एनपीएलमा सुदूरपश्चिम र जनकपुरको फाइनल यात्रा कस्तो होला

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

फाइनलमा उनै दुई फ्रेन्चाइज टोली आमने सामने हुने भए, जसको अधिकांश क्रिकेट विश्लेषकहरूले अनुमान गरेका थिए।

शनिवार कीर्तिपुर क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच नेपाल प्रिमिअर लीग(एनपीएल) को पहिलो संस्करणमा उपाधिका लागि भिडन्त हुँदैछ।

दर्शकको अपार उपस्थितिले एनपीएलको जति चर्चा चलेको छ, मैदानको प्रतिस्पर्धा पनि उत्तिकै स्तरीय रहेकाले फाइनलको व्यग्र प्रतीक्षा भइरहेको विश्लेषकहरू बताउँछन्।

सुदूरपश्चिम र जनकपुरबीच जारी प्रतियोगितामा भेट हुन लागेको यो तेस्रो पटक हुनेछ।

यसअघिको दुवै भेटमा सुदूरपश्चिमले बाजी मारेको मात्र होइन, जनकपुरलाई बेमज्जासँग हराएको थियो।

जारी प्रतियोगितामा जनकपुरलाई सबैभन्दा कम ५१ रनमा सीमित पार्ने काम सुदूरपश्चिमले नै गरेको थियो।

तर विश्लेषकहरू भन्छन् फाइनल भनेको फाइनल हो। फाइनलको दबाव र प्रतिस्पर्धाको मनोविज्ञान लीग चरणको भन्दा फरक हुने उनीहरू बताउँछन्।

लीग चरणको नतिजापछि सुदूरपश्चिमलाई नै उपाधि दाबेदारको सूचीमा राख्ने क्रिकेट समर्थकहरू पनि छन्।

तर जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले त्यसको जबाफमा भनेका छन्, "बदला फाइनलमा लिनेछौँ।"

सुदूरपश्चिमको फाइनल यात्रा

मार्की (मुख्य) खेलाडी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा उत्रिएको रोयल्सले पहिलो खेलदेखि नै प्रभावकारी प्रदर्शन गर्‍यो।

उसले जारी लीगमा एक मात्र खेल हारेको छ। त्यो लीग चरणको चौथो खेलमा चितवन राइनोजविरुद्ध थियो।

लीगको पहिलो खेलमा टोलीले विराटनगर किङ्गसलाई हरायो।

कप्तान दीपेन्द्र सिंह ऐरीको ५७ रनको अर्धशतकीय योगदानमा टोलीले १८२ रन जोड्यो र विराटनगरलाई ९२ रनमा अलआउट गर्दै ९० रनले जित्यो।

जितको त्यो लय तेस्रो खेलसम्म जारी रह्यो।

नरेन साउदको ५ विकेटको मद्दतमा दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो भने तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्‍यो।

उक्त खेलमा ओपनर सैफ जैइद ९० रन बनाएर चम्किए।

सुदूर पश्चिमको लगातारको जितमा चितवन राइनोजले 'ब्रेक' लगाएको थियो। चितवनले बनाएको १६४ रनलाई पछ्याउन आएको सुदूर पश्चिम १३१ रनमा समेटिन पुगेको थियो।

त्यसयता सुदूरपश्चिमले फेरि हार बेहोर्नु परेको छैन।

पाँचौँ खेलमा १२३ रन बनाएको सुदूरपश्चिमले जनकपुरलाई ५१ रनको न्यून स्कोरमा सीमित पारेर आफ्नो बलिङ शक्ति प्रस्तुत गरेको थियो।

छैटौँ खेलमा टोलीले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक खेलमा ५ रनले तथा लीगको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएर तालिकाको शीर्ष स्थानमा लीग टुङ्ग्याएको थियो।

पहिलो प्ले अफ भेटमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरेर सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको हो।

जनकपुर बोल्ट्सको यात्रा

सुदूरपश्चिम जस्तै जनकपुर बोल्ट्सको लीग चरणको प्रदर्शन पनि तारिफयोग्य देखियो।

तर शुरुआती चरणमा जनकपुर जति प्रभावकारी बन्यो, अन्त्यतिर आइपुग्दा धरमराउन पुगेको देखियो।

जनकपुरले सुरुको लगातार चार खेल जित्यो।

लाहिरु मालिन्थाको ७५ रनको मद्दतमा विराटनगर किङ्गसलाई ८ विकेटले पराजित गरेर जनकपुरले लीगको सुरुआत गरेको थियो।

