तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत र अस्ट्रेलियाबीचको सन् २००३ र अहिलेको फाइनलमा के फेरिएको छ
- Author, संजय किशोर
- Role, वरिष्ठ खेल पत्रकार, बीबीसी हिन्दीको लागि
- Published
२० वर्ष पहिला २३ मार्च २००३ को दिन विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाको टोली एक अर्कासँग भिडेका भएका थिए।
सौरभ गाङ्गुली र रिकी पोन्टिङ कप्तान थिए। टस भारतले जितेको थियो र पहिले फिल्डिङ्ग गर्ने निर्णय लिएको थियो।
जोहानेसवर्गको वान्डरर्स स्टेडियम करिब ३२ हजार दर्शकहरूले खचाखच भरिएको थियो। म्याच सुरु हुनु अघि दुवै टोलीका खेलाडीहरू लामबद्ध भएका थिए।
भारतको राष्ट्रिय गान बज्दा पुरै रङ्गशाला नै रोमाञ्चित भएको म सम्झन्छु। ती पल शब्दमा व्यक्त गर्न सकिदैँन। संवाददाताको रूपमा म पनि त्यहाँ थिएँ र त्यो सब कुरा अनुभव गरिरहेको थिएँ।
तर केही घण्टाभित्रै गर्वको अनुभव दुखको क्षणमा परिणत भयो। भारतीय टोली फाइनल खेलमा सहजै पराजित बन्न पुग्यो।
अहिले २० वर्षपछि यस्तो लाग्दैछ कि समयको एउटा चक्र पुरा भयो र दुई टोली अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा एक अर्कासँग फेरी भिड्न गइरहेका छन्। त्यसयता धेरै कुरा परिवर्तन भएको छ र इतिहास पनि बदलिन चाहेको देखिन्छ।
सन् २००३ मा अस्ट्रेलियाको टोली शक्तिशाली थियो। भारत दुईवटा म्याच हारेर फाइनलमा पुगेको थियो तर अस्ट्रेलिया अपराजित रहँदै त्यहाँसम्म पुगेको थियो। यसपटक भारतीय टोलीको दबदबा छ र उसले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको छ।
यो पनि रोमाञ्चक छ कि सन् २००३ मा भारतले जस्तै गरी अस्ट्रेलिया पनि दुई वटा म्याच हारेर फाइनलमा प्रवेश गरेको हो।
यो पटक अवस्था किन फरक छ?
त्यो बेला फाइनल एउटा तटस्थ देश दक्षिण अफ्रिकामा खेलाइएको थियो। त्यसबेला दुवै टोलीलाई समर्थन गरिरहेका ३२ हजार दर्शक थिए।
यस पटक १ लाख ३२ हजार दर्शक स्टेडियममा हुनेछन् र उनीहरूको जोस र स्वरले रङ्गशाला गुञ्जायमान हुनेछ। घरेलु दर्शनका सामु भारतको विजय यात्रा रोक्नु कङ्गारु टोलीका लागि सहज हुनेछैन।
यो विश्वकपको आफ्नो पहिलो म्याचमा नै भारतले अस्ट्रेलियालाई पराजित गरिसकेको छ। पहिलो दुई ओभरभित्र तीन विकेट गुमाएपनि त्यो म्याच जित्न भारत सफल भएको थियो।
लीगको उक्त खेलमा विराट कोहलीले ८५ रन र केएल राहुलले नटआउट ९७ रनको योगदान दिएका थिए।
सन् २००३ को विश्वकपको लीग खेलमा ग्लेन म्याक्ग्रा, ब्रेट ली र जेस्सेन गिलेस्पीले भारतको कूल योगफल १२५ रनमा समेटिदिएका थिए।
त्यसबेला अस्ट्रेलियाले २३ औँ ओभरमा नै ९ विकेटले उक्त खेल जितेको थियो।
फाइनलमा जब दोहोर्याएर दुवै टिम भिडिरहेका थिए, त्यसबेला अस्ट्रेलियाका कप्तान रिकी पोन्टिङले १२१ बलमा १४१ रनको योगदान थिए।
अस्ट्रेलियाको ३५९ रनको दबाबमा परेर भारतको ब्याटिङ धरमराएको थियो।
सचिन तेन्दुलकरले चार र सौरभ गाङ्गुलीले २४ रन बनाए।
मोहम्मद कैफ सून्यमा नै आउट भएका थिए।
