तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हमासले थप तीन इजरेली बन्धक मुक्त गरेपछि इजरेलद्वारा समेत १८३ प्यालेस्टिनी बन्दी रिहा
प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट दुईजना गाजासिटीबाट एक जना गरि तीन जना इजरेली बन्धक मुक्त गरेको छ।
रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरेल आइपुगेको इजरेल डिफेन्स फोर्सेस आईडीएफले जनाएको छ।
शनिवार नै अर्का बन्धक ६५ वर्षीय किथ सिगल पनि गाजासिटीबाट मुक्त भएका छन्। उनी इजरेल र अमेरिकाको दोहोरो नागरिकता भएका व्यक्ति हुन्।
उनीहरू ज्यानुअरी १९ मा इजरेल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन्।
युद्धविराम सम्झौता अनुसार इजरेलले त्यसको बदलामा १८३ जना प्यालेस्टिनी बन्दीहरूलाई छाडेको छ।
इजरेलले शनिवार छाडेका १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जना भन्दा धेरै लामो अवधिको वा आजीवन कारावास सजाय तोकिएका व्यक्तिहरू रहेको बताइएको छ।
युद्धविरामको सम्झौता अनुसार नै रफाह सीमा नाका गत वर्षको मे महिनामा बन्द भएयता पहिलोपटक खुलेको छ।
जसले गर्दा घाइते अवस्थामा रहेका प्यालेस्टिनीहरू उपचारका लागि इजिप्टतर्फ जान र सहायता बोकेका ट्रकहरू समेत गाजा प्रवेश गर्न सक्नेछन्।
मुक्त हुने बन्धकहरू को हुन्?
बिवासकी श्रीमती र दुई छोराहरूको बन्धक रहेकै अवस्थामा गाजामा मृत्यु भएको ठानिएको छ। बन्धक बनाइँदा उनका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए।
हमासले इजरेली हवाइ हमलामा परेर सन् २०२३ को नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरे तापनि इजरेलले अझै त्यसको पुष्टि गरेको छैन।
काल्दरोनका दुई किशोर सन्तानलाई समेत हमासले सन् २०२३ को नोभेम्बरमा भएको आंशिक युद्धविरामका बेला मुक्त गरेको थियो। उनको परिवारका अन्य दुईजनाको हमासको आक्रमणमा मृत्यु भएको थियो।
सिगलकी बन्धक श्रीमतीलाई समेत सन् २०२३ कै अस्थायी युद्धविरामका क्रममा गाजाबाट मुक्त गरिएको थियो।
चरणबद्ध युद्धविराम
युद्धविराम तथा बन्धक रिहाई सम्झौता अनुसार झण्डै छ साता लामो पहिलो चरणको युद्धविराममा हमासले ३३ जना इजरेली बन्धक छाड्नेछ।
त्यसको बदलामा इजरेली जेलमा रहेका झण्डै १,९०० प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन्।
दोस्रो चरणको सुरुवात पहिलो चरण सुरु भएको १६ दिनपछि हुनेछ। जसक्रममा बाँकी बन्धकहरू रिहा हुनुका साथै त्यहाँबाट पूर्ण रूपमा इजरेली फौज फिर्ता हुनेछन्।
तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि बर्षौँ लाग्नसक्ने जनाइएको छ। यो चरणमा बाँकी बन्धकका शवहरू फिर्ता गरिने बताइन्छ।
हमासले झन्डै १२ सय जनाको ज्यान लिने र २५१ जनालाई बन्धक बनाउने गरी इजरेल भित्र प्रवेश गरेर अक्टोबर ७ मा हमला गरेपछि इजरेलले उनीहरूलाई नस्ट पार्ने भन्दै गाजामा सैन्य कारबाही थालेको थियो।
हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता ४६ हजार ८७० जनाको ज्यान गइसकेको छ।
त्यहाँको २३ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् भने उक्त क्षेत्रमा व्यापक विध्वंस भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।