मस्को आक्रमण: चार जनाविरुद्ध आतङ्ककारी गतिविधि गरेको भन्दै मुद्दा दायर

    • Author, ग्रेअम बेकर
    • Role, बीबीसी न्यूज
  • Published

रुसको राजधानी मस्कोस्थित एउटा कन्सर्ट हलमा आक्रमण गरी कम्तीमा १३७ जनाको ज्यान लिएको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

अभियोग लागेकामध्ये तीन जनालाई आँखामा पट्टी बाँधेर एउटा अदालतमा उपस्थिति गराइएको थियो भने चौथो व्यक्ति ह्वील्चेअरमा थिए। उनीह सबैमाथि आतङ्कवादी गतिविधि गरेको अभियोग लगाइएको छ।

इस्लामिक स्टेट समूह अर्थात् आईएसले गत शुक्रवार क्रोकस सिटी हलमा भएको आक्रमणको जिम्मेवारी लिँदै भिडिओ पोस्ट गरेको छ।

युक्रेनमाथि आरोप

रुसी अधिकारीहरूले कुनै प्रमाण नदिई मस्कोमा भएको उक्त आक्रमणमा युक्रेन संलग्न भएको आरोप लगाएका छन्। युक्रेनले त्यसलाई "निरर्थक" भनेको छ।

रुसले दलेर्जोन मिर्जोएभ, साइदाक्रमी मुरोदाली राचाबालिजोदा, शम्सिदिन फारिदुनी र मुहम्मदसोबिर फायोज नाम गरेका चार जनालाई आतङ्कवादी गतिविधिमा संलग्न भएको अभियोग लगाएको हो।

भिडिओमा चार जनामध्ये तीन जनालाई आँखामा पट्टी बाँधेर मास्क लगाएका प्रहरीहरूले अदालत लिएर गएको देखिन्छ। ती सबैको शरीरमा चोटपटक लागेको देखिन्छ।

मिर्जोएभ र राचाबालिजोदाको आँखा सुन्निएको र वरिपरि कालो डाम भएको अनि कानमा पट्टी बाँधिएको देखिन्थ्यो। उनीहरूलाई पक्राउ गर्दा यातना दिइएको विवरण बाहिर आएका छ।

फारिदुनीको अनुहार धेरै सुन्निएको देखिन्छ। फायजोभलाई ह्वील्चेअरमा अदालतमा उपस्थित गराइएको थियो। उनको एउटा आँखा फुटेको रोएटर्स समाचारसंस्थाले जनाएको छ।

अदालतले के भन्यो?

अदालतले टेलिग्राममा सार्वजनिक गरेको एउटा विज्ञप्तिमा मिर्जोयेभ ताजिकिस्तानका नागरिक भएको र उनले "आफ्नो अपराध पूरै स्वीकार गरेको" जनाएको छ। राचाबालिजोदाले पनि "आफ्नो अपराध स्वीकारेको" त्यसमा जनाइएको छ।

अदालतका अनुसार अभियोगबारे सुनुवाइ हुनुपूर्व चारै जनालाई कम्तीमा मे २२ सम्म हिरासतमा राखिने छ।

मस्कोको बाहिरी क्षेत्रमा रहेको क्रोकस सिटी हलमा आयोजित रक कन्सर्टमा झन्डै ६,००० मानिस भेला भएको थिए। त्यहाँ भएको आक्रमणको केही घण्टाभित्रै ती चार जनालाई गरिएको थियो।

आक्रमणका क्रममा त्यहाँ आगो लागेको थियो र हलको छत पनि खसेको थियो।

रुसी अधिकारीहरूले उक्त आक्रमणमा १३७ जना मारिएको र १०० जनाभन्दा बढी घाइते भएको बताएका छन्।

आईएसको भिडिओमा के छ

आईएसले आक्रमणको केही घण्टाभित्रै त्यसको जिम्मा लिएको थियो र उसले इस्लामिक स्टेट इन खोरासान (आईएस-के) ले उक्त आक्रमण आफूले गरेको दाबी गरेको थियो।

