15 जुन, 2007 17:46 GMT सम्मका समाचारहरु
नेपाल भ्रमणमा रहेका पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई माओवादी नेताहरुले नेकपा माओवादीलाई संयुक्त राज्य अमेरीकाको आतंककारीको सूचिबाट हटाउन आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।
शुक्रवार कडा सुरक्षाबीच माओवादी नेताद्वय प्रचण्ड तथा बाबुराम भट्टराईले कार्टरलाई एउटा होटेलमा भेटेका थिए।
कार्टरलाई भेटेर खुसि हुँदै बाहिरिएका प्रचण्डले संवाददाताहरुलाइ भने, "अमेरीकाको पूर्व राष्ट्रपति जस्तो मान्छेसंग त्यति राम्रो र सौहाद्रपूर्ण वातावरणमा कुराकानी भयो, हामीलाई एकदमै खुशी लागेको छ।"
अनुरोध
प्रचण्डले नयाँ ढंगले अगाडि बढ्न चाहेकोले अमेरिकासंगको संम्बन्ध सुधार्न आफूहरु हरेक तहमा कुरा गर्न तयार रहेको बताए।
अमेरिकी सरकारको आतंककारीको सूचिबाट आफ्नो नाम हटाउन पहल गरिदिन कार्टरलाई अनुरोध गरेको पनि प्रचण्डले उल्लेख गरे।
झण्डै एक घण्टालामो छलफलपछि उनीसंगै बाहिर निस्किएका भट्टराईले भने, "कार्टरले आफ्नो भ्रमणको बारेमा एउटा प्रतिवेदन अमेरिकी सरकारलाई पनि बुझाउँदै छन् र त्यसैमा हाम्रो कुरा पनि राखिदिने बताएका छन्।"
भेटका क्रममा विवादस्पद माओवादी युवा संगठन वाइसीएल अर्थात योङ कम्युनिष्ट लिगका गतिविधिदेखि भुटानी शरणार्थी समस्यासम्मका विषयमा विचार आदानप्रदान भएको नेताहरुले बताए।
आफुले नेतृत्व गरेको कार्टर सेन्टरको क्रियाकलापको अनुगमन गर्न आइपुगेका कार्टरले राजनीतिक दलका नेतादेखि नागरिक समाज, दलित, महिला र जनजाति प्रतिनिधिहरुलाई भेट्दै छन्।
चार दिन लामो भ्रमण सकेर उनको शनिवार फर्कने कार्यक्रम रहेको छ।