विषालु तुवाँलोको असरबाट कसरी जोगिने

    • Author, भिक्टोरिया लिन्ड्रिया
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ६ मिनेट

भारत र पाकिस्तानका विभिन्न भागहरू अहिले विषाक्त तुँवालोबाट प्रभावित भएका छन्। भूउपग्रहबाट प्राप्त तस्बिरमा लाहोर र दिल्लीको आकाशमा प्रदूषित वायुका कारण बनेको बाक्लो र पोल्ने खालको कुहिरो फैलिएको देखिन्छ।

दिल्ली र लाहोर विश्वभरिका अतिप्रदूषित सहरमध्ये पहिलो र दोस्रो स्थानमा रहेको विश्वभरि वायुको गुणस्तर निगरानी गर्दै आएको संस्था 'आईक्यूएअर'ले जनाएको छ।

नेपालमा पनि वायु दूषित छ। केही दिनदेखि देशका विभिन्न स्थानमा धुवाँमिश्रित तुँवालो फैलिएको छ। शनिवार बिहान काठमाण्डू उपत्यका वायु गुणस्तरको सूचकाङ्कका आधारमा विश्वका प्रदूषित सहरको सूचीमा शीर्ष १५ स्थानभित्रै थियो।

एक्यूएअरका अनुसार लाहोरमा शुक्रवार वायुको गुणस्तर देखाउने सूचकाङ्क 'एअर क्वालिटी इन्डेक्स' (एक्यूआई) ८०० पुगेको थियो। त्यहाँ एक करोड ४० लाखभन्दा बढी मानिसको बसोबास छ।

उक्त सूचकाङ्क ३०० भन्दा माथि पुग्दा खतरनाक मानिन्छ। पाकिस्तानमा यसै महिनाको सुरुतिर एक्यूआई १,९०० सम्म पुगेको थियो।

त्यहाँ विद्यालय तथा सार्वजनिक उद्यानहरू बन्द भएका छन् भने काम गर्ने समय घटाइएको छ। भवनबाहिर गरिने गतिविधिमा पनि रोक लगाइएको छ।

हानिकारक तुँवालो फैलिएको ठाउँमा बस्ने मानिसहरू कसरी त्यसका दुष्प्रभावबाट जोगिन सक्छन् र ती कदमहरू कति प्रभावकारी छन् त?

विषाक्त वायुका कारण मानिसहरू बिरामी पर्ने गरेका छन्।

खुला ठाउँको अर्थात् बाह्य वायु प्रदूषणका कारण सन् २०१९ मा विश्वभरि ४२ जनाको अकाल मृत्यु भएको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले देखाएको छ।

'पीएम' भनिने धूलोका ससाना कणहरू फोक्सोबाट रक्तनली हुँदै शरीरभित्र पुग्छन्। तिनले मुटुको रोग, पक्षाघात अथवा फोक्सोको क्यान्सरसम्म निम्त्याउन सक्छन्।

शुक्रवार दिल्ली र लाहोरमा एक्यूआई क्रमशः ८०२ र ८०० थियो। दुवै सहरमा पीएम२.५ स्वीकार्य मात्राभन्दा ९५ गुना बढी भएको एक्यूएअरले जनाएको छ।

साढे दुई मिलिमिटर वा त्यसभन्दा साना धूलोका कणलाई पीएम२.५ को वर्गमा राखिन्छ। त्यस्ता कणले फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउन सक्छन्। पीएमको मात्रा १०१ देखि २०० µg/m³ सम्म हुनुलाई मध्यम मानिन्छ भने २०१ देखि ३०० सम्म हुनुलाई कमजोर। त्यसभन्दा बढी मात्रामा पीएम२.५ हुनु भनेको वायुको गुणस्तर “अत्यन्त कमजोर” हुनु हो भने ५०० µg/m³ भन्दा माथिको मात्रालाई “चरम” मानिन्छ।

