इण्डोनेशियामा भूकम्पका कारण मर्नेको सङ्ख्या बढ्दो, हराएकाहरूको खोजी कार्य तीव्र

Published

इण्डोनेशियाको पश्चिम जाभाको चिआनजोरमा आएको भूकम्पका कारण फसेका मानिसहरूलाई जीवित नै उद्धार गर्ने प्रयास दोस्रो रात पनि जारी छ।

अधिकारीहरूका अनुसार भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ जसमध्ये धेरै बालबालिका रहेका छन्। त्यहाँ अझै पनि १५१ जना हराइरहेका छन् र एक हजारभन्दा बढी मानिस घाइते भएका छन्।

ठुलो क्षेत्र प्रभावित हुनु र सडकहरू क्षतिग्रस्त भएका कारण पीडितहरू पहिचान गरी पत्ता लगाउन र उनीहरूको उद्धार गर्न गाह्रो भइरहेको जनाइएको छ।

भूकम्प जाँदा अप्रिजल मुल्यादी विद्यालयमा थिए। उनी रहेको "कोठा भत्किँदा" त्यहीँ फसे।

यी १४ वर्षीय किशोरले आफ्नो "खुट्टा भग्नावशेषमुनि गाडिएको" सुनाए। उनलाई उनका साथी जुल्फिकरले सुरक्षित स्थानमा सारेका थिए। तर, उनी स्वयंले भने पछि पुरिएर ज्यान गुमाए।

त्यहाँको विपद् व्यवस्थापन सम्बन्धी निकाय न्याशनल डिजास्टर मिटिगेसन एजेन्सीका अनुसार भूकम्पका कारण २२,००० घरमा क्षति पुगेको र ५८,००० भन्दा बढी मानिसले यस क्षेत्रका विभिन्न स्थानमा शरण लिएका छन्।

सोमवार पहाडी क्षेत्रलाई केन्द्र बनाएर गएको ५.६ म्याग्निच्यूडको भूकम्पका कारण पहिरो समेत गयो। जसले पश्चिम जाभा सहर चिआनजोर नजिकैका सम्पूर्ण गाउँहरू प्रभावित पारेको थियो।

भवनहरूका पर्खाल र छाना ढलेपछि पीडितहरू पुरिएका वा फसेका थिए। "यो सबै निकै छिटो भयो," अप्रिजलले एएफपी समाचार संस्थालाई बताए।

त्यहाँको खोज तथा उद्धार सम्बन्धी राष्ट्रिय संस्थाका एक प्रतिनिधिले मृत्यु हुनेमा अधिकांश युवा रहेको पुष्टि गरेका छन् ।

"मृत्यु हुनेमा प्राय बालबालिका छन् किनकि घटना हुँदा दिउँसोको १ बजेको थियो र उनीहरू विद्यालयमा थिए," हेनरी अल्फिआन्डीले भने।

१० किलोमिटर गहिराइमा गएको भूकम्पपछि दर्जनौँ परकम्पहरू आएका थिए जसले गर्दा कमजोर घरहरू भत्किए र थप क्षति पुग्यो।

पीडितहरूको अवस्था कस्तो?

सिबेरियमको गाउँको एक परिवारले भग्नावशेषबाट आफ्नो जेठो छोराको शव निकाल्ने प्रयास गरिरहेको थियो। २८ वर्षीय ती व्यक्ति घरको तला भत्किएपछि थिचिएका थिए।

उद्धारकर्ताहरू भग्नावशेष हटाउन सङ्घर्ष गरिरहेका थिए।

"हामीले पीडितको उद्धार गर्न उसलाई थिचेको दोस्रो तलाको कङ्क्रिट खन्नुपर्छ। तर हामीले उनको शरीर देखेका छौँ," एक जना सैन्य अधिकारी, सर्जेन्ट प्याकुनले बीबीसीलाई भने।

४८ वर्षीया निवासी कुकुले रोएटर्स समाचार संस्थालाई बताए अनुसार उनी बच्चाको शरीर मुनि थिचिएपछि बाँचेकी हुन्।

"मेरा दुई सन्तान बाँचे, मैले उनीहरूलाई निकालेँ ... दुई जनालाई त मैले यहाँ ल्याएँ तर एक जना अझै हराइरहेको छ," उनले रुँदै सुनाइन्।

"अस्पतालको मैदानमा धेरै शवहरू छन्, धेरै भिड छ," उनका आफन्त हेस्तीले भनिन्।

एक क्षेत्रमा, पीडितहरूले खाना र आश्रयको लागि सोध्ने कार्डबोर्ड चिन्हहरू राखेका थिए।

“अस्पतालमा थुप्रै शवहरू लडिरहेका छन्। त्यहाँ निकै भिड छ,” उनकी आफन्त हेस्तीले भनिन्।

एक क्षेत्रमा पीडितहरू खाद्यान्न र आश्रयस्थलको मागसहित उभिएका छन्।

राष्ट्रपति जोको विडोडोले मङ्गलवार दुर्गम प्रकोप क्षेत्रको भ्रमण गरे।

"मैले अझै पनि भग्नावशेषमा फसेका पीडितहरूलाई बाहिर निकाल्ने विषयमा प्राथमिकता दिन निर्देशन दिएको छु," उनले भने।

सयौँ प्रहरी र अन्य उद्धारकर्ता उद्धार कार्यमा संलग्न छन्। राष्ट्रपतिले पीडितहरूलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएका छन्।

सेभ द चिल्ड्रेनका अनुसार भूकम्पका कारण कम्तीमा ८० वटा विद्यालयमा क्षति पुगेको छ।

"बालबालिकाहरू डराएका छन्। हामीले उनीहरूलाई खाना, पानी र आश्रय उपलब्ध गराउन आवश्यक छ। उनीहरू आमाबाबु र अभिभावकहरूबाट अलग हुने सम्भावना छैन भन्ने कुरा सुनिश्चित गर्न पनि आवश्यक छ," एक प्रवक्ताले भने।

प्रशान्त महासागरको टेक्टोनिक गतिविधि हुने "रिङ अफ फायर" क्षेत्रमा पर्ने इण्डोनेशियामा भूकम्प गइरहन्छ।

उक्त देशमा विनाशकारी भूकम्प र सुनामीको भयावह इतिहास छ।

त्यहाँको सुलावेसी टापुमा सन् २०१८ मा गएको भूकम्पमा दुई हजारभन्दा बढी मानिस मारिएका थिए।