एक शताब्दीपछि दक्षिण कोरियामा फर्किएका परिवारले न्यानो स्वागत पाइरहेका छैनन्

    • Author, सन्वुग ली
    • Role, बीबीसी कोरियन
  • Published
  • पढ्ने समय: ६ मिनेट

“यदि मैले रुसी भाषामा अनुवाद गरिनँ भने अरू साथीहरूले पाठ केही पनि बुझ्दैनन्,” दक्षिण कोरियाको राजधानी सोल नजिकैको आसन सहरमा रहेको तुन्पो इलिमेन्टरी स्कुलकी ११ वर्षीया छात्रा किम यानाले भनिन्।

उनको कक्षामा रहेका २२ जना साथीमा सबैजसोले रूसी भाषा बोल्छन् र उनीहरू कोरियाली भाषा राम्ररी बोल्न सक्दैनन्। कक्षामा सबैभन्दा राम्ररी कोरियाली भाषा बोल्न सक्ने भनेको यानाले नै हो।

यो कक्षामा रहेका करिब ८०% बालबालिकाहरूलाई "बहुसाँस्कृतिक विद्यार्थी" भनिएको छ। त्यसको अर्थ उनीहरू विदेशी नागरिक हुन् वा उनीहरूका एक अभिभावक कोरियाली नागरिक होइनन् भन्ने हो।

“यकिन सङ्ख्या पाउन कठिन छ किनभने आमाबुवाहरूको फरक राष्ट्रियता छ र फरक हैसियतमा उनीहरू दक्षिण कोरियामा बसिरहेका छन्,” शैक्षिक मामिला हेरिरहेका एक वरिष्ठ शिक्षक चु डे-यलले भने।

“तर धेरैजसो बहुसाँस्कृतिक विद्यार्थीहरू कोर्योइन भएको ठानिन्छ।”

'कोर्योइन' त्यस्ता कोरियाली मूलका मानिसलाई भनिन्छ जो १९ औँ शताब्दीको उत्तरार्द्ध वा २० औँ शताब्दीको पूर्वार्द्धमा कोरियाबाट रुसी साम्राज्यको सुदूर पूर्वी क्षेत्रमा बसाइ सरेका थिए।

ती मध्ये धेरै परिवारलाई सन् १९३० को दशकमा स्टालिनको 'सीमा सफाइ' नीति अन्तर्गत मध्य एशियातर्फ निश्कासन गरिएको थियो।

उनीहरू उज्बेकिस्तान र काजाकस्तान जस्ता भूतपूर्व सोभियत राज्यहरूमा बस्न थाले। पुस्ता बित्दै जाँदा उनीहरूले कोरियाली भाषा बोल्न छोडे किनभने बोल्न प्रतिबन्ध लगाइएको थियो।

यानाको परिवार सात वर्षअगाडि दक्षिण कोरिया फर्किएको थियो र अहिले धेरैले त्यसै गर्न थालेका छन्।

“कोरियाली साथीहरूसँग विद्यालयमा मैले स्वाभाविक रूपमा कोरियाली भाषा सिकेँ तर अहिले विद्यालयमा कोरियाली भाषा बोल्न नसक्ने अन्य विद्यार्थी धेरै छन्,” उनले भनिन्।

सन् २०१८ मा तुन्पो इलिमेन्टरी स्कुलमा २६.६% विद्यार्थीहरू बहुसाँस्कृतिक रहेका थिए भने यो वर्ष त्यो प्रतिशत बढेर ७९.३% पुगेको छ।

विदेशी नागरिकता भएका कोरियालीहरूको जनसङ्ख्या दक्षिण कोरियाको अन्य क्षेत्रमा भन्दा आसानमा तीव्र गतिमा वृद्धि भएको छ।

सन् २०१० मा ३०० भन्दा कम मानिसहरू त्यहाँ बस्थे भने सन् २०२३ मा त्यो सङ्ख्या ५२ गुणाले बढेको छ।

