तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एक्वडोरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या
एक्वडोरको आसन्न राष्ट्रपतीय चुनावका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ।
देशको उत्तरी सहर क्विटोमा बुधवार आयोजित एक कार्यक्रममा त्यहाँका सांसद फर्नान्डो भिल्लाभिसेन्सिओमाथि आक्रमण भएको थियो।
उनको प्रचार अभियान समूहका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार भिल्लाभिसेन्सिओ आफ्नो कारमा चढ्ने क्रममा एक व्यक्तिले उनको टाउकोमा गोली हानेका थिए।
प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सिओलाई तीन पटक गोली प्रहार भएको थियो।
राष्ट्रपति गुइलेर्मो लासोले उनको मृत्यु भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन्।
धम्की कसको?
सुरक्षाकर्मीसँग मुठभेड हुँदा सन्दिग्ध व्यक्तिलाई पनि गोली लागेको थियो र पछि उनको मृत्यु भएको महान्यायाधिवक्ताले जानकारी दिएका छन्।
त्यहाँ आगामी अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ।
लासोले हत्याबाट आफू “आक्रोशित र स्तब्ध” भएको बताउँदै “अपराधीलाई दण्ड दिने” प्रतिबद्धता व्यक्त गरेका छन्।
“सङ्गठित अपराध सफल ठहरिएको छ तर यसमा संलग्नहरूलाई कानुनअनुरूप सजाय दिइन्छ,” उनले भने। लासो यस पटक चुनावी मैदानमा उत्रिएका छैनन्।
गत महिना लासोले सङ्गठित अपराधसँग सम्बन्धित कैयौँ हत्याका घटना भएपछि तीन वटा प्रान्तमा आपत्कालीन अवस्था र रात्रिकालीन कर्फ्यू घोषणा गरेका थिए।
एक्वडोरमा लागू औषध कारोबारीहरूको बढ्दो उपस्थितिका कारण हिंसात्मक अपराधमा वृद्धि हुनु राष्ट्रपतिको चुनावी अभियानको मुख्य मुद्दा बनेको छ।
भिल्लाभिसेन्सिओको चुनावी अभियान पनि सुरक्षाका साथै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धतामा केन्द्रित थियो। यसअघि पत्रकारितामा संलग्न रहँदा उनले यिनै विषयमाथि लेख्थे। उनी पर्यावरणीय क्षति पनि कम होस् भन्ने चाहन्थे।
गत साता पूर्व पत्रकार भिल्लाभिसेन्सिओले आफू र आफ्नो समूहलाई लागु औषध ओसार प्रसारमा संलग्न गिरोहका नेताले धम्की दिएको बताएका थिए।
नेताको हत्या शृङ्खला
गत जुलाईमा मान्टा सहरका मेयर अगस्टिन इन्ट्रिआगो र फेब्रुअरीमा प्यूर्टो लोपेज सहरको मेयरका उम्मेदवार ओमार मेनेन्डेजको हत्या पछि पछिल्लो घटना भएको छ।
इन्ट्रिआगो आफ्नै सहर भ्रमणमा रहँदा उनीमाथि आक्रमण भएको थियो। एक बन्दुकधारीले उनलाई धेरै पटक गोली प्रहार गरेका थिए।
End of अपराधसम्बन्धी अन्य सामग्री
सोही आक्रमणमा परेर स्थानीय महिला फुटबलर एरिआना एस्टेफनिआ चान्सेको पनि मृत्यु भएको थियो।
इन्ट्रियागोले पनि मृत्यु हुनुभन्दा केही दिनअघि आफूलाई धम्की आएको बताएका थिए।
अर्का मेयर उम्मेदवार ४१ वर्षीय ओमार मेनेन्डेजको पनि गोली लागि हत्या भएको थियो।
उक्त आक्रमणमा परेर एक जना किशोर पनि मारिएका थिए।
प्रतिद्वन्द्वीहरूले के भने?
भिल्लाभिसेन्सिओ पहिलो चरणको चुनावमा आठ उम्मेदवारहरू मध्ये एक थिए। यद्यपि उनी अग्रपङ्क्तिमा भने थिएनन्।
पूर्व उपराष्ट्रपति तथा अर्का उम्मेदवार ओटो सोनेनहोल्जनरले भिलाभिसेन्सिओलाई श्रद्धाञ्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
"परमेश्वरले उनलाई आफ्नो समीपमा राखुन्। हाम्रो देशको स्थिति नियन्त्रण बाहिर गएको छ।“
अग्रपङ्क्तिमा रहेकी लुइसा गोन्जालेसले भिल्लाभिसेन्सिओको परिवारप्रति आफ्नो “ऐक्यबद्धता” जनाउँदै भनिन्, "यो घृणित कार्य दण्डित हुने छ।“
भिलाभिसेन्सिओ विवाहित थिए र उनका पाँच सन्तान छन्।