के परिवार नियोजनका चक्की सेवनले महिलालाई मोटो बनाउँछ

Published

मानिसहरूलाई परिवार नियोजनका खाने चक्कीहरू दिन थालिएको १०० वर्ष पनि पुगेको छैन। सन् १९६० मे ९ का दिन अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले परिवार नियोजनको खाने चक्की प्रयोग गर्न अनुमति दिएको थियो।

त्यस्तो अनुमति दिइएको ६४ वर्षमा परिवार नियोजनको खाने चक्की विभिन्न प्रकारका स्त्रीरोग तथा नियन्त्रित बच्चा जन्माउने काममा एक प्रमुख उपायका रूपमा विकास भएको छ।

खाने चक्की अमेरिकामा बच्चा जन्माउँदा जन्मान्तर राख्ने उपायका रूपमा विकसित गरिएको थियो।

त्यस्तो चक्कीको प्रभावकारिता बर्मिङ्घम र स्लाउका सयौँ विवाहित महिला स्वयंसेवीहरूमा परीक्षण गरिएको थियो।

अक्टोबर १९६१ मा ब्रिटिश फ्यामिली प्लानिङ असोसियशनले त्यस्ता चक्कीलाई परिवार नियोजनका साधनका रूपमा सूचिकृत गर्‍यो।

जन्म नियन्त्रण गर्ने चक्की के हुन् र तिनले कसरी काम गर्छन्?

परिवार नियोजनका चक्कीहरू महिलाका लागि मात्र बनाइएका छन्। पुरुषका लागि यस्ता चक्कीहरू अहिलेसम्म बजारमा उपलब्ध छैनन्।

यस्ता चक्की एक प्रकारका औषधी हुन् जसमा होर्मोन हुन्छन् र तिनले महिलाका गर्भाशयबाट अण्डा प्रवाह हुन नदिएर महिलालाई गर्भवती हुनबाट रोक्छन्।

धेरैजसो खाने परिवार नियोजनका चक्कीमा एस्ट्रोजेन र प्रोजेस्टोरन भन्ने होर्मोन हुन्छन्।

यसको प्रमुख कार्य भनेकै अण्डा बन्न नदिने वा अण्डा प्रवाह हुन नदिने र एस्ट्रोजेनले महिनावारी हुँदा हुने रक्तस्राव नियन्त्रण गर्नु हो।

डाक्टरहरूका अनुसार जन्म नियन्त्रण गर्ने यस्ता चक्की नियमित रूपमा खाँदा गर्भवती हुनबाट रोक्ने प्रभावकारिता ९९ प्रतिशत छ।

सबभन्दा लोकप्रिय जन्म नियन्त्रण गर्ने उपाय चाहिँ खाने चक्की हो। बजारमा धेरै प्रकारका यस्ता चक्की उपलब्ध छन्। जस्तो कि मिश्रित खाने चक्की, प्रोजेस्टेरोन मात्रैको चक्की र इमर्जेन्सी चक्की।

धेरैजसो पाइने चक्कीमा एस्ट्रोजेन र प्रोजेस्टेरोनको मिश्रण हुन्छन्।

पहिलो पुस्ताका चक्कीमा होर्मोनको मात्रा नयाँ पुस्ताका चक्कीमा असाध्यै कम गराइएका विज्ञहरू बताउँछन्।

केही अपवाद बाहेक यस्ता चक्कीको साइड इफेक्ट असाध्यै थोरै छन्।

मिश्रित चक्की धेरैजसो २८ वटाको एउटा पत्तामा आउँछन्। त्यसमध्ये २१ वटा सक्रिय चक्की हुन्छन् भने ७ वटा निष्क्रिय आइरन चक्की हुन्छन्।

साधारणत: त्यस्ता चक्की महिनावारी सुरु भएको पहिलो दिनदेखि खान सुरु गर्नुपर्छ र नियमित रूपमा २१ दिनसम्म खाइरहनुपर्छ।

यदि तपाईँले पहिलो दिनमा खान बिर्सनु भयो भने पाँचौँ दिनसम्म जुन दिन खान सुरु गरे पनि हुन्छ।

यदि खान बिर्से भोलिपल्ट सम्झेका बेला खाए हुने डाक्टरहरू भन्छन्।

थुप्रै प्रश्नहरू

मिथिला ढाकामा एक कम्पनीमा काम गर्ने महिला हुन् जसको एक बच्चा छन्। यो नाम परिवर्तन गरिएको छ। उनले बीबीसीलाई भने अनुसार उनले अहिले बच्चा जन्माउन चाहन्नन्। किनभने उनी कामकाजी हुन्। त्यसैले उनले परिवार नियोजनका साधनका निम्ति चक्की प्रयोग गर्छिन्।

तर त्यस्तो चक्की लिन थालेपछि उनले आफ्नो शरीरमा केही परिवर्तन आएको महसुस गर्न थालेको बताउँछिन्।

