सङ्घर्षविराम दुई दिन थपिएको कतार, हमास र अमेरिकाको भनाइ, इजरेल हालसम्म मौन

Published

हमास र इजरेलबीचको अस्थायी सङ्घर्षविराम अन्तर्गत लगातार चौथो रात पनि इजरेली बन्धकहरू र प्यालेस्टिनी कैदीहरू साटासाट गरिएको छ।

स्थानीय समय अनुसार सोमवार मध्यरातमा इजरेली जेलबाट थप ३३ जना प्यालेस्टिनीहरूलाई रिहा गरिएको थियो।

त्यसअघि हमासले फ्रान्स, जर्मनी तथा आर्जेन्टिनाका दोहोरो नागरिकता भएकासमेत थप ११ जना इजरेली बन्धकहरूलाई मुक्त गरेको थियो।

त्यसरी मुक्त हुने इजरेलीहरूमा तीन वर्षीय जुम्ल्याहा पनि छन्।

हमासले मुक्त गरेका इजरेलीको सङ्ख्या ५० भन्दा बढी भएको सोमवार राति इजरेलले जनाएको छ।

इजरेलले मुक्त गरेका प्यालेस्टिनी कैदी बन्दीहरूमा थप ३० जना बालबालिका र तीन जना महिलाहरू रहेको दाबी गरिएको छ।

विपिन जोशीको अवस्था के छ?

हमासले बन्धकहरू छाडिरहेको भए पनि उसको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन।

अधिकारीहरूले उनलाई छुटाउन पहल भइरहेको बताएका छन् भने परिवारका सदस्यहरूले आफूहरूको चिन्ता बढिरहेको बीबीसीलाई बताएका छन्।

नेपालका परराष्ट्र मन्त्रालयले हमाससँग सीधै कुराकानी गर्न आफूहरूसँग सम्पर्कको उपाय नरहेको तर उसँग नियमति कुारकानी गर्ने तथा मध्यस्थतामा संलग्न कतारमार्फत् जोशीको मुक्तिका लागि पहल गरिएको बताएका छन्।

नेपालले इजिप्टलाई पनि पत्र लेखेरै उनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको बताइएको छ।

गाजामा सहायता सामग्री बोकेका थप ट्रकहरू त्यहाँ प्रवेश गरेका छन् भने कति प्रवेशको तयारीमा छन्।

संयुक्त राष्ट्रसङ्घसहित सहायता निकायहरूले त्यहाँ पर्याप्त मात्रामा मानवीय सहायता पुर्‍याउन सङ्घर्षविराम बढाइनुपर्ने बताएका छन्।

‘सङ्घर्षविराम दुई दिन थपियो’

चार दिने अस्थायी सङ्घर्षविराम सकिनै लागेका बेलामा कतारी मध्यस्थकर्ताहरूले उक्त अस्थायी युद्धविराम मङ्गलवार र बुधवार गरी थप दुई दिन बढाइएको घोषणा गरेका छन्।

ह्वाइट हाउसले पनि त्यसलाई पुष्टि गरेको छ तर इजरेलले हालसम्म त्यसबारे आधिकारिक रूपमा केही भनिसकेको छैन।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन कर्बीले हमासले थप गरिएको दुई दिनको समयमा थप २० जना महिला र बालबालिकाहरू मुक्त गर्ने प्रतिबद्धता जनाएको बताएका छन्।

कतार, अमेरिका र हमास सबैले सहमति भएको भन्दै चार दिनको युद्धविरामलाई थप दुई दिन बढाइएको बताइरहेका छन् तर बीबीसीले इजरेलका तर्फबाट त्यसलाई आधिकारिक रूपमा पुष्टि गर्न सकेको छैन।

सोमवार साँझको एउटा पत्रकार सम्मेलनमा इजरेली सेनाका प्रवक्ताले "वास्तवमै नहुँदासम्म केही पनि अन्तिम नहुने” र कतिपय कुराहरूमा “प्रगति भइरहेको” भन्दै धैर्य राख्नुपर्ने बताएका थिए।

उनले ‘अपहरणमा परेका’हरूलाई फिर्ता ल्याउन र हराएकाहरूको खोजीका लागि आफ्नो प्रतिबद्धता जनाउँदै त्यो “अहिलेको खाकाभित्र” वा अर्को चरणको “युद्धबाट” पनि हुनसक्ने बताए।

गाजाको पछिल्लो अवस्था

अक्टोबर ७ मा हमासले इजरेलमा गरेको हमलामा १,२०० जनाभन्दा बढीको ज्यान गयो। उक्त घटनामा १० नेपालीसहित कैयौँ विदशी नागरिकहरू पनि मारिए।

उक्त अप्रत्याशित आक्रमणको प्रतिक्रियामा इजरेलले हमासलाई निमिट्यान्न पार्ने उद्घोषसहित गाजामा सघन सैन्य कारबाही थाल्यो।

तर इजरेली बन्धक र प्यालेस्टिनी बन्दीहरू मुक्त गर्ने सहमति गर्दै इजरेल र हमास चार दिनका लागि सङ्घर्षविराम गर्न तयार भए।

इजरेली हमलामा अहिलेसम्म गाजामा १४,५०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेली प्रधानमन्त्रीले चाहिँ सङ्घर्षविरामको अन्त्यपछि गाजामा इजरेली कारबाही जारी रहने चेतावनी दिएका छन्।

इजरेल र हमासबीच ५० बन्धक मुक्त गर्ने र हमासले थप १० बन्धक मुक्त गरे सङ्घर्षविराम एक दिनले लम्बिने सहमति भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।