तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि, बाँकी संस्कार कसरी हुन्छ
संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित बिहीवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनको मङ्गलवार बिहान निधन भएको थियो।
नेपालको पूर्वी पहाडी जिल्ला इलाममा जन्मेहुर्केका नेम्वाङको अन्तिम संस्कार लिम्बू परम्पराअनुसार गरिएको उनको सचिवालयले जनाएको छ।
काठमाण्डूको बालुवाटारस्थित निवासमा पारिवारिक परम्पराअनुसार लिम्बू पुरोहित फेदाङ्माले मरणोपरान्त गरिने विधि सम्पन्न गरेपछि शवयात्रा सुरु भएको थियो।
वाग्मती नदीको किनारमा रहेको आर्यघाट पुगेपछि शवयात्रा टुङ्गिएको थियो। त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको झण्डा ओढाएर नेम्वाङप्रति सम्मान व्यक्त गरेका थिए। नेकपा एमाले संसदीय दलका उपनेता रहेका नेम्वाङलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीको झण्डा ओढाए।
नेम्वाङप्रति सर्वसाधारण तथा अन्य नेताहरूले अन्तिम सम्मान प्रकट गरेका थिए।
नेम्वाङका दुई छोरा मिङ्सो र सुहाङले उनलाई मुखाग्नि दिएका थिए। उनीहरू विदेशमा भएकाले आइपुग्न समय लागेपछि परिवारको सल्लाहअनुसार बिहीवार अन्तिम संस्कार गर्ने निर्णय गरिएको थियो।
यसअघि उनको शव श्रद्धाञ्जलीका लागि दुई दिन च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा राखिएको थियो भने बुधवार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको थियो।
लिम्बू परम्परामा कसरी गरिन्छ अन्तिम संस्कार?
साधारणतया लिम्बू परम्परामा मानिसको मृत्यु हुँदा एकनाले बन्दुक पड्काउने चलन रहेको 'मेन्छाम् याप्मी मुन्धुम'का लेखक तथा लिम्बू संस्कृतिविद् दधिप्रसाद लिम्बूले बताए।
लिम्बू जातिमा दाहसंस्कार गर्ने र जमिनमा गाडेर चिहानघर बनाउने दुवै प्रचलन छ।
नेम्वाङको परिवारमा भने यसअघिबाटै दाहसंस्कारको प्रचलन रहेको उनका स्वकीय सचिव कृष्ण काफ्लेले बीबीसीलाई जानकारी दिए।
“घरमा लिम्बू परम्पराअनुसार सबै विधि गरेर पशुपति आर्यघाटमा लगिएको हो। धेरैलाई राखिने ब्रह्मनालमा राख्ने चलन हुँदैन, फेदाङ्माले विधि पूरा गरेपछि दाहसंस्कार गरिन्छ,” काफ्लेले भने।
माटो दिने चलन
शव जलाएर अन्तिम संस्कार गरिए पनि जलाइएको ठाउँमा माटो छर्किने प्रचलन रहेको दधिप्रसाद लिम्बू बताउँछन्।
“काठमाण्डूमा माटो नपाइने भएका कारण किनेर लैजाने र दाहसंस्कार सकिएपछि शव जलाइएको ठाउँमा मलामीहरूले माटो छर्किएर फर्कने चलन छ,” उनले भने।
लिम्बू परम्परामा शवबाट “अस्तु” निकाल्ने प्रचलन हुँदैन।
“हाम्रोमा चाहिँ साम्दाखुम भन्ने हुन्छ। त्यो भनेको मृतकको आत्मालाई चार दिनसम्म खाना दिएर बिदाइ गर्ने हो,” लिम्बू सांस्कृतिक परिषद्का अध्यक्ष गोविन्द आङ्बोहाङले भने।
'चार दिनमा नुनतेल'
लिम्बू जातिले मान्ने मुन्धुमअनुसार मृत्युसंस्कारमा चार दिनमा नुन तेल फुकाउने परम्परा छ।
तर परिवारका सदस्य वा आफन्तहरू भेला हुन समय लाग्ने अवस्थामा भने सात वा १० दिनसम्म पनि बार्ने चलन रहेको जानकारहरू बताउँछन्।
नेम्वाङ परिवारका सदस्यले पनि चार दिनमै नुन तेल फुकाउने तयारी छ।
कति दिनमा नुनतेल फुकाउने भन्ने दाहसंस्कारपछि परिवारसँगको छलफलबाट फेदाङ्माले टुङ्गो लगाउने गरिन्छ।
“मुन्धुम विधिअनुसार हाम्रोमा पुरुषको चार दिनमा र महिलाको तीन दिनमा टुङ्ग्याउने चलन हुन्छ,” गोबिन्द आङ्बोहाङ भन्छन्।