सन् २००१ मा संवैधानिक अदालतले "देशवासी" को व्याख्या विस्तार गर्ने ऐतिहासिक फैसलापछि चीन र पूर्व सोभियत राज्यहरूमा बस्ने कोरियालीहरूलाई दक्षिण कोरियाले आफ्नो देशमा बस्न दिन थालेको हो।

तर सन् २०१४ देखि दक्षिण कोरियामा फर्किने कोर्योइनको सङ्ख्या तीव्र रुपमा बढ्न थालेको हो किनभने त्यति बेलाबाट परिवारका सदस्यलाई पनि ल्याउन अनुमति दिइयो।

विगतमा, यस्ता कोरियाली आप्रवासीहरू धेरै चीनबाट आउने गर्थे र उनीहरू कोरियाली भाषा बोल्थे।

तर कोरियाली भाषा नबोल्ने कोर्योइनको सङ्ख्या ह्वात्तै बढेको छ।

गत वर्ष, उनीहरूको जनसङ्ख्या करिब १ लाख पाँच हजार रहेको थियो जुन भनेको एक दशकअघि भन्दा करिब पाँच गुणा बढी हो।

दक्षिण कोरिया जनसाङ्ख्यिक सङ्कटसँग जुधिरहेको छ। सरकारले उदार नगद सहयोग र आवास सहायता प्रदान गर्ने भएपनि दक्षिण कोरियामा विश्वकै कम प्रजनन दर रहेको छ र प्रत्येक वर्ष त्यो घट्दो क्रममा छ।

सन् २०२३ मा जन्मदर ०.७२प्रतिशत थियो। आप्रवासीहरूको आगमन नभएको अवस्थामा स्थिर जनसङ्ख्या रहनका लागि जन्मदर २.१ प्रतिशत हुन आवश्यक पर्छ।

यदि यही प्रवृत्ति देखिए दक्षिण कोरियाको जनसङ्ख्या सन् २१०० सम्ममा आधा हुनसक्ने आकलन गरिएको छ।

दक्षिण कोरियाको रोजगारी तथा श्रम मन्त्रालयका अनुसार अर्को दशकसम्ममा "दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न" खास गरी सेवा उद्योगमा देशलाई ८९४,००० थप कामदार आवश्यक पर्छ।

"विदेशी कोरियाली भिसाको प्रावधान कोरियाली मूलका विदेशी नागरिकलाई सहज पार्न राखिएको भन्ने ठानिएता पनि खासमा त्यसबाट निर्माण कम्पनीका लागि अटुट रूपमा श्रम शक्ति उपलब्ध हुँदै आएको छ,” माइग्रेसन रिसर्च एन्ड ट्रेनिङ सेन्टरका अनुसन्धानकर्ता चोइ सिओरीले भने।

आसानमा थुप्रै कोर्योइनहरू औद्योगिक क्षेत्र नजिकै बस्छन् जहाँ हुन्डाइ मोटर्सका सहायक ठेकेदारले चलाएका उद्योगहरू छन्।

काजाकस्तानबाट बसाइ सरेर आएका नि डेनिस आजकाल कोरियालीहरूलाई त्यस क्षेत्रका उद्योगमा नदेखिने बताउँछन्।

“उनीहरूलाई लाग्छ कि जागिर एकदमै कठिन छ। त्यसैले उनीहरू चाँडै छोड्छन्। मसँग काम गर्ने ८० प्रतिशतभन्दा बढी मानिसहरू कोर्योइन हुन्।”

“कोर्योइन बिना यी उद्योगहरू चल्दैनन्,” मानिसहरूलाई जागिरमा लिने लीले आफ्नो थरबाट मात्रै आफूलाई चिनाउन चाहेको बताए।

कोरियाली मूलका नभएका अन्य आप्रवासी कामदारहरूले छोटो समयका लागि रोजगारी भिसा पाउँछन् जसले उनीहरूलाई चार वर्ष र १० महिना कोरियामा बस्ने अनुमति दिन्छ।

भिसा नवीकरण गर्न उनीहरू आफ्नो देश फर्किनुपर्छ र त्यहाँ कम्तीमा ६ महिना बस्नुपर्छ।

तर कोर्योइनहरूले भने आफू कोरियामा बस्ने अवधि प्रत्येक तीन वर्षमा देश नछोडीकनै थप्न पाउँछन्।