“ब्याक्टेरिया अथवा भाइरल सङ्क्रमण, धुवाँ, धुलो वा रासायनिक पदार्थका कारण आँखा रातो हुने समस्या फैलिएको छ र तिनबाट जनस्वास्थ्यमा गम्भीर तथा अवश्यम्भावी खतरा निम्तिएको छ,” पाकिस्तानस्थित पन्जाब राज्यको सरकारले सप्ताहान्ततिर भनेको थियो। स्वास्थ्य अधिकारीहरूका अनुसार सो क्षेत्रमा दम, घाँटी चिलाउने र खोकी लाग्ने समस्या लिएर आएका ४०,००० भन्दा बढी मानिसको अस्पतालमा उपचार गरिसकिएको छ।

सुसूचित हुनुहोस्, घरभित्रै बस्नुहोस्

उसो भए आफू जोगिन तपाईँले के गर्न सक्नुहुन्छ त?

अनलाइन अथवा एपको प्रयोग गरी स्थानीय समाचार र वर्ल्ड एअर क्वालिटी इन्डेक्समार्फत्‌ वायुको गुणस्तरबारे ताजा जानकारी लिइराख्नुहोस्।

स्वास्थ्य अधिकारीहरूले दूषित वायुका कारण तुवाँलो लागेका बेला खास गरी बालबालिका, वृद्धावृद्धा तथा रोगीहरूलाई घरबाहिर ननिस्किन सुझाव दिने गरेका छन्।

एक्यूआई १०० भन्दा माथि पुग्दा “संवेदनशील समूहहरूका लागि त्यो अस्वस्थकर हुने” चिकित्सकहरू बताउँछन्।

नाक र मुख ढाकिने गरी मास्क लगाउनुहोस्

यदि घरबाहिर ननिस्की नहुने अवस्था छ भने जोगिने केही सरल उपायहरू अपनाउन सकिन्छ। त्यसका लागि अनुहार ढाक्नु उपयुक्त हुन्छ। विशेष गरी मुख र नाक छोप्नुहोस्।

अङ्ग्रेजीमा 'स्मग' भनिने तुवाँलोमा धुवाँ र कुहिरो मिसिएको हुन्छ। त्यो खैरो र बाक्लो हुन्छ अनि केही पोलेको जस्तो गन्ध हुन्छ र तिक्तताका कारण फोक्सोमा जलन हुन्छ।

हामीले लिने साससँगै शरीरभित्र सक्ने दूषित वायुमा भएका कणहरूलाई मास्कले छेकिदिन्छ। तर कस्तो मास्क प्रयोग गरिँदै छ अनि अनुहारमा कत्तिको मिलेको छ भन्ने कुरामा त्यो निर्भर गर्छ।

सन् २०२० मा गरिएको एउटा अध्ययनका अनुसार कपडाका मास्कले धुलोका कणलाई न्यून मात्रामा मात्रै रोक्छन् भने फिल्टरसहित विभिन्न तह हुने N95 (अथवा FFP2) मास्कहरूले पूर्ण रूपमा नभए पनि धेरै हदसम्म कणलाई रोक्छन्।

डब्ल्यूएचओका अनुसार FFP2 (युरोपेली मापदण्डबमोजिम) ले वायुमा भएका कणहरू कम्तीमा ९४ प्रतिशत रोक्नुपर्छ भने N95 (अमेरिकी मापदण्डबमोजिम) ले कम्तीमा ९५ प्रतिशत रोक्नुपर्छ।

मास्क नै नलाउनुभन्दा जुनसुकै मास्क भए पनि लगाउनु उत्तम हुन्छ। कपडाको मास्कभन्दा व्यापक स्तरमा पाइने 'सर्जिकल मास्क'हरूले वायु प्रदूषणबाट धेरै सुरक्षा दिन्छन्। तर ठूलो कणलाई मात्र तिनले रोक्छन् र तिनको प्रयोग एक पटक मात्र गर्नुपर्ने हुन्छ।

अनुहारमा ठिक्कसँग मिलेको र ठाउँमा रहेको अवस्थामा मास्कहरूले मध्यम खालको सुरक्षा दिन्छन्। तर तिनलाई नियमित रूपमा समयमै फेर्नु वा धुनुपर्छ।

