तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा पहिलो पटक एकैदिन १० हजार जनाभन्दा बढीमा कोभिड पुष्टि
नेपालमा थप १० हजारभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो अहिलेसम्म एकैदिन सङ्क्रमण पुष्टि भएको सर्वाधिक सङ्ख्या हो।
यससँगै देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ३९,००० नाघेको छ।
अहिले पुष्टि भएका अधिकांश सङ्क्रमित काठमाण्डू उपत्यकाका तीन जिल्लाका छन् भने सक्रिय सङ्क्रमितको कुल सङ्ख्यामध्ये आधाभन्दा बढी पनि त्यहीँ छन्।
अहिले काठमाण्डूमा ४,००४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जनामा कोभिड पुष्टि भएको हो। यससँगै उपत्यकामा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या २४, ५७६ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२, ८२८ नमुना परीक्षण गर्दा १०,२५८ जनामा कोभिड पुष्टि भएको हो। मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणले ज्यान गुमाउनेको सङ्ख्या एक छ भने ५६२ बिरामी निको भएका छन्।
तीव्र गतिमा फैलिँदै सङ्क्रमण
नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला परेपछि सङ्क्रमितको सङ्ख्या गत सातादेखि निरन्तर बढिरहेको छ।
पौष १८ मा देशभरि केवल २१६ जनामा कोभिड पुष्टि भएकोमा २५ गतेदेखि १,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि हुन थालेको हो।
कोभिड महामारीको सम्भावित तेस्रो लहरमा दैनिक पुष्टि भएका सङ्क्रमितको सङ्ख्या पहिलो पटक १० हजार नाघेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
विज्ञहरूले अतिसङ्क्रमित मानिएको ओमिक्रोनकै कारण सङ्क्रमण तीव्र गतिमा फैलिएको आशङ्का व्यक्त गरेका छन्।
तर सरकारले ओमिक्रोनको सङ्ख्याबारे थप विवरण दिएको छैन।
यसअघि डेल्टा भेरिअन्टका कारण महमारीको दोस्रो लहर नेपालमा देखिएको समयमा गएको वैैशाखमा सङ्क्रमण उच्चबिन्दुमा पुगेको थियो।
त्यस बेला वैशाख २९ गते सार्वजनिक गरिएको २४ घण्टाको विवरणमा २०, ७८६ नमुना परीक्षण गर्दा ९,३०५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
अहिलेसम्म सबैभन्दा उच्च सङ्क्रमण पुष्टि दर वैशाख २७ गते ५१.७८ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सङ्क्रमण पुष्टि दर पनि उकालो लाग्दै
विगत २४ घण्टामा १७ हजार आठ सय वटाभन्दा बढी नमुनाको पीसीआर विधिबाट र झन्डै पाँच हजार वटाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो।
पीसीआर विधिबाट परीक्षण गरिएका नमुनामध्ये झन्डै ४९ प्रतिशतमा कोभिड पुष्टि भएको छ।
एन्टिजन विधिबाट गरिएका परीक्षणमा झन्डै ३१ प्रतिशत नमुनामा सङ्क्रमण पुष्टि भयो।
कहाँ छन् सङ्क्रमित?
काठमाण्डू उपत्यकाबाहेक मोरङ जिल्लामा पनि ५०० भन्दा बढी सङ्क्रमित फेला परेका छन्।
सोमवारको विवरणअनुसार १५१ जना बिरामी आईसीयूमा र २८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
सरकारले तोकेका आइसोलेशन सेन्टर र अस्पतालमा भर्ना भएकाले बिरामीको सङ्ख्या १,२०० भन्दा बढी छ।
आइतवार झन्डै १७,५०० वटा नमुना परीक्षण गरिएकोमा ३८.५ प्रतिशतमा सङ्क्रमण देखिएको थियो।
पीसीआर विधिबाट परीक्षण गरिएका १४ हजारभन्दा बढी नमुनामध्ये ४१ प्रतिशत भन्दा बढीमा कोभिड-१९ पाइएको थियो।
यसको सङ्केत के हो?
सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी अझै पनि नेपालमा एकदमै कम परीक्षण भइरहेको भन्दै यसलाई व्यापक विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँछन्।
त्यसो नगरेसम्म सङ्क्रमण समुदायमा कुन स्तरमा फैलिएको छ भन्ने वास्तविक चित्र नआउने तर्क गर्दै उनले परीक्षणको दायरा बढाउनुका साथै मानिसहरूले थप सावधानीका उपायहरू अवलम्बन गर्नुपर्ने बताए।
कोभिड-१९ को परीक्षण शुल्क धेरैले धान्नै नसक्ने भएको भन्दै उनले सरकारले यस विषयलाई प्राथमिकतामा नराखेको टिप्पणी गरे।
परीक्षणबाहेक सङ्क्रमितसँग सम्पर्कमा पुगेका व्यक्तिको पहिचान र क्वारन्टीनजस्ता विषय पनि सरकारको कम प्राथामिकतामा परेको उनको बुझाइ छ।
महामारी तीव्र रूपमा फैलिरहेका हुनाले भिडभाड हुने वैवाहिक समारोह तथा अरू सबै खालका सामाजिक गतिविधि केही समयका लागि रोक्नुपर्ने डा. सुवेदीको उनको सुझाव छ।
डा. सुवेदीका सुझावमा अहिले देखा परिरहेको सङ्क्रमणको सन्दर्भमा व्यक्तिगत स्तरमा गर्नुपर्ने कामहरू यस्ता छन्:
- हावा नछिर्ने खालका सर्जिकल वा एन९५ मास्कको प्रयोग गर्नुपर्छ
- भिडमा नजाने वा भिडभाड नगर्ने
- विवाह, व्रतबन्धजस्ता कार्यक्रम सम्भव भएसम्म स्थगित गर्ने
- अत्यन्त जरुरी नभएसम्म अस्पताल नजाने
- परिवारमा कसैलाई ज्वरो आएको छ खोकी लागेको छ भने सतर्क हुने, छुट्टै बस्ने र आफ्नो पनि परीक्षण गराउने
- परिवारका सदस्यलाई सङ्क्रमण देखिएको अवस्थामा आफू पनि बाहिर काममा नजाने
राज्यले अब के गर्नुपर्छ
डा. सुवेदीको विचारमा अहिलेको अवस्थामा राज्यले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र क्वारन्टीनमा बल गर्नुपर्छ।
उनले दिएका थप सुझाव यस्ता छन्ः
- परीक्षणको मूल्य ज्यादै चर्को भएकाले त्यसलाई घटाउन कदम चाल्नुपर्ने
- प्रयोगशालाहरूमार्फत् चौबीसै घण्टा नमुना सङ्कलन गरिने कुरा सुनिश्चित गर्नुपर्ने
- हरेक वडामा पीसीआर गर्ने बूथ स्थापना गर्नुपर्ने
- गुणस्तरीय एन्टिजन किटको आपूर्ति सुनिश्चित गर्दै त्यसको अनुगमन गर्नुपर्ने
- अस्पताललाई जोगाउनुपर्ने, स्वास्थ्यसंस्थाहरूमा मापदण्ड पालना भए नभएको अनुगमन गर्नुपर्ने
थप तथ्याङ्क
नेपालमा अहिलेसम्म कोभिड महामारीका कारण ११,६०० भन्दा बढी मानिसले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ।
अहिलेसम्म पीसीआर र एन्टिजन विधिबाट ५९ लाख ३२ हजार वटाभन्दा बढी नमुना परीक्षण गरिएको छ।
त्यस क्रममा नौ लाख ७२ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ।
आधिकारिक तथ्याङ्कमा उक्त सङ्ख्या उल्लेख भएपनि त्योभन्दा कैयौँ गुना बढी मानिसमा सङ्क्रमण भएको र उनीहरूले कोभिडका कारण ज्यान गुमाएको विज्ञहरूको अनुमान छ।