चौथो दिनमा बिहान मृतकका सन्तानले नुन तेल बारेका अरू आफन्तलाई नुन तेल फुकाइदिने चलन छ। त्यसलाई ‘याङ्सा’ भनिन्छ।
“अपराह्णतिर क्रिया बसेकाहरूले पनि नुन तेल फुकाउने चलन हुन्छ। त्यसलाई ‘खाउमा’ भनिने दधिप्रसाद लिम्बूले बताए।
“कसैले शव जलाएको वा गाडेको दिनदेखि नै कपाल खौरिने र सेतो लुगा लगाउने चलन हुन्छ। कसैले नुन तेल फुकाउने दिनको बिहान कपाल खौरिएर सेतो लुगा लगाउँछन् र बेलुकाबाट फुकाउँछन्,” लिम्बूले भने।
लिम्बू जातिको अन्तिम संस्कार स्थानविशेष र फेदाङ्माको विधिअनुसार पनि फरक पर्ने बताइन्छ।
“मुन्धुमको विधि एकदमै लचक हुन्छ। चार दिनसम्म मृतकको आत्मालाई खाना दिने चलन हुन्छ त्यसपछि केही पनि गर्नुपर्दैन,” आङ्बोहाङले भने।
नेम्वाङको काजकिरियाका लागि बालुवाटारकै निवासमा उनका छोरा, छोरी र श्रीमती बस्ने बताइएको छ।
नेम्वाङको अन्तिम संस्कारमा सहभागी हुन उनका सहोदर भाइ सुरेश नेम्वाङसहित उनका आफन्तहरू इलाम र पाँचथरबाट काठमाण्डू आइसकेका बताइएको छ।
नेम्वाङका बुवा रामबहादुर नेम्वाङले जागिरको सिलसिलामा पाँचथरबाट इलाम गएर बसोबास गरेका थिए। तर परिवारका अधिकांश आफन्तहरू पाँचथरमा बस्छन्।
राजकीय सम्मानमा के हुन्छ?
नेपालको ऐतिहासिक संविधान बनाउने दुवै संविधानसभाको अध्यक्ष रहिसकेका नेम्वाङको राजकीय अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।
गृह मन्त्रालयका उपसचिव भीमकान्त शर्माका अनुसार विसं २०६६ चैत्र ४ गते नेपाल राजपत्रमा प्रकाशित विधिअनुसार राजकीय अन्त्येष्टि हुने विशिष्ट व्यक्तिहरूको अन्तिम संस्कारमा १७ वा २१ तोपको सलामी दिने प्रचलन छ।
नेपालमा राष्ट्रपतिबाहेकका विशिष्ट व्यक्तिहरूको अन्त्येष्टिमा १७ तोपको सलामी दिने गरिएको उनले बताए।
“राजकीय अन्त्येष्टि भनेको राज्यले दिने सम्मान हो, यसमा मर्यादाअनुसार नेपाली सेनाको गुल्मले सलामी अर्पण गर्ने र तोप पड्काउने प्रचलन हुन्छ,” उनले भने।
“शोक दिवस मनाउने र सरकारी कार्यालय तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने हुन्छ।”
राजकीय अन्त्येष्टिको शवयात्रादेखि अधिकांश व्यवस्थापनको काम नेपाली सेनालाई जिम्मा दिइने गरिएको छ।
नयाँ संविधान जारी गर्न भूमिका
नेपालमा नयाँ संविधान बनाउने संविधानसभाको दुई पटक नेतृत्व गरेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ ७१ वर्षका थिए।
उनी इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभामा सदस्य पनि थिए। एमालेका संसदीय दलका उपनेता पनि रहेका नेम्वाङलाई अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्थ्यो।
गत फागुनमा भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका थिए। तर उनी नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए।
संविधानसभाको दुई पटक अध्यक्ष भएका नेम्वाङले खासगरी नयाँ संविधान जारी गर्न खेलेको भूमिका अतुलनीय भएको राजनीतिक दलका नेताहरू र राजनीतिक विश्लेषकहरूले बताएका छन्।
नेम्वाङले चार कार्यकाल संसद्को नेतृत्व गरेका थिए।
सभामुखका रूपमा उनको पहिलो कार्यकाल २०६३ वैशाख देखि २०६३ को माघसम्म थियो भने दोस्रो कार्यकाल २०६३ माघदेखि २०६५ साल जेठसम्म रहेको थियो। त्यस बेला उनी पुनर्स्थापित संसद्को सभामुख बनेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।