मास्क लगाउँदा अनुहारको आकृति र दाह्रीजुँगाबारे पनि ख्याल गर्नुपर्छ। मास्क मुख र नाक छोप्ने गरी लगाउनुपर्छ।

आरामपूर्वक सास फेर्नुहोस्

झ्याल अथवा ढोका खोल्दा हामी बाहिरका कुरा भित्र आउन दिन्छौँ। त्यसरी भित्र आउनेमा विषालु तुवाँलो पनि हुन्छ। त्यसैले बाक्लो तुवाँलो लागेका बेला सम्भव भएसम्म झ्याल तथा ढोकाहरू बन्द नै राख्नुपर्छ।

तुवाँलोको असरसँग जुझ्ने अर्को एउटा उपाय भनेको हावा शुद्धीकरण गर्ने उपकरण 'एअर प्युरिफाइअर' हो।

एक ठाउँबाट अर्को ठाउँ लग्न मिल्ने यो उपकरणले हावामा भएका कणहरू सोसेर हावालाई शुद्ध बनाउने काम गर्छ।

उच्चतम गुणस्तरको फिल्टर भनेको हेफा (हाई इफिशन्सी पार्टिक्युलेट एअर) हो जुन सामान्यतया अत्याधुनिक विमानहरूमा हुने गर्छ।

मान्यताप्राप्त हेफा फिल्टरहरूले “०.३ माइक्रोनसम्मका ९९.९७ प्रतिशत कणलाई छेक्ने र सोस्ने गर्छन्।”

तर आकारले फरक पार्छ। एअर प्युरिफाइअर कोठाको आकार सुहाउँदो हुनुपर्छ र फिल्टर परिवर्तन गरिराख्नुपर्छ।

प्रतिरोधी क्षमता बढाउनुहोस्

तुवाँलो लागेको ठाउँमा काम गर्ने मानिसहरूलाई आफ्नो शरीरको प्रतिरोध क्षमता बढाउने खालका गतिविधि गर्न र दुष्प्रभावबा जोगिन चिकित्सकहरू सुझाउँछन्।

बाहिर जान नमिल्दा व्यायामहरू गर्न कठिन हुन सक्ला। तर विज्ञहरू आफूलाई सक्रिय राख्न, स्वस्थकर आहार गर्न र पर्याप्त पानी पिउन सुझाउँछन्।

खास गरी प्रदूषणकै कारण हुने खोकी लाग्ने, घाँटी वा टाउको दुख्ने जस्ता समस्याले बिसन्चो महसुस भएमा बाफ लिनु र वनस्पति चिया पिउनु राम्रो हुन्छ।

प्रदूषणका असर

मानिसको शरीरभित्र विभिन्न आकारका धुलोका कणहरू फेला परेका छन्। त्यसैले विज्ञहरू सकेसम्म आफूलाई प्रदूषणबाट जोगाउन सुझाउँछन्।

कुनै प्रकारका उपाय अवलम्बन गरिएन भने प्रदूषणको असर स्पष्ट छ - कुनै उमेर समूहका मान्छेमा त्यसविरुद्ध लड्ने प्रतिरोधी क्षमता हुँदैन।

ठूला कणहरू नाकमा गएर बस्छन् भने पीएम२.५ जस्ता साना कणहरू फोक्सो र रक्तनलीसम्म पुग्छन् जसले मानिसमा दम, हृदयाघात र मस्तिष्काघातको ठूलो जोखिम निम्त्याउँछ।

वैज्ञानिकहरूले प्रदूषण र विस्मृतिको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेका छन्।

सन् २०१८ मा गरिएको एउटा बृहत् चिनियाँ अध्ययनले उच्च स्तरको प्रदूषणका कारण सङ्ज्ञानात्मक क्षमतामा कमी आएको देखाएको थियो।

विज्ञानले विकासहरू गरिहँदा हामी श्वासप्रश्वासमार्फत् शरीरभित्र जाने कणबारे सजग रहनुपर्छ र सरकारले आवश्यक नीति अवलम्बन गरिनसकेको पृष्ठभूमिमा जोगिनका लागि आफैँले यथासम्भव प्रयास गर्नु बुद्धिमत्ता हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।