हरियाणामा साम्प्रदायिक हिंसा फैलिँदा चार जनाको मृत्यु

Published

भारतको हरियाणा राज्यस्थित मेवात (नुह जिल्ला) मा सोमवार साम्प्रदायिक हिंसा फैलिएपछि राति देशको राजधानी दिल्लीनजिकै रहेको गुरुग्रामस्थित एउटा मस्जिदमा पनि आगजनी भएको छ।

मस्जिद प्रबन्धन समितिका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको मृत्यु भएको र अरू मानिसहरू घाइते भएको विवरण प्रकाशित गरेको छ। तर यसबारे प्रहरीले मङ्गलवार बिहानसम्म केही बताइसकेको छैन।

हरियाणामा हिन्दू राष्ट्रवादी समूहहरू बजरङ्ग दल र विश्व हिन्दू परिषद्ले आयोजना गरेको एउटा धार्मिक यात्राका क्रममा भिडन्त भएको थियो।

त्यहाँ एक मुस्लिम धर्मगुरु र दुई सुरक्षाकर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ती सुरक्षाकर्मीहरू प्रहरीलाई दङ्गा र सार्वजनिक स्थानमा अशान्ति हुँदा स्थिति नियन्त्रणमा लिन सघाउने "होम गार्ड्स"सँग आबद्ध थिए।

सङ्घीय सरकारले हरियाणामा थप सुरक्षाकर्मीहरू पठाएको छ।

विपक्षी कङ्ग्रेस पार्टीका नेता रणदीप सिंह सुर्जेवालाले राज्यमा सत्तारूढ भारतीय जनता पार्टीले "शान्ति सुव्यवस्था कायम गर्न नसकेको" आरोप लगाएका छन्।

इन्डियन न्याश्नल लोक दलका सांसद अभय सिंह चौटालाले घटना हुन नदिन पर्याप्त कार्य नगरेको भन्दै राज्य सरकारको आलोचना गरेका छन्।

गुरुग्राममा ज्यान गुमाउने इमामको परिवार के भन्छ?

इमाम सादका दाइ शादाब अनवरले बीबीसीसँगको कुराकानीमा भने, "मैले आफ्नो भाइको अनुहार मात्र देख्न पाएँ। अहिले म शवगृहमा छु। अब उजुरी दर्ता गर्छौँ। मेरा भाइ विगत सात महिनादेखि यस मस्जिदका इमाम थिए। उनी २२ वर्षका थिए।"

शादाबले गत राति करिब साढे ११ बजे भाइ सादसँग कुरा गरेका थिए।

उनले भने, "हामी मूल रूपमा बिहारका हौँ। आज भाइ घर फर्किन लागेका थिए। मैले उनलाई फोनमा जबसम्म वातावरण सहज बन्दैन तबसम्म मस्जिदबाट बाहिर ननिस्किन भनेको थिएँ। हाम्रो अन्तिम संवाद यही नै थियो।"

हरियाणामा कसरी फैलियो साम्प्रदायिक हिंसा?

बजरङ्ग दल र विश्व हिन्दू परिषद्ले आयोजना गरेको यात्राका क्रममा हिंसा भड्किएको थियो।

कम्तीमा १२ जना घाइते भएको बताइएको छ। घाइतेमध्ये केही सुरक्षाकर्मी पनि छन्। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

नुह जिल्लाबाट प्राप्त भिडिओमा एउटा भिडले गाडीहरूमाथि ढुङ्गा हानेको र गाडीहरू जलाएको तथा पसलहरूमा तोडफोड गरेको देखिन्छ।

दुई पक्षबीच भिडन्त भएपछि सहरमा कर्फ्यू लगाइएको छ।

उक्त धार्मिक यात्रामा भाग लिन २,००० भन्दा बढी मानिसहरू नुहस्थित एउटा मन्दिरमा भेला भएका थिए। तनाव चुलिएपछि उनीहरूलाई प्रहरीले सुरक्षित स्थानमा लगेको थियो।

साम्प्रदायिक हिंसा फैलिएका स्थानमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ। सरकारले त्यहाँ बुधवारसम्म इन्टरनेट बन्द गरिदिएको छ।

राज्यका मुख्यमन्त्री एमएल खट्टरले उक्त घटनालाई "दुर्भाग्यपूर्ण" को सङ्ज्ञा दिँदै शान्ति कायम गर्न आह्वान गरेका छन्।

गुरुग्रामको मस्जिदमा प्रहरीले सुनिश्चित गरेको थियो सुरक्षा

हरियाणा अन्जुमन ट्रस्टका अध्यक्ष मोहम्मद असलम खानका अनुसार सोमवार साँझ प्रहरी आफूहरू कहाँ आएर मस्जिदको सुरक्षाको जिम्मेवारी लिएका थिए।

उनले भने, “स्थानीय थानाका प्रहरी हामीकहाँ आएर आफ्नो समूह मस्जिदमा नै उपस्थित रहने बताएका थिए। हामीले मस्जिदका इमाम र त्यहाँ रहने अन्य दुई कर्मचारीहरूको बारेमा कुरा गर्दा उनीहरूले चिन्ता नलिन भनेका थिए।“

आफू नमाज पढेर फर्कने समयसम्म प्रहरी मस्जिदमै उपस्थित रहेको उनले बताए। उनका अनुसार राति १२ देखि १२ः३० बजेको बीचमा आक्रमण भएको हो। सुरुमा मस्जिदको क्यामरा फुटाएर त्यसपछि आगो लगाइएको थियो।

सन् २००४ मा हरियाणा सरकारले गुरुग्राममा १७ वटा मन्दिर, दुईवटा गुरुद्वारा, एउटा गिर्जाघर र एउटा मस्जिद निर्माणका लागि जग्गा बाँडफाँट गरेको थियो। आगो लगाइएको मस्जिद सोही जग्गामा निर्माण भएको गुरुग्रामको एक मात्र मस्जिद हो। त्यहाँ वरपर बस्ने मुसलमानहरू नमाज पढ्न उक्त मस्जिदमा जान्छन्।

महाराष्ट्रको ठाणेमा ठूलो दुर्घटना‍, १६ जनाको मृत्यु

महाराष्ट्रको ठाणेमा मङ्गलवार एउटा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको बताइएको छ।

एबीपी न्यूजसँग कुरा गर्दै महाराष्ट्र सरकारका मन्त्री दादाजी भुसेले घटनाको पुष्टि गरेका हुन्।

ठाणेको शाहपुरमा अवस्थित एउटा पुलबाट एउटा उपकरण खसेपछि उक्त घटना भएको हो।

एएनआईका अनुसार उक्त उपकरण समृद्धि एक्सप्रेस राजमार्गको निर्माण कार्यका लागि प्रयोग भइरहेको थियो।

घटनास्थलमा न्याश्नल डिजास्टर रेस्पोन्स फोर्स एनडीआरएफको टोली पुगेको छ र उद्धार कार्य जारी रहेको जनाइएको छ।

दुर्घटनामा परी तीन जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये केहीको शव अझै पनि उपकरणले थिचिएको हुनसक्ने बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।