आफ्ना सैनिक मारिएको बदला लिने ट्रम्पको चेतावनी, इरानमा ताजा आक्रमण

    • Author, यारोस्लाभ लुकिभ
  • Published
  • पढ्ने समय: ३ मिनेट

होर्मुज जलमार्गमा पानीजहाजहरूमाथि आक्रमण गर्न सक्ने इरानी क्षमता "थप नष्ट" पार्ने उद्देश्यका साथ तेहरानविरुद्ध नयाँ चरणका हमलाहरू गरिएको अमेरिकी सेनाले बताएको छ।

लगातार दशौँ रातका ती आक्रमण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना सैनिकहरूको मृत्युको बदला इरानलाई सजाय दिने चेतावनी दिएपछि भएका हुन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले तीमध्ये दुई जनाको पहिचान खुलाएको छ।

कडा आक्रमण

हालै जोर्डनमा दुई र इराकमा एक गरी तीनजना अमेरिकी सैनिकको मृत्युको बदलामा अघिल्लो रात पनि इरानमाथि कडा आक्रमण गरिएको ट्रम्पले बताएका थिए।

इरानले चाहिँ बाहरेन, जोर्डन र सिरियाका निसानाहरूमा प्रहार गरेको बताएको छ।

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले अहिले उनको देश अमेरिकाविरुद्ध पूर्ण स्तरको युद्धमा रहेको बताएका छन्।

तथापि युद्धविराम भङ्ग भइसके तापनि मध्यस्थकर्ताहरूको माध्यमबाट दुई देशबीच कूटनीतिक सन्देशहरू आदानप्रदान भइरहेको तेहरानले जनाएको छ।

अमेरिकी सैनिकको मृत्यु

अमेरिकी रक्षा मन्त्रालयले जोर्डनस्थित अमेरिकी सैन्य स्थलमा सप्ताहान्तमा भएको आक्रमणमा परी मारिएका दुईजना सैनिकको पहिचान खुलाएको छ।

अमेरिकी सेन्ट्रल कमान्डले उक्त हमलापश्चात् तेस्रा सैनिक हराइरहेका बताएको थियो। पछि सो क्षेत्रमा पहिचान नखुलेका अवशेष भेटिएका थिए।

सोमवार अबेर जोर्डनको सेनाले उसले तीनवटा इरानी क्षेप्यास्त्र खसालिदिएको बताएको छ।

त्यसअघि कुवेती सेनाले पनि इरानी ड्रोनहरूको प्रतिरोध गरेको बताएको थियो।

बाहरेनले उसको हवाई नेभिगेशन प्रणालीलाई इरानी ड्रोनले निसाना बनाएको तर हवाई यात्रा प्रभावित नभएको बताएको छ।

इरानको अर्धसरकारी तस्नीम समाचार संस्थाले अघिल्लो रात तब्रिज, चाबहार, कोनार्क, बान्दर माशहर र बान्दर इमाम खोमेइनीजस्ता सहरहरूमा आक्रमण भएको जनाएको छ।

होर्मुज जलमार्ग पार गर्ने प्रयास गरेका दुईवटा तेल ट्याङ्करमा विस्फोट भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी)का अनुसार ती ट्याङ्कर, उसकै शब्दमा, "असुरक्षित र खतरापूर्ण दक्षिणी मार्ग"बाट गइरहेका थिए र ती "विस्फोट भए र रोकिए।"

अमेरिकी सेनाले आईआरजीसीको उक्त भनाइको खण्डन गरेको छ।

हुथीको साउदी अरेबियालाई चेतावनी

यमनका हुथीहरूले साउदी अरेबियाका विरुद्ध "सामुद्रिक प्रतिबन्ध"को घोषणा गरेका छन्।

हुथी नियन्त्रित उत्तर-पश्चिमी यमनका बन्दरगाह तथा विमानस्थलहरूमाथि लगाइएको साउदी नाकाबन्दीको बदलामा उक्त घोषणा गरिएको र सो घोषणा तत्काल लागु हुने इरान समर्थित हुथी समूहका सैन्य प्रवक्ताले जनाएका छन्।

उनले घोषणाको धेरै विषय खुलाएनन् तर हुथी समूहका एक सञ्चार अधिकारीले साउदी पानीजहाजहरूका निम्ति बाब अल-मन्दाब जलमार्ग – रेड सीको दक्षिणी मार्ग – बन्द गरिने बताए।

साउदी अरेबियाको विदेश मन्त्रालयले हुथीका आरोपहरूको निन्दा गर्दै आफ्नो देशले "अन्तर्राष्ट्रिय कानुनबमोजिम आफ्ना पानीजहाजको सुरक्षाका निम्ति सबै आवश्यक उपाय गर्ने" जनाएको छ।

इरानविरुद्धको अमेरिकी-इजरेली हमलाका कारण होर्मुज जलमार्ग अवरुद्ध भएका बखत साउदी अरेबियाको तेल ढुवानीका निम्ति रेड सी एकदम महत्त्वपूर्ण बनेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।