अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन

Published
पढ्ने समय: ४ मिनेट

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको आइतवार दिउँसो १०० वर्षको उमेरमा निधन भएको छ। देशको ३९औँ राष्ट्रपति बनेका उनी सबैभन्दा लामो समय जिउने राष्ट्रपतिहरूमध्ये हुन्।

सन् १९७७ मा डेमोक्र्याटिक दलका तर्फबाट चुनाव जित्दै राष्ट्रपति बनेका उनी एक कार्यकाल मात्र ह्वाइटहाउसमा रहन सकेका थिए।

सन् १९८० को चुनावमा भने रिपब्लिकन दलका रोनल्ड रेगनसँग उनी सहजै पराजित भए।

उनका उपलब्धिमध्येमा 'क्याम्प डेभिड' सम्झौतालाई एउटा मुख्य मानिन्छ, जसका कारण पहिलोपटक इजिप्टले इजरेललाई मान्यता दिएको थियो।

तर उनको राष्ट्रपतिकाल तेहरानमा अमेरिकी कूटनीतिज्ञहरूलाई १२ महिनासम्म बन्धक बनाएर भएको 'इरान होस्टेज क्राइसिस'का साथै त्यस बेला देशभित्रै सङ्कटग्रस्त बनेको अर्थतन्त्रको छायामा पर्ने गर्छ।

नेपाल भ्रमण

अमेरिकी राज्य जोर्जामा बदाम कृषक परिवारका उनी राष्ट्रपति बन्नुअघि त्यहाँका गभर्नर थिए। उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

पदबाट हटेपछि पनि अन्तर्राष्ट्रिय रूपमा राजनेताको पहिचान बनाएका उनी मानवाधिकार र सामाजिक न्यायका अभियन्ता थिए।

उनको संस्था कार्टर सेन्टरले नेपालमा पनि केही गतिविधि सञ्चालन गरेको थियो। सन् २००७ मा नेपालमा शान्ति प्रक्रिया जारी रहँदा उनी काठमाण्डू आएर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए।

त्यसपछि सन् २००८ र २०१३ मा भएका संविधानसभाका दुवै निर्वाचनको पर्यवेक्षणका लागि पनि उनी नेपाल आएका थिए।

कार्टरको स्मरण

जोर्जास्थित आफ्नो घरमै उनको निधन भएको हो।

कार्टरका छोराले उनलाई "मेरा लागि मात्र नभएर शान्ति, मानवाधिकार र निस्वार्थ प्रेममा विश्वास गर्ने सबैका लागि एक नायक" रहेको बताए।

उनकी श्रीमती रोजलेनको ७७ वर्षको वैवाहिक जीवनपछि गत वर्ष निधन भएको थियो।

राष्ट्रपति जो बाइडनले कार्टरलाई एक अभूतपूर्व राजनीतिज्ञ, राजनेता र मानवीयता पक्षधर व्यक्तिको रूपमा स्मरण गरेका छन्।

बाइडनले ५० वर्षदेखिका आफ्ना मित्रले कुराले भन्दा काम मापन गर्न सकिने जीवन जिएको भन्दै उनको गरिमा र शालीनताको प्रशंसा गरे।

राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो महत्त्वपूर्ण समयको राष्ट्रपतीय कार्यकालमा उनले सामना गरेका चुनौतीका लागि अमेरिकीहरू उनीप्रति कृतज्ञ रहने बताए।

ओबामाले कार्टरसँग बिताएको समयलाई सम्झदै "अनुग्रह, मर्यादा, न्याय र सेवासहितको जीवन जिउनुको अर्थ के हो भनेर उनले सिकाएको" बताए।

कार्टरजस्तै ओबामाले समेत नोबेल शान्ति पुरस्कार पाएका छन्। ओबामाले उक्त पुरस्कार पहिलो कार्यकाल सुरु गर्दा पाए भने कार्टरले ह्वाइटहाउस छाडेको २२ वर्षमा पाएका थिए।

यूकेका राजा चार्ल्सले कार्टरलाई "शान्ति र मानवाधिकार प्रवर्धन गर्न" आफ्नो जीवन समर्पण गर्ने "प्रतिबद्ध जनसेवक"का रूपमा स्मरण गरेका छन्।

क्युबाका नेता मिगेल डिआज-कनेलले सम्बन्धहरू सुधार्न गरेका प्रयासका लागि मानिसहरूले उनलाई श्रद्धापूर्वक सम्झने बताए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कुनै उक्साहटबिनै एकाएक गरेको अतिक्रमणकाविरुद्ध उनले देखाएको अटल साथप्रति युक्रेन निकै धन्य रहेको बताए।

बाइडटन र कार्टरका समान चुनौती

जो बाइडन र जिमी कार्टरको राष्ट्रपतीय कार्यकालको भिन्नता ४० वर्षभन्दा लामो समयको भए तापनि वर्तमान राष्ट्रपतिका विदेश नीतिसम्बन्धी चुनौतीसँग कार्टरका चुनौती मिल्दाजुल्दा पाइन्छ्न।

कार्टरका पालामा अमेरिकी शक्तिको सीमितता पीडादायी रूपमा इरानमा एक वर्षसम्म अमेरिकी दूतावासका कर्मचारी बन्धक बनेका बेला देखा परेको थियो। त्यही अमेरिकी निरीहताको भावले सन् १९८० मा रोनल्ड रेगनसँग कार्टर पराजित हुन योगदान दिएको थियो।

भद्रगोलपूर्ण अवस्थाबीच अफगानिस्तानबाट अमेरिका फर्कँदा त्यस्तै चिसो वास्तविकता देखा पर्‍यो र राज्यनिर्माणमा त्यहाँ दुई दशकदेखि गरेको लगानी निरर्थक साबित भयो।

सँगै हालैका महिनामा चिनियाँ जासुसी बलून अमेरिकी महादेशमाथि देखा पर्नुलाई समेत आलोचकहरू अमेरिका आफ्नै आकाशको निगरानी र रक्षा गर्न अक्षम रहेको रूपमा बताउँछन्।

कार्टर र बाइडनले विश्व शक्तिहरूको भौगोलिक महत्त्वाकाङ्क्षाको सामना गरेका थिए।

उति बेला अफगानिस्तानमा सोभियत अतिक्रमण हुँदा अपर्याप्त प्रतिक्रियाको लागि कार्टरको आलोचना गरिएको थियो।

सन् १९८० को मस्को ओलिम्पिक्समा अमेरिकी खेलाडीलाई सहभागिता नजनाउनमा आदेश दिएकामा समेत व्यापक रूपमा निन्दा गरियो।

बाइडनले युक्रेनमा जारी रुसी अतिक्रमणको सामना गर्न गठबन्धन देशहरूलाई एकजुट पार्दै सुरुवाती सफलता पाए तापनि युद्ध लम्बिँदै जाँदा अमेरिकी सङ्कल्पको परीक्षण समेत हुने छ।

अफगानिस्तानमा फैलिएको रक्तपातपूर्ण द्वन्द्वले अस्थिरतामा मलजल गर्दै अल-कायदा र विश्वव्यापी जिहादलाई जन्म दिएको थियो

युक्रेनको युद्धको प्रभावले हुन सक्ने त्यस्तै अप्रत्याशित र घातक सबै परिणामहरू बाइडनका नाममा पर्न सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।