रमजान सुरु हुँन लाग्दा गाजा युद्धका कारण जेरुसलेममा भयको वातावरण

    • Author, योलान्दा नेल
    • Role, बीबीसी न्यूज, जेरुसलेम
  • Published

गाजामा युद्धविरामको सम्भावना देखा नपरिरहेकाले इस्लामहरूको पवित्र रमजान महिनामा जेरुसलेममा हिंसा फैलन सक्ने भन्दै चिन्ता प्रकट भइरहेका छन्।

हमासले प्यालेस्टिनीहरूलाई अल-अक्सा मस्जिदको भ्रमणमा तीव्रता दिन अनुरोध गरेको छ।

इजरेलले चाहिँ केही दिनभित्र सुरु हुने ‘रमजानको समयमा उक्त क्षेत्रलाई तनावग्रस्त बनाउने प्रयास’ हमासले गरिरहेको आरोप लगाएको छ।

मुस्लिमहरूका निम्ति मक्का र मदिनापछि अल-अक्सा तेस्रो ठूलो पवित्रस्थल हो र त्यहाँ स्थानीय मुस्लिम समुदाय प्रार्थना पनि गर्ने गर्छन्।

मुस्लिम र यहुदी दुवैको धार्मिक केन्द्र

तर सोही स्थल यहुदीहरूका निम्ति पनि टेम्पल माउन्टका रूपमा सबभन्दा पवित्रस्थल रहँदै आएको छ र इजरेल प्यास्टाइनबीच तनाव चर्कदा द्वन्द्वको केन्द्रमा परिणत हुने गरेको छ।

रमजान मार्च १० वा मार्च ११ मा चन्द्रमा आकाशमा देखिएसँगै सुरु हुने ठानिएको छ।

यो हप्ता मैलै अल अक्साको भ्रमण गर्दा उक्त क्षेत्र शान्त थियो तर प्यालेस्टिनी तीर्थालुहरूको मनोविज्ञान युद्धले प्रभावित तुल्याएको थियो।

“मानिसहरू नियमित रमजान परम्पराको उत्सव मनाउन र खुसी साट्ने मन गरिरहेका छैनन्,” एक जना महिला आयाटले भनिन्, “गाजमा जे भइरहेको छ त्यसका कारण मानिसहरू त्यस्तो अग्रसर हुने छैनन्।”

युद्धविरामको अपेक्षा तर प्रगति शून्य

रमजानको सुरुवातसँगै ४० दिने युद्धविराम लागु हुने अपेक्षा निराशामा बदलिएको छ।

तर इजिप्टका सुत्रहरूले मध्यस्तकर्ताहरूले आइतवार पनि हमासको प्रतिनिधिमण्डलसँग भेट्ने र इजरेलसँग सहमति कायम गर्ने प्रयास गर्ने जनाएका छन्।

दर्जनौँ बन्धकको मुक्तिको प्रयास गरिरहेको इजरेलले शनिवार उसका गुप्तचर प्रमुखले आफ्ना अमेरिकी समकक्षीसँग भेटेको जनाएको छ।

त्यसपछि इजरेली प्रधानमन्त्री कार्यालयले एउटा विज्ञप्ति निकाल्दै हमास ‘आफ्नो धारणामा अडिग रहेको’ र सो समूह ‘सम्झौता गर्न अनिच्छुक रहेको जस्तो देखिएको’ जनाएको छ।

संयुक्त राष्ट्रसङ्घले भोकमरीको चेतावनी दिइरहँदा अहिले भइरहेको सहमतिको खाकामा हमासले अक्टोबर ७ को घातक हमलामा बन्धक बनाएका केही इजरेलीहरूको सट्टा प्यालेस्टीनी बन्दी फिर्ता गर्नुपर्ने र सहयता वृद्धि गर्नुपर्ने सर्त राखिएको छ।

इजरेली पहरा

“यो रमजान अप्ठेरो हुनेछ। गाजामा रहेका हाम्रा देशका नागरिक जब हामी सम्झन्छौँ, हामीले हाम्रो दैनिक व्रत कसरी तोड्न र खान सक्छौँ?” अबु नादेरले भने।

हिँडडुलमा प्रयोग गर्ने स्कूटरबाट अल अक्सा पार गर्ने क्रममा उनले थपे, “हामी ईश्वरलाई राम्रो समयका लागि प्रार्थना गर्छौँ।”

इजरेली प्रहरी सदैव अल अक्सा मस्जिद परिसरमा छरिएर बसेका हुन्छन्। प्रत्येक गेटमा खटिएका उनीहरूले पहुँच समेत नियन्त्रण गर्छन्।

इजरेलले सन् १९६७ को मध्यपूर्व युद्धका समयमा जोर्डनबाट पुरानो शहरको यो हिस्सासहित पूर्वी जेरुसलेम कब्जा गरेर आफूमा गाभेयता यो बृहत् प्यालेस्टाइन सङ्घर्षको एउटा प्रतीक बनेको छ।

झडपहरू

सन् २००० मा इजरेली विपक्षी नेता एरिएल शारोनले उक्त पवित्र पहाडको टुप्पाको भ्रमण गर्दा त्यसले दोस्रो प्यालेस्टिनी विद्रोह निम्त्याएको थियो। प्यालेस्टिनीहरू उक्त आन्दोलनलाई ‘अल-अक्सा इन्तिफादा’ भन्ने गर्छन्।

मुख्यगरी रमजानको समयमा इजरेली सुरक्षाकर्मी र प्यालेस्टिनी दर्शनार्थीबीच बारम्बार झडपहरू हुने गरेको पाइन्छ।

