ज्वालामुखी विस्फोट भएपछि मानिसको मस्तिष्क कडा सिसा बन्यो

ज्वालामुखी विस्फोट भएपछि मानिसको मस्तिष्क कडा सिसा बन्यो
Published

झन्डै २,००० वर्षअघि प्राचीन रोममा भेसुभिअस ज्वालामुखी पर्वत विस्फोटन हुँदा एक युवकको मृत्यु भएको थियो। वैज्ञानिकहरूले अहिले उनको मस्तिष्क सिसा बनेर जोगिएको अवस्थामा भेटिएको जनाएका छन्।

ज्वालामुखीबाट निस्किएको खरानीको निकै तातो बादलले ती व्यक्तिको मस्तिष्कलाई सिसा बनाइदिएको निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्।

सन् २०२० मा उक्त सिसा फेला पर्दा वैज्ञानिकहरूले त्यो वस्तु "जीवावशेष बनेको मस्तिष्क" भएको अनुमान गरेका थिए। उनको पार्थिव अवशेष उनी सुतेकै ठाउँमा फेला परेको थियो। ती व्यक्ति झन्डै २० वर्षका थिए।

उनको खप्परभित्र केराउका दानाजत्रा काला सिसाका टुक्राहरू फेला परेका थिए। मानव अङ्ग वा तन्तुबाट प्राकृतिक रूपमा सिसा बनेको थाहा पाइएको यो अहिलेसम्मको एउटा मात्र उदाहरण हो।

यद्यपि वैज्ञानिकहरूलाई मानिसको अङ्ग कसरी कालो सिसा बन्यो भन्ने कुरा थाहा थिएन। अनुसन्धानकर्ताहरूका अनुसार तापक्रम ५१० °C पुगेको खरानीको बादलले ढाक्दा र त्यो तत्कालै सेलाउँदा मस्तिष्क सिसा बनेको हुन सक्छ।

हर्क्युलेनिअम र नजिकै रहेको पोम्पेई नगर ज्वालामुखीको प्रकोपमा परेका थिए। ती स्थानमा त्यति बेला २०,००० मानिसको बसोबास भएको ठानिन्छ। त्यहाँ १,५०० जनाको अवशेष फेला परेको छ।

वैज्ञानिकहरूले कालो सिसा मस्तिष्कबाट बनेको निधो गर्न एक्स-रे र इलेक्ट्रोन माइक्रोस्कोपबाट परीक्षण गरेका थिए। ती युवकका अरू कुनै अङ्ग सिसा बनेको पाइएन। वैज्ञानिकहरूका अनुसार खप्परले मस्तिष्कलाई जोगाएको हुन सक्छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।