“मेरो शरीरको वजन बढ्यो मलाई टाउको पनि दुख्न थाल्यो,” उनले भनिन्।

पछि जब उनी डाक्टरकहाँ गइन् डाक्टरले चक्की बन् गरेपछि। त्यसपछि उनको तौल पनि घट्यो।

मिथिला जस्तै धेरै महिलालाई परिवार नियोजनका चक्कीबारे प्रश्न छन्।

कैयौँ महिलाले चक्की खाए पछि तौल बढ्छ भन्ठान्छन्।

कसैलाई चक्की सेवन गरेका कारण टाउको दुख्ने समस्या कसैको मुड तलमाथि भइरहने समस्या र कैयौँका मनमा चक्की खाँदा महिनावारी गडबड हुन्छ कि भन्ने चिन्ता छ। कतिमा चाहिँ यो चक्की लामो समय खान हुन्छ कि हुँदैन भन्ने पनि चिन्ता छ।

तर यसबारे समाज खुला नभएकाले महिलाहरूले पनि यसबारे खुला छलफल गरेको पाइन्न।

तर के महिलाहरूले सोचेको जस्तो परिवार नियोजनका चक्कीले गराएको भन्ने समस्याका वैज्ञानिक आधार छन् त?

केही प्रश्न र तिनका जबाफ खोजौँ न त।

के चक्कीले तपाईँमा मोटो बनाइदिन्छ

मिथिला जस्तै कैयौँ महिलालाई चक्कीले मोटो बनाइदिन्छ भन्ने लाग्छ तर कुनै पनि अध्ययनले यसलाई प्रमाणित गरेको छैन।

चक्की खाँदा महिलाहरू मोटाउने समस्या हुने भन्ने कुरा सत्य नभएको डाक्टरहरू बताउँछन्।

तर शरीरमा पानीको मात्रा जम्मा हुन जाने र त्यसका कारण तौल बढेको देखिने उनीहरूको भनाइ छ।

त्यसरी साइड इफेक्टका रूपमा सञ्चय हुने पानीको मात्रा केही महिनामा बाहिर निस्कने उनीहरू बताउँछन्।

बङ्गबन्धु शेह मुजिब मेडिकल युनिभर्सिटी हस्पिटलका डाक्टर प्रोफेसर रेजल करिम काजलले भने, “चक्कीका कारण तौल बढ्छ भन्ने कुरा अहिले सही होइन।”

उनका अनुसार चक्कीमा भएको होर्मोनले मान्छेमा भोक जगाउने र शरीरमा पानीको मात्रा बढाउने भएकाले तौल बढ्थ्यो।

तर अहिलेका तेस्रो र चौथो पुस्ताका चक्कीको साइड इफेक्ट छँदै छैन भने पनि हुन्छ।

प्रोफेसर काजोलले भनिन् तिनले रगतमा कोलेस्टेरोल नियन्त्रणमा राख्न सहयोग गर्छन्। त्यसबाहेक खाने चक्कीले महिलाका महिनावारी सम्बन्धी कैयौँ समस्या उपचार गर्न पनि प्रयोग गरिन्छ।

मुड तलमाथि हुने

चक्की सेवनहरू कहिले खुसी हुन्छन् या कहिले दुखी हुन्छन् भन्ने अनुमान गर्न गाह्रो हुन्छ।

डाक्टरहरू भन्छन् जन्मान्तर गर्न सहयोग गर्ने चक्कीले मस्तिष्कलाई पनि असर गर्छन्।

यसबारेको एउटा अध्ययन उत्तर अमेरिकामा सन् २०१९ मा भएको रेडियोलोजी सोसाइटी अफ नर्थ अमेरिकाको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको थियो।

त्यसमा अनुसन्धानकर्ताहरूले गर्भ निरोधक चक्की लिनेहरूको मस्तिष्कको हाइपोथालामसको घनत्वमा फरक पाइएको बताएका थिए।

हाइपोथालामस मानिसको यौन क्षमता, निद्रा, मुड नियन्त्रण, भोक आदि नियन्त्रण गर्ने केन्द्र हो। डाक्टरहरूले यो चक्की लिनेहरूको मुड तलमाथि हुने प्रवृत्ति औँल्याउने गरेका छन्।

प्रोफेसर किशर लैला भन्छिन् “अहिले बजारमा उपलब्ध असाध्यै कम डोसका चक्कीले मुड तलमाथि हुने क्रिया कम गर्छन्। पहिले त्यस्ता चक्कीमा होर्मोनको तह निकै धेरै हुन्थ्यो अहिले चक्कीमा होर्मोनको मात्रा निकै कम हुन्छ। त्यसैले मुड तलमाथि हुने क्रम पनि कम हुन्छ।”