वीरेन्द्र सहवागले ८२ र राहुल द्रविडले ४७ रन बनाएर केही सङ्घर्ष गरेको भएपनि अस्ट्रेलियाले १२५ रनले जित हासिल गर्दै तेस्रो पटक विश्वकप उपाधि चुमेको थियो।
भारतीय प्रशंसकहरू यस्तै कहानी दोहोरियोस् तर यसपटक विजेताको भूमिकामा भारत होस् भन्ने चाहन्छन्। उनीहरू भारत तेस्रो पटक विश्व विजेता बनेको हेर्न आतुर छन्।
यो विश्वकपको अहिलेसम्मको म्याच हेर्दा भारतीय टोली बढी शक्तिशाली रहेको बुझ्न सकिन्छ।
अधिकांश खेल भारतले जोडदार ढङ्गले जितेको छ र माथिल्लो क्रममा खेल्ने गरेका कप्तान रोहित शर्मा, शुभमन गिल र विराट कोहली उच्च फर्ममा छन्। मध्यक्रमका श्रेयस अय्यर र केएल राहुलले पनि उत्कृष्ट ढङ्गले भूमिका निर्वाह गरिरहेका छन्।
उत्कृष्ट पाँचमा कोही पनि अस्ट्रेलियाका ब्याटर छैनन्
भारतीय बलिङलाई अहिलेसम्मकै सर्वोत्कृष्ट भनिएको छ।
मोहम्मद शमी, जसप्रीत बुमराह र मोहम्मद सिराजले विपक्षी ब्याटरहरूलाई टिक्न दिएका छैनन् भने रविन्द्र जडेजा र कुलदीप यादवले कुनै पनि ब्याटरलाई हाबी हुन दिएका छैनन्।
क्रिकेट एउटा सामूहिक खेल हो र यदि ब्याटिङ, बलिङ अनि फिल्डिङ सबैमा कुनै टोलीले राम्रो प्रदर्शन गरिरहेको छ भने त्यसको विजय यात्रामा ब्रेक लगाउन कठिन हुने गर्छ।
सन् २००३ को प्रदर्शनलाई सम्झिने हो भने भारतीय खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका त थिए तर टोलीको प्रदर्शनको हिसाब गर्दा अस्ट्रेलिया माथि थियो।
त्यो विश्वकपमा सर्वाधिक बढी ६७३ रन सचिन तेन्दुलकरले जोडेका थिए। दोस्रोमा रहेका सौरभ गाङ्गुलीले ४६५ र तेस्रोमा रहेका रिकी पोन्टिङले ४१५ रन जोडेका थिए।
यसपाली सबै पुराना कीर्तिमानहरू तोड्दै फाइनल अगावै विराट कोहलीले ७११ रन बनाइसकेका छन्। दोस्रो स्थानमा ५५० रन बनाएका भारतीय कप्तान रोहित शर्मा छन्।
अस्ट्रेलियाका कुनै पनि ब्याटर माथिल्लो ५ स्थानमा छैनन्। छैटौँ स्थानमा रहेका डेविड वार्नरले ५२८ रन जोडेका छन्।
फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान रोहित शर्माले भनेका छन्, “विश्वकप सुरु हुनु भन्दा अगाडि मेरो योजना यस्तै क्रिकेट खेल्ने थियो। मलाई यसले काम गर्छ कि गर्दैन थाहा थिएन।”
उनले थपे, “म धेरै उत्साहित हुन चाहन्न। दबाब लिन चाहिरहेको छैन। मलाई लाग्छ, म्याचको दिन उत्कृष्ट क्रिकेट खेल्नुपर्छ। मैले पछिल्लो १० म्याचमा जे गरे त्यसले कुनै फरक पर्दैन। हो, आत्मविश्वास चाहिँ साँच्चिकै मिल्छ।”
भारतीय बलरहरूको चमत्कार
सन् २००३ को विश्वकपमा सबैभन्दा बढी २३ विकेट श्रीलङ्काका चामिन्डा वासले लिएका थिए। ब्रेट लीले २२ र ग्लेन म्याक्ग्राले २१ जनालाई आउट बनाएका थिए। भारतका जहिर खानले १८ विकेट लिएर चौथो स्थानमा आफूलाई उभ्याएका थिए। जवागल श्रीनाथले १६ र आशीष नेहरा १५ विकेट लिएका थिए।
यो पाली जम्मा ६ वटा म्याचमा २३ विकेट लिएर मोहम्मद शमीले हलचल मच्चाइदिएका छन्। अस्ट्रेलियाका एडम जाम्पाले १० म्याचमा २२ विकेट लिएका छन्।
जसप्रीत बुमराह १८ विकेटसहित पाँचौँ स्थानमा छन्। यो पाली भारतका दुई बलर उत्कृष्ट पाँचमा छन् तर सन् २००३ मा जम्मा एक जना त्यो सूचीमा थिए।
