भेटी व्यवस्थापनमा नमुना पोखराको विन्दवासिनी मन्दिर

    • Author, नारायण कार्की
    • Role, बीबीसी नेपाली सेवा
  • Published

पोखरामा एउटा सानो थुम्कोमा रहेको विन्दवासिनी मन्दिर क्षेत्रको करिब २७ रोपनी जग्गामा प्रवेश गर्नासाथ त्यहाँको व्यवस्थापकीय कुशलता देख्न सकिन्छ।

मन्दिर परिसरलाई पूर्ण रूपमा सौन्दर्यकरण गर्ने अभियानमा लागेको बताउने विन्दवासिनी धार्मिक क्षेत्र विकास समिति त्यसका लागि भेटी व्यवस्थापनलाई आधार बनाएको बताउँछ।

धार्मिक स्थानमा सङ्कलन हुने त्यस्तो रकमको उपयोग मन्दिर व्यवस्थापनका अतिरिक्त सामाजिक काममा गर्ने गरिएको समितिका पदाधिकारीहरू बताउँछन्।

समितिका सचिव तीर्थ श्रेष्ठले रूखबिरुवा, पानीका फोहराबाहेक मन्दिरका संरचनालाई अपाङ्गमैत्री बनाइएको बताउँछन्।

"विन्दवासिनी वाटिकालाई पूर्ण रूपमा अपाङ्गमैत्री बनाएका छौँ। त्यसको कुनै पनि कुनामा ह्विलचेयर जानसक्ने अवस्था छ।"

मन्दिरमा केही ह्विलचेयर, अपाङ्गमैत्री शौचालय र लिफ्ट समेतको व्यवस्था गरिएको छ।

'पारदर्शी आम्दानी'

गत साउनदेखि मन्दिरको भेटी व्यवस्थापन गरेको समितिले एक वर्षमा चार करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ।

भेटी समितिमा आउनुअघि एक करोड रुपैयाँको हाराहारीमा आम्दानी भएको थियो।

मन्दिर क्षेत्र आसपास बसोवास गर्ने सुशिला पराजुली भन्छिन्, "यहाँ निकै द्रुत गतिमा राम्रो काम भयो। यहाँ आउँदा सबैलाई खुशी महसुस हुन्छ।"

समितिको कोषलाई पारदर्शी राख्नका लागि सङ्कलन हुने रकम उनीहरूले दैनिक दुई-तीन बजेतिर गन्छन्।

र, त्यो रकम भोलिपल्टको डिजिटल डिस्प्लेमा शीर्षकसहित उल्लेख हुन्छ।

जनहितमा प्रयोग

भेटीका रूपमा सङ्कलित रकम जनहितका काममा लगाउनुपर्छ भन्ने मन्दिरको प्राथमिकतामा रहेको समितिले बताएको छ।

उनीहरूले २०५१ सालमा गुरुकुल विद्याश्रम शुरू गरे।

त्यसपछि पोखरामै पहिलो पटक ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना भयो।

ज्येष्ठ नागरिकहरू केन्द्रमा दिनभरिजसो जुटेर भजनकीर्तन, प्रवचन, ख्यालठट्टा गरेर बिताउँछन्।

त्यहाँ उनीहरूलाई नि:शुल्क खाजासहित समयसमयमा स्वास्थ्यजाँच र घुमघामको व्यवस्था समेत गराइन्छ।

"एम्बुलेन्स चलाएका छौँ जसले अरूको भन्दा केही कम पैसा लिने गरेको छ," कोषाध्यक्ष सूर्यप्रसाद सुवेदी भन्छन्।

"समितिले गुठीको जग्गामा तीन तहकै सरकारको सहयोगमा गुरुकुल विद्याश्रम र प्राकृतिक चिकित्सालय निर्माण गर्दैछ।"

आफ्नो प्रयासले नेपालको धार्मिक पर्यटनमा समेत योगदान दिएको उनीहरूको भनाइ छ।