विद्यालय र बाहिर पनि पृथकता

कोर्योइनहरू अन्य औद्योगिक सहरहरू ग्वान्जु र इन्चोनमा पनि बस्छन्। तर आसान र तुन्पो इलिमेन्टरी विद्यालयले अनुभव गरेजस्तै आप्रवासनले चुनौतीहरू निम्त्याउँछ।

“कोरियाली बच्चाहरू कोरियालीसँग मात्रै खेल्छन् र रुसी बालबालिकाहरू रुसीसँग मात्रै खेल्छन् किनभने उनीहरू आपसमा मात्रै संवाद गर्न सक्छन्,” १२ वर्षीय स्थानीय छात्र किम बबीले भने।

याना यसमा सहमत छिन् र फरक भाषा बोल्नेहरू संवाद गर्न नसक्ने हुँदा झगडा पनि गर्ने गरेको उनले बताइन्।

भाषाको बाधाबाट पार पाउने प्रयास स्वरूप तुन्पो इलिमेन्टरी स्कुलले प्रत्येक दिन विदेशी विद्यार्थीका लागि दुई घण्टा कोरियाली कक्षा सञ्चालन गर्छ। तर त्यहीँ पनि शिक्षिका किम युन-जु चिन्तित छिन्।

“कक्षा बढ्दै जाँदा उनीहरूलाई पाठ बुझ्न गाह्रै हुन्छ भन्ने मलाई लाग्छ,” उनले भनिन्।

अन्य कक्षाहरू कोरियाली भाषामा पढाइने भएकोले "समय छिट्टै बित्ने" उनले बताइन्। किनभने धेरै विद्यार्थीलाई त्यो पाठ व्याख्या गर्नुपर्ने हुन्छ।

दक्षिण कोरियामा शैक्षिक प्रतिस्पर्धा एकदमै व्याप्त छ र विद्यालयहरूले स्थानीय विद्यार्थीहरू गुमाइरहेका छन्। आमाबुवाहरू बालबालिकाको शिक्षा प्रभावित भएको प्रति चिन्तित छन्।

“मेरो छोरीलाई यो विद्यालयमा सारेपछि म थोरै चिन्तित थिएँ,” पार्क हानाले भनिन्। उनी पनि आसानमा बस्छिन्। उनले आफ्नी ८ वर्षकी छोरीलाई गत वर्ष तुन्पोमा भर्ना गरेकी थिइन्।

“नजिककै विद्यालयमा धेरै विद्यार्थी भए पनि स्थानीय अभिभावकहरू आफ्ना सन्तान त्यहीँ पठाउन चाहन्छन्।”

सहायक प्रधानाध्यापक किम गुन्तेइले करिब ८० प्रतिशत विद्यार्थी बहुसाँस्कृतिक भनी व्याख्या गरिएको ठाउँमा विद्यालय सञ्चालन गर्ने कुरा कठिन भएको बताए। उक्त विद्यालयमा विगतमा त्यस्ता विद्यार्थी कम थिए।

उनका अनुसार धेरै परिवारमा एक जनामात्रै भए पनि कोरियाली अभिभावक भएका कारण कक्षामा भन्दा बाहिर सिक्न सजिलो हुन्छ।

सन् २०२१ मा गरिएको एउटा आधिकारिक राष्ट्रिय सर्वेक्षणका अनुसार उच्च शिक्षामा यस्ता बहुसाँस्कृतिक विद्यार्थी भर्ना हुने दर थोरै कम छ।

माइग्रेसन रिसर्च एन्ड ट्रेनिङ सेन्टरका अनुसन्धानकर्ता पार्क मिन-जङ यस्तो अवस्थामा यदि आवश्यक सहायता नपाए थप कोर्योइन विद्यार्थीहरूले विद्यालय शिक्षा नै छोड्ने चिन्ता व्यक्त गरेका छन्।

“यदि यस्तै भैरहने हो भने, मलाई चिन्ता लागेको छ कि यस्तो अवस्थामा कसरी विद्यार्थीहरू भविष्यमा कोरियामा बाँच्न सक्लान्,” वरिष्ठ शिक्षक चुले भने।