उक्त समूहले पछि आक्रमणको बीभत्स भिडिओ फुटेज सार्वजनिक गरेको थियो। बीबीसीले उक्त भिडिओ वास्तविक भएको पाएको छ।

यद्यपि रुसी अधिकारीहरूले उक्त दाबी स्वीकार गरेका छैनन्। बरु उनीहरूले प्रमाणबिनै युक्रेनी सहयोगमा ती आक्रमणकारीले उक्त घटना गराएको आरोप लगाएका छन्।

उनीहरूले ती आक्रमणकारीहरूलाई ब्रायान्स्क क्षेत्रबाट युक्रेनतिर प्रवेश गर्न खोज्दै गर्दा पक्राउ गरिएको पनि बताएका छन्।

युक्रेन के भन्छ

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतवार रुसी आरोपको खण्डन गरेका छन्।

युक्रेनी सैन्य गुप्तचर निर्देशनालयले आक्रमणकारी भनिएका व्यक्तिहरूले सीमा पार गर्न लागेका थिए भन्ने दाबी "निरर्थक" रहेको बताएको छ।

हजारौँ रुसी सैनिकहरूले सुरक्षा दिइरहेको स्थान हुँदै ती मानिकस अर्को देशतर्फ जाँदै थिए भन्ने कुरा अपत्यारिलो भएको तर्क गरेको छ।

उक्त आक्रमणका लागि सहयोग गरेको आरोपमा रुसले थप सात जनालाई पनि पक्राउ गरेको छ।

अमेरिकी चेतावनी

अमेरिकाले यसै महिनाको सुरुमा मस्कोलाई रुसमा ठूलो आक्रमण हुन सक्ने चेतावनी दिएको थियो। उसले त्यसपछि आफ्ना नागरिकका लागि 'एड्भाइजरी' पनि जारी गरेको थियो।

क्रेम्लिनले त्यसलाई ‘अमेरिकी प्रचारबाजी’ र रुसमा हुन लागेको राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्न गरिएको प्रचारका रूपमा लियो।

आक्रमणपछि वाशिङ्टनले आईएसले आक्रमण गरेकोमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको बतायो।

आईएस र उसका सहयोगीहरूले रुस वा अन्यत्र रुसी चासोका स्थानमा आक्रमण गरेको यो पहिलो पटक होइन।

आईएसले सन् २०१५ मा इजिप्टमा रुसी विमानमा आक्रमण आफूले गरेको दाबी गरेको थियो। त्यसमा २२४ जना यात्रु थिए र तीमध्ये अधिकांश रुसी नागरिक थिए।

उक्त समूहले सेन्ट पिटर्सबर्ग मेट्रोमा सन् २०१७ मा बम आक्रमण गरेको पनि दाबी गरेको थियो। उक्त घटनामा १५ जनाको ज्यान गएको थियो।

सुरक्षाविज्ञहरू आईएसलाई ध्वस्त पार्ने उद्देश्यले रुसले सिरिया तथा त्यहाँका राष्ट्रपति बसर अल असदलाई सहयोग गरेको हुनाले रुस आईएसको निसानामा पर्ने गरेको ठान्छन्।

त्यस्तै मस्कोले मुस्लिमबहुल चेच्न्यामा सन् १९९४ र २००० मा रक्तपातपूर्ण लडाइँ गरेको तथा सोभियत सङ्घका बेलामा अफगानिस्तानमा नियन्त्रण गरेको हुनाले पनि आईएसलाई रुसविरोधी बनाएको उनीहरूको विश्लेषण छ।

आईएस-केले मुख्यत: अफगानिस्तान र मध्यएशियामा आक्रमणहरू गर्ने गरेको छ। उक्त क्षेत्रको पुरानो नामका आधारमा उसले आफ्नो नाम राखेको छ।

यसलाई आईएसको सबैभन्दा बलियो र सक्रिय समूह मानिन्छ। उक्त समूहले अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानमा पनि घातक विस्फोटनहरू गराएको थियो।

उसका प्रचारसामग्रीहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको पाइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।