इजरेली राष्ट्रवादीहरूले सहरको पुरानो भागमा र्‍यालीहरू निकाल्दा जहिल्यै पनि तनावहरू हुने गर्छन्।

लामो समयदेखि अभ्यासमा रहेको र अति संवेदनशील मानिने एउटा परम्परा अन्तर्गत उक्त धार्मिक स्थलमा यहुदीहरूले भ्रमण गर्न पाए पनि प्रार्थना गर्न पाउँदैनन्।

त्यसलाई परिवर्तन गरिनुपर्ने पक्षमा इजरेलको अति दक्षिणपन्थी समूह रहेको पाइन्छ।

सन् २०२१ को मेमा जेरुसलेममा तनाव बढ्दा त्यसले अल-अक्सामा हिंसा निम्त्याएको थियो।

हमासले त्यसपछि जेरुसलेममा रकेट प्रहार गरेको थियो जसले गाजामा छोटो अवधिका लागि युद्ध नै निम्त्यायो।

त्यतिबेला यहुदी र अरब इजरेलीबीच व्यापक तनावसमेत देखिएको थियो।

गत वर्षको विवाद

अघिल्लो वर्ष रमजान र यहुदीहरूको साताव्यापी बिदा पासओभर एकै समय पर्दा यहुदी कट्टरपन्थीहरूले टेम्पल माउन्टमा बख्रालाई बली दिन लागेका खबरहरू प्रकाशमा आएका थिए।

इजरेली प्रहरीले त्यसलाई रोक लगाउने विश्वास नगरेका सैयौँ मुस्लिमहरूले अल अक्सामा जम्मा भएर अवरोध गरे।

उनीहरूमाथि भिड नियन्त्रणमा प्रयोग गरिने स्टन ग्रिनेड प्रहार गरिएका थिए।

यो वर्ष रमजान कुनै प्रमुख यहुदी पर्वसँग जुधेको छैन।

तर रमजानमा के हुन्छ भन्ने कुरा गाजाका घटनाक्रम र इजरेलले लगाउनसक्ने अङ्कुशमा पनि निर्भर हुनेछ।

इजरेली दक्षिणपन्थीको दबाब

अति दक्षिणपन्थी इजरेली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बीन भीअरले अल अक्सामा मुस्लिम इजरेलीको पहुँचमा कडा निषेध लगाइनु पर्ने बताएका छन्।

उनले इजरेली बन्धकहरू गाजामा नियन्त्रणमा रहेसम्म हमासलाई ‘विजय प्राप्त भएकोमा खुसी’ मनाउनबाट रोक्न त्यस्तो गरिएको बताएका थिए।

तर इजरेली प्रधानमन्त्री बेन्जामीन नेतन्याहुले उक्त योजनालाई अस्वीकार गरिदिएका छन्।

उनले विगतमा जस्तै रमजानको पहिलो हप्तामा दर्शनार्थीहरूलाई मस्जिदमा प्रवेश गर्न दिइने बताए।

प्रत्येक हप्ता सुरक्षा अवस्थाको समीक्षा गरिने उनको भनाइ छ।

अहिले उक्त धार्मिक स्थलमा कति सङ्ख्यामा मानिसहरूलाई जान दिइन्छ त्यो प्रस्ट छैन।

गाजा युद्धको समयमा इजरेलले वेस्ट ब्याङ्कमा रहेका प्यालेस्टिनीहरूलाई जेरुसलेम प्रवेश गर्न लगभग रोक लगाएको थियो।

पवित्र महिनाको समयमा शुक्रवार हुने प्रार्थनामा भाग लिन दशौँ हजार मानिसहरू इजरेली जाँचचौकी पार गर्दै उक्त स्थानमा पुग्ने गर्छन्।

प्रर्थनाको स्वतन्त्रता

इजरेली सरकारका प्रवक्ता इलोन लेभीले मानिसहरूको प्रर्थना गर्ने स्वतन्त्रता सुनिश्चित गर्न सही निर्णय लिइने बताए।

उनले भने, “रमजान यस्तो समय हो जुन बेला उग्रवादी तत्वहरूले हिंसालाई बढावा दिने प्रयास बारम्बर गर्छन्। हामी त्यसलाई रोक्न लागिपरहेका छौँ।”

उनले आफूहरूले टेम्पल माउन्टमा विगत वर्षहरूजस्तै प्रार्थनाको पहुँच दिइने भन्दै शन्ति खलल पुर्‍याउन खोज्ने जो कोहीविरूद्ध कदम चाल्ने बताए।

डोम अफ रक भनिने सुनौलो गुम्बज नजिकै मैले इमाम मुस्तफा अबु स्वेसँग कुराकानी गरेँ।

उनी अल अक्सा मस्क वा हरम अल शरिफ परिसर व्यवस्थापन गर्ने इस्लामिक वाफ्क काउन्सीलका सदस्य हुन्।

“केही वर्षअघि इजरेलले वेस्ट ब्याङ्कबाट आएका सबैलाई यहाँ प्रवेश गर्न दिन्थ्यो र यहाँ एउटा पनि कुनै घटना हुँदैनथियो,” उनले भने।

“मानिसहरू प्रार्थना गर्न आउँछन्। उनीहरू शान्ति खलल पार्न आउँदैनन्। दि इजरेली प्रहरी र सुरक्षा फौजले उनीहरूलाई एक्लै छाडिदियो भने आशा गरौँ सबै ठिक हुनेछ।”

यो वर्ष सामान्य समयभन्दा धेरै विश्वले जेरुसलेममा के हुन्छ भन्ने कुरा ध्यान दिएर हेरिरहेको हुनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।