यस्तो पृथकता विद्यालयबाहिर पनि छ। धेरै कोर्योइनहरू पुरानो नगरमा बसिरहेका छन् जबकि स्थानीयबासीहरू नयाँ सहरहरूमा सरिरहेका छन्।

उद्योगमा काम गर्ने नि सन् २०१८ मा आफ्नी पत्नी र पाँच सन्तानसहित काजाकस्तानबाट आएका थिए। उनका थुप्रै छिमेकी उनीहरू बसिरहेको भवनबाट सरेको आफूले याद गरेको उनले बताएका छन्।

“कोरियालीहरूले आफ्ना छिमेकीका रूपमा कोर्योइनलाई मन नपराउने देखिएको छ,” अनौठो शैलीमा हाँस्दै उनले भने।

“कहिलेकाहीँ कोरियालीहरू हामीलाई सोध्छन् किन हामी हाँस्दैनौँ भनेर। हामी यस्तै छौँ, हामी रिसाएर नहाँसेका होइनौँ। तर हामीलाई नचिन्ने मानिसहरू हामी रिसाएको ठान्छन्।”

उनका अनुसार उनको छिमेकमा बालबालिका बीच विवाद हुने गरेको छ र विवादका बेला कोर्योइन बालबालिकाहरू "कडा" भएर प्रस्तुत हुने गरेको उनले सुनेका छन्।

“त्यसपछि कोरियाली अभिभावकहरूले आफ्ना बच्चालाई कोर्योइनका बच्चासँग नखेल्न भनेका छन्। मलाई लाग्छ यसै गरी नै विभाजन बढ्दै जाने गरेको छ।”

गत वर्षसम्मको तथ्याङ्क अनुसार चीन र रुसी भाषा बोल्ने देशहरूबाट आएका करिब ७६०,००० कोरियाली मूलका मानिसहरू दक्षिण कोरियामा बस्थे, जुन कोरियामा बस्ने विदेशीहरूको जनसङ्ख्याको करिब ३० प्रतिशत हो।

दक्षिण कोरिया विदेशी कामदारका लागि लोकप्रिय गन्तव्य हो र यहाँ नेपाल, क्याम्बोडिया र भियतनामजस्ता देशहरूबाट आप्रवासी कामदारहरू आउँछन्। सन् २०२३ मा २५ लाख हाराहारी विदेशीहरू दक्षिण कोरियामा बस्ने गरेका थिए।

तीमध्ये धेरैजसो शारीरिक श्रम गर्नुपर्ने काममा संलग्न छन् भने जम्मा १३ प्रतिशत मात्रै व्यावसायिक भूमिकामा छन्।

लीका अनुसार विद्यमान आप्रवासन नीति "धेरै हदसम्म कम सीप भएका कामदारतर्फ ढल्किएको छ" जसका कारण दक्षिण कोरियामा विदेशीहरू काम गर्न मात्रै बसेका हुन् र पछि छोड्छन् भन्ने साझा धारणा रहेको छ।

परिणामस्वरुप, सबै आप्रवासीको दीर्घकालीन व्यवस्थापनका लागि कुनै बहसहरू भएका छैनन्।

“म आशा गर्छु कि हामीले महसुस गरिरहेको जनसङ्ख्या सङ्कटको यो सङ्केतले आप्रवासीहरूलाई हेर्ने हाम्रो धारणा फरक तुल्याउनेछ,” अनुसन्धानकर्ता चोईले भने।

“तिनीहरूलाई समायोजन कसरी गर्ने भन्ने बारेमा सोच्ने बेला आएको छ।”

केही चुनौतीहरूको अनुभव गरे पनि निले दक्षिण कोरिया फर्किने आफ्नो निर्णयमा पछुतो मानेका छैनन्।

“मेरा सन्तानका लागि यो घर हो। जब हामी काजाकस्तान गएका थियौँ, उनीहरूले सोधे: ‘हामी किन यहाँ आएको? हामी कोरिया फर्किन चाहन्छौँ।’”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।