गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग

    • Author, रुश्दी अबुअलुफ र उैर डेभिस
    • Role, बीबीसी न्यूज, कायरो र तेल अभिभमा
  • Published
  • पढ्ने समय: ३ मिनेट

हमासले अमेरिकाले अघि सारेको नयाँ गाजा युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौताको पछिल्लो प्रस्तावमा मध्यस्थकर्ताहरूलाई "सकारात्मक प्रतिक्रिया" दिएको जनाएको छ।

प्यालेस्टिनी सशस्त्र समूहले एक विज्ञप्तिमार्फत आफू "वार्ताको चरणमा तत्काल प्रवेश गर्न गम्भीर रूपमा तयार" रहेको जनाएको छ।

ती वार्ताका विषयसँग निकट रहेका एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले सामान्य ढाँचाका रूपमा स्वीकार गरेको छ।

तर उसले २० महिना देखिको युद्धको स्थायी अन्त्यको लागि वार्ता असफल भएमा शत्रुता पुनः सुरु नहुने अमेरिकी सुनिश्चिततासहित कैयौँ मुख्य संशोधनहरूको माग समेत गरेको छ।

शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमासको प्रतिक्रियाको स्वागत गर्दै गाजामा अर्को सातासम्ममा युद्धविराम सम्झौता हुन सक्ने बताएका छन्। यसबारे इजरेल सरकारले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

ट्रम्पको दबाब

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत मङ्गलवार इजरेलले ६० दिने युद्धविरामका लागि "आवश्यक सर्तहरू" स्वीकार गरेको जनाएका थिए।

उक्त अवधिमा सम्बन्धित पक्षहरूले युद्ध अन्त्य गर्नका लागि कामहरू गर्ने भनिएको छ।

ट्रम्पले हमासलाई त्यो "अन्तिम प्रस्ताव" भन्दै त्यसलाई स्वीकार गर्न पनि आग्रह गर्ने क्रममा त्यसो नगरिए उनीहरूका लागि "केही राम्रो हुनेछैन केवल झन् खराब हुनेछ" भन्दै चेतावनी दिएका थिए।

उक्त योजनामा ​​इजरेली जेलमा राखिएका प्यालेस्टिनी बन्दीहरूका बदलामा हमासले १० जीवित इजरेली बन्धकलाई क्रमिक रूपमा छाड्ने र १८ अन्य बन्धकहरूको शव बुझाउने कुरा समावेश गरिएको विश्वास गरिन्छ।

गाजामा अझै पनि पचासजना बन्धकहरू छन् जसमध्ये कम्तीमा २० जीवित रहेको विश्वास गरिन्छ।

उक्त प्रस्तावमा संयुक्त राष्ट्र सङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको संलग्नतामा पर्याप्त मात्रामा मानवीय सहायता तत्कालै गाजा पठाइने कुरा उल्लेख रहेको बताइएको छ।

हमासका माग के छन्?

ती वरिष्ठ प्यालेस्टिनी अधिकारीका अनुसार हमासले संयुक्त राष्ट्र सङ्घ र यसका साझेदारहरूद्वारा विशेष रूपमा सहायता वितरण गर्न माग गरेको छ।

उसले इजरेल र अमेरिकाको साथ पाएको गाजा ह्युमेनिटेरिअन फाउन्डेशन (जीएचएफ) द्वारा सञ्चालित विवादास्पद वितरण प्रणाली तत्काल अन्त्य गर्न माग गर्दै आएको छ।

त्यसबाहेक हमासले मुख्य संशोधनका रूपमा इजरेली सेनाको फिर्ताको माग गरेको ती प्यालेस्टिनी अधिकारीले बताएका छन्।

अमेरिकी प्रस्तावमा चाहिँ उत्तरी र दक्षिणी गाजाका केही भागबाट चरणबद्ध रूपमा सैनिकहरू फिर्ता बोलाउने कुरा समावेश रहेको विश्वास गरिन्छ।

तर ती अधिकारीका अनुसार हमासले मार्चमा पछिल्लो युद्धविराम भङ्ग हुनुअघि सेनाहरू रहेका ठाउँमा फर्कनमा जोड दिइरहेको छ।

हमासले स्थायी युद्धविरामको वार्ता असफल भएमा इजरेली हवाई र स्थल कारबाही पुनः सुरु नहुने अमेरिकी सुनिश्चितता समेत चाहेको ती प्यालेस्टिनी अधिकारीले बताएका छन्।

उक्त प्रस्तावले युद्ध अन्त्य गर्ने वार्ता पहिलो दिनबाटै सुरु हुने उल्लेख गरेको ठानिएको छ।

यद्यपि इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरू रिहा नभएसम्म र हमासको सैन्य तथा शासन क्षमता नष्ट नभएसम्म युद्ध अन्त्य गर्ने कुरा अस्वीकार गर्दै आएका छन्।

गाजामा हमला कायमै

शुक्रवार अमेरिका युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहँदा इजरेलले गाजा स्ट्रिपभर कैयौँ मारिनेगरी बमवारी जारी राखेको थियो।

संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कार्यालयले शुक्रवार जनाए अनुसार पछिल्ला पाँच सातामा जीएचएफका सहायता वितरण केन्द्रहरू नजिकै कम्तीमा ५०९ जना र सहायता बोकेका गाडीका लस्कर नजिकै १०४ जनाको मारिएको विवरण सार्वजनिक गरेको छ।

उक्त राष्ट्रसङ्घीय कार्यालयकी प्रवक्ता रविना शामदासानीले आफूहरूले तथ्याङ्क प्रमाणित गर्ने र जिम्मेवार को हो भनेर पत्ता लगाउने काम गरिरहेको बताइन्।

तर उनले "इजरेली सेनाले वितरण बिन्दुमा पुग्न खोजिरहेका प्यालेस्टिनीहरूमाथि गोलाबारी र गोली चलाएको प्रस्ट छ" भनेकी छन्।

जीएचएफले संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क गाजाको स्वास्थ्य मन्त्रालयबाट "सिधै" आइरहेको भन्दै त्यो विश्वसनीय नभएको बताएको छ।

उक्त निकायले ती तथ्याङ्क आफ्नो प्रयासमा "झूटो कलङ्क" लगाउन प्रयोग गरिएको आरोप लगाएको छ।

जीएचएफका अध्यक्षले यो साता आफ्नो स्थलहरूमा वा नजिकै कुनै पनि हिंसात्मक घटना नभएकोमा जोड दिए।

उता गाजाबाट ६० किलोमिटर मात्र पर रहेको इजरेली सहर तेल अभिभमा बाँकी बन्धकहरूका परिवार र उनीहरूका समर्थकहरूले अमेरिकी नियोगबाहिर एक र्‍याली आयोजना गर्दै ट्रम्पलाई ती सबैलाई रिहा गर्ने "सम्झौता" गराउन आग्रह गरेका छन्।

सन् २०२३ को अक्टोबर ७ मा भएको हमलाको जबाफमा इजरेली सेनाले गाजामा कारबाही सुरु गरेको थियो। हमासको हमलामा त्यसबेला झण्डै १,२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो।

गाजामा त्यसबेलादेखि कम्तिमा ५७,२६८ जना मारिएको उक्त भूभागको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।