तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रकेटः दक्षिण कोरियाले बनाएको पहिलो अन्तरिक्ष रकेटको परीक्षण
अन्तरिक्षमा आफ्नो महत्त्वाकाङ्क्षालाई एक कदम अघि बढाउँदै दक्षिण कोरियाले देशमै निर्मित पहिलो रकेट परीक्षण गरेको छ।
नुरी भनिने "कोरियन स्याटलाइट लन्च भीइकल टु" राजधानी सउल भन्दा ५०० किमी दक्षिणको गोहुङबाट प्रक्षेपण गरिएको थियो।
राष्ट्रपति मून जे-इनले रकेटले उडान सम्पन्न गरे पनि कक्षमा नमुना भूउपग्रह राख्ने उद्देश्य पूरा नगरेको बताएका छन्।
यस्ता प्रक्षेपणहरू अन्तरिक्ष कार्यक्रमका लागि अपरिहार्य भए पनि सैन्य प्रयोगहरू समेत हुनसक्ने बताइन्छ।
सैन्य प्रतिस्पर्धामा रहेका छिमेकीहरू दक्षिण र उत्तर कोरिया दुवैले हालै नयाँ अस्त्रहरूको परीक्षण गरिरहेका छन्।
उत्तर कोरियाले सन् २०१२ मै पृथ्वीको कक्षमा भू उपग्रह छोडेको थियो।
स्वदेशी रकेट नुरीको निर्माणका लागि दक्षिण कोरियाले एक अर्ब ६० करोड डलर बढी खर्च गरेको थियो।
तरल इन्धनबाट सञ्चालन हुने सो रकेटको तौल २०० टन र लम्बाई ४७.२ मिटर भएको बताइएको छ।
राष्ट्रपति मुनले रकेटले लक्ष्य प्राप्ति नगरेको स्वीकार गर्दै ठ्याक्कै लक्ष्य भेट्ने गरी फेरि प्रक्षेपण गर्ने बताएको समाचार संस्था रोएटर्सले जनाएको छ।
दक्षिण कोरियाले रकेटको विश्वसनीयता बढाउन सन् २०२७ भित्र थप चार नुरी रकेटहरूको प्रक्षेपण गर्ने योजना बनाएको कोरियन एरोस्पेश रिसर्च इन्स्टिच्युटले जनाएको छ।
प्रविधि क्षेत्रको शक्तिकेन्द्र मानिने दक्षिण कोरिया अन्तरिक्ष अन्वेषणको विकासमा अरू देशहरू भन्दा पछि रहेको छ।
यसअघि सन् २००९ र २०१० मा रकेट परीक्षण गर्ने उसको प्रयास असफल भएको थियो। दोस्रो रकेट प्रक्षेपणको केही समयमै विस्फोट भएको थियो।
दक्षिण कोरियाले सन् २०३० भित्र चन्द्रमामा यान पठाउने लक्ष्य राखेको छ।
हतियारको प्रतिस्पर्धा
दक्षिण कोरियाले नुरीको प्रयोग भूउपग्रहको प्रक्षेपणका लागि गरिने बताउने गरे पनि यसको परीक्षणलाई उक्त देशको अस्त्र विकासकै एक कदमको रूपमा हेरिएको छ।
बलिस्टिक क्षेप्यास्त्र र अन्तरिक्ष रकेटहरूले समान किसिमका प्रविधिको प्रयोग गर्ने गरेका छन्।
दक्षिण कोरियाले हालै मात्रै पनडुब्बीबाट प्रक्षेपण गरिने क्षेप्यास्त्र परीक्षण गरेको थियो।
दक्षिण कोरियाले यसै साता अहिलेसम्मकै सबैभन्दा ठुलो प्रतिरक्षा प्रदर्शनी गर्न लागेको दाबी गरेको छ।
जसमा नयाँ लडाकु विमान र क्षेप्यास्त्र जस्ता दूर निर्देशनबाट सञ्चालन हुने अस्त्र सार्वजनिक गरिने बताइएको छ।
उत्तर कोरियाले पनि लगातार अस्त्रहरूको परीक्षण गरिरहेको छ। पछिल्लो साताहरूमा उसले हाइपरसोनिक र लामो दुरीको लक्ष्य भेदन गर्ने भनिएका अस्त्रहरू परीक्षण गरेको थियो।
यसै साताको सुरुमा उसले पनडुब्बीबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र जापानको समुद्रमा परीक्षण गरेको थियो।
संयुक्त राष्ट्रसङ्घले बलिस्टिक र पारणविक अस्त्रहरूको परीक्षणमा प्रतिबन्ध लगाएको छ। तर पोङयाङ्ले गर्ने यस्ता कतिपय परीक्षणहरूले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू उल्लङ्घन हुने गरेका बताइन्छ।
उत्तर कोरियाले पनि यसअघि प्रतिरक्षा प्रदर्शनी गरेको थियो। जसमा ट्याङ्क र क्षेप्यास्त्रहरू देखाइएका थिए।
एसियाका चीन, जापान र भारतले उन्नत अन्तरिक्ष कार्यक्रम सञ्चालन गरिरहेका छन्। पछिल्लो समय इलोन मस्कको स्पेस एक्स र जेफ बेजोसको ब्लु ओरिजिन जस्ता निजी कम्पनीहरू पनि रकेट प्रक्षेपणमा संलग्न छन्।