http://www.nepali.com

11 नोभेम्बर, 2009 14:52 GMT सम्मका समाचारहरु

मन्त्री विरुद्ध सरकारी कर्मचारीहरु आन्दोलित

एकजना मन्त्रीले कर्मचारीमाथि गरेको दुर्व्यवहारको विरोधमा कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि नेपालको दक्षिणी जिल्ला पर्सामा सरकारी कामकाज ठप्प भएको छ।

कृषि राज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई हिजो थप्पड हानेपछि कर्मचारीहरु आन्दोलित भएका हुन्।

आफ्नो गृह जिल्ला पर्सा जाने क्रममा काठमाण्डूबाट सिमरा विमानस्थल पुग्दा आफुलाई लिन थोत्रो गाडी पठाइदिएको भनी राज्यमन्त्री वेगमले प्रमुख जिल्ला अधिकारी भण्डारीलाई कार्यालयमै पुगी थप्पड हानेकी थिइन्।

अनिश्चितकालीन

काठमाण्डूमा रहेका मन्त्रालयहरु लगायत अरु धेरै जिल्लाका सरकारी कार्यालयमा कर्मचारीहरुले बुधबार आंशिक रुपमा काम ठप्प पारेका थिए।

तर पर्साका कार्यालयहरुमा भने अनिश्चितकालीन रुपमा काम ठप्प पार्ने निर्णय गरिएको छ।

दोषी मन्त्री माथि कारवाही र पीडितलाई क्षतिपुर्ति नदिइएसम्म काममा नफर्किने आन्दोलनकारी कर्मचारीहरुले बताएका छन्।

मन्त्रीले गरेको हातपातले गर्दा कर्मचारीहरुले आफुहरु असुरक्षित महसूस गरेको बताएका छन्।

सरकारी कामकाज अवरुद्ध हुँदा व्यवसायी लगायत सर्वसाधारणहरु नराम्ररी प्रभावित भएका छन्।

पर्साको सदरमुकाम वीरगंज नेपालको एउटा मुख्य व्यापारिक केन्द्र हो।

उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष ओमप्रकाश सिकारिया भन्छन्, “बन्दले वीरगंजको आर्थिक जीवनमा ठूलो असर परेको छ।"

तर नेपाल निजामति कर्मचारी युनियन पर्साका अध्यक्ष सच्चिदानन्द सिंह भन्छन्, “दोषीमाथि कारवाही नभएसम्म सरकारी कार्यालयमात्र होइन बैंकहरु समेत अनिश्चितकालका लागि बन्द रहनेछन्।“

राज्मन्त्री बेगमले प्रमुख जिल्ला अधिकारीले आफुलाई मर्यादापूर्वक व्यवहार नगरेको आरोप लगाउँदै थप्पड हानेको स्वीकार गरेकी छिन्।

मन्त्री र राजनीतिक नेताहरुले कर्मचारीहरुमाथि बिभिन्न आरोपमा हातपात गरेका घटनाहरु पहिले पनि भएका थिए।

अस्पष्ट

कर्मचारीहरु निर्वाचित जनप्रतिनिधिहरु प्रति गैह्-जिम्मेवार भएको भन्ने उनीहरुको आक्रोश छ।

तर कर्मचारीहरु नेता र मन्त्रीहरुले अनावश्यक कामका लागि दवाब दिने र त्यस्तो दवाब नमान्दा आफुमाथि हातपात हुने गरेका बताउँछन्।

विश्लेषकहरु भन्छन्, यस्ता घटनाहरु दोहोरिनुमा जनप्रतिनिधि र प्रशासकहरु दुबैका कमी कमजोरी हुने गरेपनि दुवैको अधिकार क्षेत्र स्पष्ट नहुँदा पनि यस्तो स्थिति उत्पन्न हुने गरेको छ।