठाइनेछ,” केयूकेएलका निर्देशक एवं प्रवक्ता प्रकाशकुमार राईले बताए।
पुरानो पाइपलाइन पूर्ण विस्थापन हुने चरण अब निकट रहेको र एक-डेढ वर्षमा उक्त काम सम्पन्न भइसक्ने उनको अपेक्षा छ।