तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टी२० विश्वकप विजेता भारतीय टोलीले खेल उल्टाएको अन्तिम पाँच ओभर कस्तो थियो?
टी२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय क्रिकेट टोलीको दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको खेलमा अन्तिम पाँच ओभर निकै महत्त्वपूर्ण थिए।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो।
दक्षिण अफ्रिकालाई जितका लागि १७७ रन चाहिएको थियो तर उक्त टोलीले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो।
दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ३० बलमा ३० रन आवश्यक थियो।
दक्षिण अफ्रिकी टोलीमा ६ ब्याट्सम्यान थिए। १६औँ ओभरमा सो टोलीका हेनरिक क्लासेन र डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गरिरहेका थिए।
क्लासेन २२ बलमा ४९ रन बनाएर मैदानमा थिए भने मिलर ७ बलमा १४ रन बनाएर मैदानमा थिए।
दक्षिण अफ्रिकी टोलीले १५ ओभरसम्म खेललाई आफ्नो पकडमा राखे पनि अन्तिम पाँच ओभरमा भारतीय बलर र फिल्डरले जे जस्तो खेल प्रदर्शन गरे त्यो स्मरणीय रहनेछ।
अन्तिम पाँच ओभरमा भारतीय टोलीले झण्डैझण्डै पराजित हुन लागेको खेललाई कसरी जितमा परिणत गर्यो भनेर यस सामग्रीमा चर्चा गरिएको छ।
बुमराहले चार रन मात्र दिएको १६औँ ओभर
पन्ध्र ओभरपछि दक्षिण अफ्रिका चार विकेटको क्षतिमा १४७ रनमा थियो। क्लासेन ४९ र मिलर १४ रनसाथ खेलिरहेका थिए।
सोह्रौँ ओभरमा भारतीय टोलीका कप्तान रोहित शर्माले बलिङको अवसर जसप्रित बुमराहलाई दिए जसले दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई कसेर राख्न सक्यो। बुमराहले उक्त ओभरमा चार रन मात्र लिन दिए।
बुमराहले उक्त ओभरका तीन बलमा एक रन पनि लिन दिएनन् जसले दक्षिण अफ्रिकाका ब्याट्सम्यानमाथि दबाब बढायो।
आफ्नो अघिल्लो ओभरमा अक्षर पटेलको बलमा दक्षिण अफ्रिकी टोलीले २४ रन बनाएको थियो।
सोह्रौँ ओभरमा जसप्रित बुमराहको सानदार बलिङपछि टिम इन्डियाको आशा एक पटक पुन: बढेको थियो।
हार्दिक पाण्ड्याले क्लासेनलाई प्याभिलियन पठाएको १७औँ ओभर
रोहित शर्माले १७औँ ओभरमा बलिङको अवसर हार्दिक पाण्ड्यालाई दिए। हार्दिकले आफ्नो पहिलो बलमै हेनरिक क्लासेनलाई आउट गरेर प्याभिलियन पठाए।
हार्दिकले ब्याटरबाट धेरै पर अफ साइडमा बल फालेका थिए। बल ब्याटको छेउमा लाग्ने बित्तिकै ऋषभ पन्तले क्याच लिए। उक्त विकेट भारतका लागि ठूलो सफलता बन्यो।
यसपछि नयाँ ब्याट्सम्यान मार्को यान्सेन मैदानमा आए। हार्दिकले दोस्रो बलमा कुनै रन बनाउन दिएनन्।
अब उनको ओभरमा चार बल बाँकी थियो। त्यसमा उनले चार वटा मात्र एकल रन दिए।
उक्त ओभरमा हार्दिकले चार रनमा क्लासेनको विकेट मात्र लिएनन् बरु पूरै खेलको मोड बदल्न सके।
जतिखेर दक्षिण अफ्रिकालाई जितका लागि १८ बलमा २२ रन आवश्यक थियो।
बुमराहले खेल मोडिदिएको १८औँ ओभर
१८औँ ओभरमा बुमराहले खेललाई नयाँ मोड दिन सफल भए।
त्यतिखेर मिलर स्ट्राइकमा थिए भने बुमराहले पहिलो दुई बलमा एक रन पनि बनाउन दिएनन्।
तेस्रो बलमा मिलरले एक रन लिए र यान्सनलाई स्ट्राइक दिए। तर अर्को बलमा बुमराहले यान्सनलाई आउट गरे।
उक्त ओभरमा बुमराहले दुई रन मात्र दिएका थिए।
अठार ओभरपछि दक्षिण अफ्रिकी टोलीको स्कोर ६ विकेटको क्षतिमा १५७ रन थियो।
त्यतिखेर दक्षिण अफ्रिकालाई दुई ओभरमा जितका लागि २० रन आवश्यक थियो।
डेभिड मिलर र केशव महाराज मैदानमा खेलिरहेका थिए।
अर्षदीपले टोलीलाई जितनजिक पुर्याएको १९औँ ओभर
भारतीय टोलीका कप्तान रोहित शर्माले १९औँ ओभरका लागि फास्ट बलर अर्शदीप सिंहलाई रोजेका थिए।
अर्शदीपले यस ओभरमा तीन 'डट बल' प्रहार गरे भने विपक्षी टोलीले चार रन मात्र जोड्न सक्यो।
दक्षिण अफ्रिकालाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक थियो।
दक्षिण अफ्रिकाका लागि खेलिरहेका मिलरले १६ बलमा २१ रन बनाएका थिए।
मिलर अन्तिम ओभरमा समेत भारतका लागि खतरा बनेका थिए।
छ बलमा १६ रन बनाउन सक्ने क्षमताका खेलाडीका रूपमा उनलाई हेरिएको थियो।
अन्तिम ओभरमा भारतलाई जिताएको सूर्यकुमार यादवको 'क्याच'
कप्तान रोहितले निर्णायक अन्तिम ओभरमा बलिङको अवसर हार्दिक पाण्ड्यालाई दिए।
मिलरले हार्दिकको पहिलो बलमा छक्का प्रहार गर्ने प्रयास गरे।
बल 'बाउन्ड्री' रेखा नजिक पुगे पनि सूर्यकुमारले त्यसलाई पार गर्न दिएनन्। बरु बाउन्ड्रीमा उनको सानदार क्याचसँगै पूरै खेल उलटपुलट भइदियो।
सूर्यकुमारले दौडँदै गर्दा बललाई बाउन्ड्री लाइनमा समाते र बल मैदानभित्र फालेपछि मैदान बाहिर गए।
त्यसपछि उनी हतारमा बाउन्ड्री भित्र आए र बललाई समाते। उक्त क्याचले भारतीय क्रिकेट टोलीलाई जितको नजिक पुर्यायो।
त्यसपछि नयाँ ब्याट्सम्यान कासिगो रबाडा मैदानमा आए र आउने बित्तिकै चौका हाने।
त्यतिखेर अफ्रिकी टोलीलाई जितका लागि चार बलमा १२ रन आवश्यक थियो। हार्दिकले पाँचौँ बलमा रबाडालाई आउट गरे भने सूर्यकुमार यादवले अर्को सजिलो क्याच लिए।
अन्तिम बलमा एक रन बन्यो र भारतीय टोलीले टी२० क्रिकेट विश्वकप जित्यो।
हार्दिक पाण्ड्याले अन्तिम चार ओभरमा तीन महत्त्वपूर्ण विकेट लिएर भारतीय टोलीलाई जित दिलाए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।