महिनावारीमा हुने जटिलता

जन्म नियन्त्रण बाहेक डाक्टरहरूले विभिन्न रोगहरूको उपचारमा पनि प्रयोग गर्ने गर्छन्। जस्तो कि अनियमित महिनावारी महिनावारीका बेला हुने अत्यधिक रक्तस्राव महिनावारीका बेला तल्लो पेट दुख्ने समस्या र बिहे गरेका र नगरेका महिलामा हुने मुड तलमाथि हुने अवस्थाका लागि पनि प्रयोग गरिन्छ।

नियमित रूपमा चक्की प्रयोग गर्नेहरूलाई महिनावारीमा जटिलता हुने गरेको बताए पनि डाक्टरहरूले त्यो अस्वीकार गर्छन्।

प्रोफेसर किशोर लैला भन्छिन्, “कैयौँ पटक महिलाहरूका महिनावारीमा देखिएका समस्याका लागि पनि यस्ता चक्की दिने गरिन्छ।”

जटिलता कम गर्न यस्ता चक्की नियमित रूपमा खाइरहनु भन्दा कहिले कहिले बीचमा केही समय छोडेर फेरि खाने गर्नु ठिक हुन्छ।

सामान्य चक्की वा इमर्जेन्सी चक्कीमा के फरक छ

नियमित चक्की र इमर्जेन्सी चक्कीमा फरक छ।

डाक्टरहरूका अनुसार इमर्जेन्सी चक्की एस्ट्रोजेन होर्मोनमा आधारित हुन्छ।

यस्तो इमर्जेन्सी चक्की असुरक्षित यौन सम्पर्क या कन्डोम फुटेका बेला या बलात्कार भएका बेला गर्भवती हुनबाट रोक्नमा प्रभावकारी मानिन्छ।

डाक्टरहरूका अनुसार यो एक चक्की एक पटकमा एउटा मात्र वा बाह्र घण्टामा दुई वटा मात्र प्रयोग गर्नुपर्ने हुन्छ। र यो चक्की असुरक्षित यौन सम्पर्क गरेको पाँच दिन भित्र लिइसक्नुपर्ने हुन्छ।

स्त्रीरोग विशेषज्ञ उर्मिला मजुमदरले बीबीसी बाङ्ग्लालाई बताए अनुसार सामान्य चक्की र इमर्जेन्सी चक्कीबीचको फरक भनेको नियमित यौन सम्पर्क राख्नेहरूले नियमित रूपमा चक्की सेवन गर्नुपर्ने हुन्छ।

बच्चा जन्माउने क्षमतामा ह्रास?

कैयौँ महिलालाई परिवार नियोजनका चक्की सेवन गर्नेहरूको प्रजनन क्षमतामा असर गर्छ भन्ने गलत धारणा रहने गरेको छ।

डाक्टरहरू त्यस्तो नहुने बताउँछन्। चक्कीले कुनै पनि हिसाबले प्रजनन क्षमतामा प्रभाव नपाउने उनीहरू बताउँछन्।

तर डाक्टरहरू त्यो सही नभएको बताउँछन्। उनीहरूका अनुसार चक्की खान छोडेपछि महिनावारी केही ढिलो गरी हुन सक्छ तर प्रजनन क्षमता उस्तै रहन्छ।

बीबीसी बाङ्ग्लालाई प्रोफेसर रेजुअल करिमले भने, “तेस्रो र चौथो पुस्ताका चक्कीले लामो समयसम्म प्रयोग गरे पनि भविष्यको प्रजननमा कुनै खतरा पुर्‍याउँदैनन्।”

तर कुनै कुनै बेला डाक्टरहरूले परिवार नियोजनका चक्की रोक्न वा डाक्टरले भने अनुसार मात्रै प्रयोग गर्न सुझाव दिने गरेका छन्।

कुनै बेला महिलाहरूलाई परिवार नियोजनका चक्की सेवन गर्न निरुत्साहन गर्ने गरिन्छ।

उदाहरणका लागि यदि तपाईँ ४० वर्ष उमेरकी हुनुहुन्छ तपाईँको रक्तस्राव भइरहेको छ र कोलेस्टेरोल तह बढी छ भने चक्की लिन भनिँदैन।

त्यसैगरी रगत जम्ने समस्या भएकाहरू उच्च रक्तचाप नियन्त्रण नभएकाहरू वा मधुमेहका बिरामीहरू वा स्तन क्यान्सर भएकाहरू वा कलेजोका रोग भएकाहरू वा कमलपित्त भएका वा क्यान्सर भएकाहरू मुटुरोग भएकाहरूलाई पनि थप सावधानी अपनाउन भनिन्छ।

र कुनै ठूलो शल्यक्रिया गर्न अगाडि डाक्टरसँग परामर्श गरेर मात्र चक्की सेवन गर्न वा सेवन गर्न छोड्नु पर्ने उनीहरू सल्लाह दिन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।