तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एक्वडोरमा जब ‘मृत’ महिलाले आफ्नो अन्तिम संस्कारमा सास फेरिरहेको देखियो
ल्याटिन अमेरिकी देश एक्वडोरमा एक वृद्ध महिलाले आफ्नो अन्तिम संस्कारका बेला सास फेर्दै गरेको देखेर मानिसहरू अक्क न बक्क भएका विवरण आएको छ।
सम्भावित हृदयाघातका कारण ७६ वर्षे बेला मोन्टोयाको मृत्यु भएको अस्पतालले गत साता घोषणा गरेको थियो।
चिहानमा गाड्नु अघि आफन्तहरूले लुगा फेर्ने तयारी गरिरहँदा उनले सास फेरिरहेको देखेका हुन्।
मोन्टोयाको अहिले अस्पतालको अति सघन कक्षमा उपचार भइरहेको छ।
एक्वडोरको स्वास्थ्य मन्त्रालयले घटनाबारे अनुसन्धान गर्नका लागि एउटा छानबिन समिति गठन गरेको छ।
मन्त्रालयले एउटा विज्ञप्तिमा जनाएअनुसार ती वृद्धालाई ‘कार्डिओरेस्पिरेटरी अरेस्ट’ भएको थियो।
त्यस्तो भएपश्चात् कृत्रिम सास दिँदा उनले कुनै प्रतिक्रिया जनाइनन्। त्यति बेला काममा रहेका चिकित्सकहरूले ती वृद्धाको मृत्यु भएको घोषणा गरे।
सुधारका लागि प्रार्थना
वृद्धाका छोरा गिल्बर रोडोल्फो बेलबेरान मोन्टोयालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उनकी आमालाई “बिहान ९ बजेतिर अस्पताल भर्ना गरिएकोमा अपराह्नतिर मृत्यु भएको चिकित्सकहरूले घोषणा गरे”।
त्यसपछि उनलाई शव बाकसमा हालियो। उनले सास फेरिरहेको आफन्तहरूले नदेखेको बेलासम्म त्यसभित्रै रहेकी थिइन्।
खुला शव बाकसभित्र वृद्धाले गहिरो सास लिइरहँदा वरिपरि मानिसहरूको भिड रहेको सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा देखिन्छ।
त्यसपछि एम्बुलेन्समार्फत् अस्पताल पुर्याउनुअघि पारामेडिकहरू आएर उनको हेरेको देखिन्छ।
चिकित्सकहरूले मृत घोषणा गरेकै अस्पतालको अतिसघन उपचार कक्षमा अहिले उनको उपचार भइरहेको छ।
वृद्धाका छोरा बेलबेरानले समाचारसंस्था एएफपीसँग भनेका छन्, “के भयो भनेर बिस्तारै मैले बुझिरहेको छु। अहिले मेरो एउटा प्रार्थना भनेको मेरी आमाको स्वास्थमा सुधार होस् भन्ने छ। म उहाँलाई जिउँदो मसँग भएको चाहन्छु।”