कप्तान रोहित शर्माले पहिलो चार म्याचमा शमीलाई नखेलाएकोमा प्रस्टीकरण दिएका छन्। “शमीको लागि पहिलो चार म्याच नखेल्नु कठिन थियो। तर उनले लगातार बुमराह र सिराजलाई मद्दत गरिरहेका थिए। यसले देखाउँछ कि उनी कति शानदार टीम प्लेयर हुन्”
उनले भारतले टी २० विश्वकप र वर्ल्ड टेस्ट च्याम्पियनशिप फाइनल पनि खेलेको उल्लेख गर्दै आफूहरूले सही खेलाडीको छनौट गर्दै आएको बताए।
“हामीले प्रत्येकको भूमिका प्रस्ट गरिदिएका छौँ। यसले हामीलाई एकदमै मद्दत मिलेको छ र हामीलाई विश्वास छ कि हामी फाइनलमा पनि उत्कृष्ट खेल्नेछौँ।”
यस कारण अस्ट्रेलियालाई हल्का लिनु हुँदैन
तर भारतीय टोलीले कुनै पनि सानो लापरबाही पनि गर्नुहुँदैन। अस्ट्रेलियाको क्रिकेट टोली एउटा मजबुत इतिहास बोकेको टोली हो। पाँच पटक विश्वकप उपाधि चुमेको टोलीलाई फाइनल कसरी जित्ने थाहा हुन्छ।
आफ्नो पहिलो दुईवटा खेल हारेपछि, कैयौँ मानिसहरूले अस्ट्रेलियाको जितलाई इन्कार गरिदिएका थिए। तर उक्त टोली मानसिक रुपमा कहिल्यै पनि कमजोर देखिएन।
कङ्गारू टोलीले मजबुत पुनरागमन जनायो र आफ्नो पछिल्लो सातमध्ये सबै म्याच जित्यो र सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएर आठौँ पटक विश्वकप फाइनलमा पुगेको हो।
खेलाडीहरूको व्यक्तिगत प्रदर्शनले यो पाली अस्ट्रेलियालाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिएको छ।
सेमिफाइनलमा जस हेजलवुड र मिचेल स्टार्कले देखाएको जुझारुपन भारतका लागि एउटा खतराको घण्टी हुनसक्छ। ट्रेविस हेड र ग्लेन मैक्सवेलले बीचको ओभरहरूमा रनको गतिलाई नियन्त्रण गर्ने प्रयास गर्नेछन्।
आँकडाको कुरा गर्ने हो भने भारत र अस्ट्रेलिया विश्वकपमा १३ पटक आमान्ने सामुन्ने भएका छन् र फाइनलमा एकपटक भिडेका छन्। १३ म्याचमध्ये अस्ट्रेलियाले आठ र भारतले पाँच म्याच जितेका छन्।
कुल मिलाएर एक दिवसीय प्रतिस्पर्धामा दुवै टोलीबीच १५० पटक प्रतिष्पर्धा भएको छ जसमा ८३ पटक अस्ट्रेलियाले बाजी मारेको छ भने ५७ पटक भारत विजयी भएको छ।
भारतले २८ वर्षपछि सन् २०११ मा वनडे विश्वकप जितेको थियो। रोहित शर्मा त्यो बेला टिममा सहभागी गराइएको थिएन।
उनी भन्छन्, “२०११ मेरो लागि भावुक र अप्ठेरो समय थियो तर म यो स्तरलाई लिएर एकदमै खुसी छु। मैले कहिल्यै पनि फाइनलमा टोलीको नेतृत्व गर्छु भन्ने कुरा सोचिनँ। म टोलीमा आफ्नो स्थानमात्रै बनाउन चाहन्थेँ।”
रोहित शर्मालाई महानतम कप्तानमा आफ्नो नाम समावेश गर्ने एउटा सुनौलो मौका यो विश्वकपले दिएको छ।
हालै उनले भनेका थिए, “अहिले समय आएको छ, तर भाग्यले पनि तपाईँलाई थोरै साथ दिनुपर्छ। हामी पराक्रमी भएर खेल्नेछौँ र आशा गर्छौँ भाग्यले पराक्रम गर्नेलाई नै साथ दिनेछ।”
सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेयता भारतले आईसीसीको कुनै उपाधि जितेको छैन। यस्तो अवस्थामा रोहित शर्मा र उनको टोलीले एउटा इतिहास बनाउन चाहनेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।