नेपाल ओडीआई क्रिकेटको पूर्वविश्वविजेता वेस्ट इन्डीजसँग पहिलो पटक भिड्दै

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

क्रिकेटमा महान् खेलाडी तथा वेस्ट इन्डीजका पूर्वकप्तान ब्रायन लारा नेपाली क्रिकेटप्रति सद्भाव राख्छन्। दश वर्षअघि नेपालमै आएर उनी नेपाली खेलाडीहरूलाई हौसला दिन चाहन्थे।

एउटा ट्वीट गर्दै उनले नेपाल आउने चाहना प्रकट पनि गरेका थिए। तर आउन नसकेपछि ट्विटरबाटै माफी मागे।

त्यति बेला नेपाल आईसीसीको डिभिजन-३ मा खेलिरहेको थियो। बरमुडामा नेपालको खेल हेरेपछि लाराले ट्वीट गर्दै लेखेका थिए: "टीम नेपालले निकै राम्रो खेलिरहेको छ। खेलाडीहरूमा आत्मविश्वास छ। ‘फ्यूचर अफ क्रिकेट'।"

उनले देखेको त्यही 'फ्यूचर अफ क्रिकेट' राष्ट्र अहिले उनकै देश वेस्ट इन्डीजविरुद्ध उभिँदै छ।

बिहीवार आईसीसी विश्वकप छनोटमा नेपाल र वेस्ट इन्डीजको खेल सुरु भएको छ जसमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

वेस्ट इन्डीज दुई पटकको एकदिवसीय विश्वकप विजेता टोली हो।

अनि कुनै पनि ‘फर्म्याट’को अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले वेस्ट इन्डीजसँग खेल्न लागेको पनि यो पहिलो अवसर हो।

इतिहास

अहिले राष्ट्रिय टोलीमा समाविष्ट कतिपय नेपाली खेलाडी टेलिभिजनमा वेस्ट इन्डीजको खेल हेरेर हुर्केका होलान्।

ब्रायन लाराले टेस्ट क्रिकेटमा हालसम्मकै धेरै अविजित ४०० रन बनाएको हेरे होलान्। क्रिस गेलको विस्फोटक ब्याटिङ कसलाई पो मन नपर्ला र?

अनि कुनै दिन विश्वक्रिकेटमा बलियो मानिएको टोलीविरुद्ध खेल्ने सपना कतिपय नेपाली खेलाडीहरूले देखे होलान्, कतिले भने सोचेका समेत थिएनन् होला।

तर विश्वकप छनोट यी दुई टोलीलाई एकै ठाउँमा उभ्याएको छ।

सन् १९७५ मा इङ्ग्ल्यान्डमा आयोजित पहिलो संस्करणको विश्वकप जितिसकेको वेस्ट इन्डीज र सन् १९९६ देखि मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपाल समूह 'ए' मा सँगै परेका छन्।

पछिल्लो समय वेस्ट इन्डीजको प्रदर्शन तुलनात्मक रूपमा कमजोर भएकाले ऊ 'सुपर लीग' प्रतिस्पर्धामार्फत् सीधै विश्वकपमा छनोट हुन सकेन र क्वालिफायरमा खेल्न बाध्य भयो।

नेपाल भने आईसीसी विश्वकप लीग-२ को शीर्ष तीनमा आफ्नो स्थान सुरक्षित गर्दै पहिलो पटक ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्न छानिएको हो।

कस्तो होला भिडन्त ?

छ फीट सात इन्च अग्ला अलराउन्डर जेसन होल्डर १५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्छन्। नेपाली ब्याटरहरुले उनलाई कसरी झेल्लान्?

होल्डरको ब्याटिङ पनि उत्तिकै आकर्षक छ। गत विश्वकपमा उनले १०५ मिटर लामो छक्का प्रहार गरेका थिए।

उनी भारतीय ‘फ्रेन्चाइज’ लीग आईपीएलका नियमित खेलाडी हुन्। उनले चेन्नई सुपर किङ्स, लखनऊ जायन्टस्, सनराइजर्स हैदराबाद हुँदै यो वर्ष राजस्थान रोयल्समा पुगेका थिए। राजस्थानले उनलाई पाँच करोड ७५ लाख भारुमा खरिद गरेको थियो।

विकेटकिपर ब्याटर निकोलस पुरण पनि आईपीएलका ‘स्टार’ खेलाडी हुन्।

मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, लखनऊ सुपर जायन्टस् र किङ्स इलेभन पञ्जाबबाट खेल्ने गर्छन्।

वेस्ट इन्डिजको टोलीमा अहिले पनि रोभम्यान पावेल, किमो पावेल, किल मेयर्स, जोन्सन चार्ल्सजस्ता चर्चित खेलाडी छन्।

तर नेपालमा पनि ‘स्टारहरू’को कमी छैन।

करण केसी वा ललित नारायण राजवंशीले वेस्ट इन्डीजका कुन स्टारलाई बोल्ड गर्ने हुन्? कुशल भुर्तेल र कुशल मल्लले कति खेर शतक प्रहार गर्ने हुन्? बिहीवारको खेलमा चासोको विषय यो पनि हुने छ।

आखिर अमेरिकाका गजानन्द सिंहले पनि त वेस्ट इन्डीजविरुद्ध यही प्रतियोगितामा शतक प्रहार गर्न भ्याइसकेका छन्।

दश टोलीबीचको यो भिडन्तबाट दुई टोली मात्र विश्वकपमा पुग्ने भएकोले वेस्ट इन्डीजका लागि प्रत्येक खेल जित्नुपर्ने अवस्था छ।

नेपाललाई भने टेलिभिजनमा मात्र देखेका वेस्ट इन्डीजका खेलाडीहरूसँग खुलेर खेल्ने मज्जाको मौका बनेको छ।

यसैकारण नेपालभन्दा बढी दबाव वेस्ट इन्डीजलाई हुने छ। अनि नेपाललाई कमजोर ठान्ने भुल उनीहरूले पक्कै गर्ने छैनन्।