टोलीले दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेट तथा तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायो।

चौथो खेलमा लुम्बिनी लायन्स विरुद्धको १ रनको प्रतिस्पर्धात्मक जित जनकपुरको रोमाञ्चक जितमा पर्छ।

पाँचौँ खेलमा जनकपुरको जितको यात्रालाई सुदूरपश्चिमले नै 'ब्रेक' लगाइदिएको हो।

त्यो ५१ रनको हारले टोलीका अनेक गल्तीहरू छरपस्ट भएको थियो।

छैटौँ खेलमा जनकपुरले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हरायो, तर लिगको अन्तिम खेलमा चितवन राइनोजसँग हार बेहोर्न पुग्यो।

चितवनका कप्तान कुशल मल्ल चम्केको सो खेलमा जनकपुर ३२ रनले हारेको थियो।

लिगको ५ खेल जितेर शीर्ष २ मा रहँदै जनकपुर क्वालिफायर १ मा पुग्यो।

तर सिधै फाइनल पुग्ने सम्भावनामा भने फेरि सुदूरपश्चिम नै बाधक बन्न पुग्यो र ८ विकेटको हार बेहोर्दै क्वालिफायर २ खेल्न बाध्य भयो।

क्वालिफायर २ मा कर्णाली याक्सलाई हराउँदै जनकपुरले फेरि फाइनलमा सुदूरपश्चिमसँगको भेट निश्चित गरेको हो।

शनिवार कीर्तिपुर मैदानमै पुगेर हेर्ने हजारौँ अनि टेलिभिजनमा हेर्ने लाखौँ दर्शकका सामु यी दुई टोलीले अब फाइनलमा उपाधि जित्न आ-आफ्नो खेल कौशल देखाउनु पर्ने छ।

अन्तिम भिडन्त

फाइनल अगाडिको प्रि-म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीका कप्तान शान्त देखिएका थिए।

दुवै टोलीका कप्तानले आफ्नो क्षमतालाई 'शत प्रतिशत' उपयोग गर्ने बताए।

जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले भने, " टी२० मा जे पनि हुन सक्छ, जुन टिमले कम गल्ती गर्छ। उसैले जित्ने हो। हामी त्यसमा सतर्क हुनेछौँ।"

उनले आफैँले राम्रो सुरुआत गरेर बीचका खेलाडीलाई सहज खेल्ने वातावरण तयार पार्ने बताए।

उनले भने, "अनि अन्तिम चार ओभरलाई प्रयोग गर्ने प्रयास गर्नेछौँ।"

कप्तान तथा ओपनर अनिल शाहलाई चोटका कारण गुमाउनु पर्दा जनकपुरले घाटा बेहोरिरहेको छ।

लाहिरु मिलान्थाले पछिल्लो दुई खेलमा खासै प्रदर्शन गर्न नसक्दा जनकपुरले महत्त्वपूर्ण खेलमा हार बेहोरेको थियो।

तर जनकपुर सँग न्यूजिल्यान्डका जिम्मी निशमजस्ता उत्कृष्ट खेलाडीहरू छन्।

उनले गजब खेलेर टोलीको विजयमा नायकको भूमिका खेल्दै आएका छन्।

आशिफ भन्छन्, "फाइनल जित्ने हो भने उत्कृष्ट खेल्नुपर्छ। सुदूर पश्चिमसँगको पछिल्ला दुई खेलमा हामीले जति खेल्नु पर्ने हो त्यति खेल्न सकेका छैनौ। फाइनलमा उत्कृष्ट खेल्नेछौँ।"

सुदूर पश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले जनकपुरलाई दुई खेलमा हराए पनि फाइनल खेल सजिलो नहुने बताए।

उनले भने, " प्रतिद्वन्द्वी टोली पनि बलियो छ। सजिलो रूपमा लिने छैनौँ। हामी चाहिँ लिगमा जसरी खेल्नेछौँ।"

ऐरीले फाइनलमा अवस्थाअनुसार खेल्ने र पावर प्लेको सदुपयोग गर्ने बताए।

सुदूर पश्चिममा खेलाडीलाई चोटको समस्या छैन भने लगातारको जितले उनीहरू आत्मविश्वासी देखिएका छन्।

ओपनर विनोद भण्डारीले प्रतियोगिताभरि राम्रो खेलेका छन्। विदेशी खेलाडीले पनि निकै राम्रो प्रदर्शन गरेका छन्।

ऐरी भन्छन्, "अरू सोचेका छैनौँ, हामीले शत प्रतिशत दिने हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।